मेची किनार जेठ २९

मेची किनार जेठ २९

आर्थिक वर्ष २०७१/७२ सम्म झापाको बाहुनडाँगी क्षेत्र जंगली हात्तीबाट नेपालकै सर्वाधिक प्रभावित क्षेत्र थियो। त्यस उप्रान्त मेचीकिनारमा विद्युतीय तारबार गरिएकाले स्थिति हाल बदलिएको छ। बाहुनडाँगी क्षेत्रमा फसल राम्रो हुनाले त्यसताक मेची पारिबाट ग्वारग्वार्ती हात्ती आउँथे। मुख्यतया मकै र धानको मौसममा हात्तीको ठूलो समूहले अन्नबाली खाई, कुल्चिई सोत्तर पारेर मिर्मिरेमै बासस्थान फर्किन्थे।

जिल्ला वन कार्यालय झापाको तथ्यांकअनुसार, आर्थिक वर्ष २०७०/७१ देखि २०७१/७२ सम्म दुई वर्षको अवधिमा हात्तीबाट अन्नबालीबाहेक ८६ घरगोठ क्षति, तीन सख्त घाइते र चार जना व्यक्तिको मृत्यु भएको देखिन्छ। सो अवधिमा जिल्ला वन कार्यालयले हात्ती प्रभावित घरधुरीलाई करिब ४६ लाख रुपैयाँ राहतस्वरूप वितरण गरेको थियो। त्यसो त केही हात्ती पनि मृत भेटिएका थिए, क्षति दुवैतिर छ। झापाकै पाँचपोखरी, नवज्योति, तेलपानी सामुदायिक वन र जलथललाई बासस्थान बनाएका रैथाने हात्तीबाट पनि कृषकले सास्ती खेपेका छन्

। मानवीय क्षति यी रैथाने हात्तीले बढी गर्दा रहेछन्। सिमानापारिको हात्तीको क्षति भने बालीनालीमै सीमित देखिन्छ। स्थानीय शंकर लुइँटेलका अनुसार २०७२/७३ मा विद्युतीय तारबारपछि बाहुनडाँगीका कृषकले करिब ९० प्रतिशत धान र मकै भित्र्याउन पाउँदा दंग छन्।

तर २०७२ मा झापा जाँदा स्थिति तनावपूर्ण थियो। त्यसबेला तारबार लगाइएको थिएन। हात्तीको समूह पनि सानो होइन। एक सय २५ देखि एक सय ३० सम्मकोे नेपाल पसिरहन्थे। त्यति ठूलो जत्था कस्तो देखिएला, खुल्दुली थियो। तत्कालीन जिल्ला वन अधिकृत इन्द्रमणि भण्डारीले ‘शेरचनजी तपाईं जाने भए म व्यवस्था मिलाइदिन्छु’ भनेपछि मनको कुरो पूरा हुने देखियो। स्थानीयवासीको मागअनुसार जिल्ला वन कार्यालयले सशस्त्रसँग समन्वय गरी गस्ती खटाउने गथ्र्यो। गस्तीको मुख्य उद्देश्य मेची पारिबाट आउने हात्तीलाई बाहुनडाँगी प्रवेश गर्न रोक्नु थियो।

पिकअप चढी काँकडभित्ता बसपार्क छेउ हुँदै उत्तर दिशा हान्नियौं। रोमाञ्चक र भयबीच मेचीकिनार पुग्दा सूर्य आकाशबाट ओर्लंदै थियो। त्यस्तै पाँच, साढे पाँच हुँदो हो। सशस्त्रका चार जवान, स्थानीय बासिन्दा शंकर लुइँटेल र मनोज थापा अनि अनुसन्धान सहायक सञ्जीव गुप्ता र म। केही स्थानीय युवा बाइक लिएर मेचीकिनार पुगिसकेका रहेछन्। मेची नदी फराकिलो बगर च्यापेर दौडेको छ। पारि पश्चिम बंगालमा असंख्य झुपडबस्ती र केही पक्का घर देखिन्छ। धेरै भाग हरियो। त्यो चियाबारी रहेछ।

पिकअपको टाउकोमा शक्तिशाली फोकस लाइट जडान गरिएको थियो। फलामे डन्डी हालेर पिकअपलाई सुरक्षित पारिएको थियो। हतियारमा बन्दुक, फोकस लाइट, पटाका र हर्न। हात्तीलाई तर्साउन पटाका पड्काउँदा रहेछन्, फलामे ट्युबमा राखेर। ‘त्यो ट्युबले कसरी काम गर्छ? ’ मैले लुइँटेललाई सोधे। ट्युबको मुखमा पटाका राखेर सुतलीमा आगो लगाएपछि ठूलो ध्वनि निकालेर पटाका पड्किँदो रहेछ। ध्येय एउटै। ध्वनिलाई चारैतिर छरिन नदिने। प्रविधि सामान्य रहेछ। सशस्त्र जवानहरूसँग परिचय, कुराकानी गरी समय कटायौं। गोधूलि साँझमा सिरसिरे बतास चलेको थियो। इलाम छेकेर उत्तरदिशामा चुरे पर्वत उभिएको थियो। दक्षिणमा मेचीपुल धमिलो रेखाभन्दा बढी थिएन। बगर र पुलमाथि हिँडिरहेका मानिसहरू मसिना थोप्लाजस्ता देखिन्थे। क्रमशः मेचीकिनार अँध्यारोको गर्तमा पुरिँदै गयो तर चुक नै घोप्टिसकेको थिएन।

। युवा क्लबमा वर्षौंदेखि सक्रिय लुइँटेल र थापा स्थानीय थिए। उनीहरू कृषक हुन् तर क्षति कम गर्न सके दुवै पक्षलाई फाइदा छ भनी लागिपरेका थिए। अनुसन्धानकै क्रममा मित्र भयौं। हात्तीको आनीबानी, बालीचक्र र सामुदायिक वनको बारेमा धेरै जानकारी लिइयो। मैले सोधे, ‘कुनबेला आउँछ त हन्जा? ’ त्यस भेगमा प्रचलित त्यो शब्दसँग म अभ्यस्त भइसकेको थिएँ। हात्तीको जत्थालाई त्यहाँ ‘हन्जा’ भन्दा रहेछन्। लुइँटेलले जवाफ फर्काए, ‘अब आउँछ। मेचीपारि लाम लागेको देखिहालिन्छ।’

गस्तीमा यसरी आउनु जोखिमपूर्ण त छैन? मनमा हल्का भय सञ्चार भयो। प्रश्न उठ्यो, सय, डेढ सयको हन्जाले आक्रमण त गर्दैन? सशस्त्र जवानहरू देखेपछि भय थोरै पछि हट्यो तर अदृश्य भएन। बतास चलिरहेकै थियो। अनुहारमा शीतलताको बढी अनुभव भइरहेकोथ्यो। त्यस्तैमा लुइँटेलले मलाई सोध्यो ‘तपाईंले एक खाले गन्ध थाहा पाउनुभयो? ’ ध्यान लगाएर सुघेँ। गन्ध अनुभव भयो। ‘हन्जाबाट आएको गन्ध हो यो,’ लुइँटेलले थप्यो। छाती ढक्क फुल्यो।

स्थानीय युवाहरू बाइकमा हेडलाइट बालेर चर्को हर्न बजाउँदै हात्तीको नजिक गई तर्साउँदै ‘युटर्न’ गरेर फर्कन्थे। हात्तीहरू बाइकको त्रासबाट थोरै तितरबितर हुन्थे तर केहीबेरमै फेरि एकत्रित भइसक्थे।

उज्यालोको अन्तिम छाया खस्नुअगावै हात्ती आउँदै गरेको देखियो। हात्तीको धमिलो आकृतिहरू बगर किनारमा रोकियो। क्रमशः आकृतिहरू थपिँदै गए। अनुमानमा दूरी हुँदो हो सय, डेढ सय मिटर। हात्तीका आकृति ढिस्काका आउटलाइनजस्ता देखिन्थे। संख्या गन्न सकिने कुरै भएन। तर अगाडिको हात्ती बडेमानको थियो। चालकले फोकस लाइट बाल्यो। आकृति थप स्पष्ट देखियो तर अझै छर्लंग देखिएन। जे होस्, हन्जा लोकेट भएको थियो।

लस्करको अगुवाइ पाको पोथी हात्तीले गरेकी थिई। पश्चिम बंगालमा अधिकांश भाग चिया बगान भएकाले हात्तीलाई आहार पुग्दैन। गस्ती टोली देखेपछि रोकिएर हात्तीहरू अब के गर्ने सोचिरहेका होलान्। हात्ती बुद्धिमानी प्राणी भएकोले त्यो सम्भव थियो। समूहका केही छावाहरू एकापसमा सुँड जुधाएर खेलिरहेका थिए। सुँड जुधाएर माथि उठाउँदै प्रवेशद्वारजस्तो बनाउथ्यो। समवयी छावालाई धकेल्थ्यो, नसक्ने दगुथ्र्यो र हुलमा हराउथ्यो। फेरि दगुर्दै फुत्त देखापथ्र्यो र खेला देखाउथ्यो। पाका हात्तीहरू भने हामीतिरै आमुख भई उभिएका थिए।

एकछिन थोरै हिँडडुल गर्थे। सायद ‘पर्ख र हेर’ रणनीतिमा थिए। छावा भने मस्त खेलिरहेको थिए। खेल्ने समय त्यो थिएन। तर, छावाहरूलाई थाहा भए पो। आहारा खोज्ने जिम्मेवारी लिएको भए थाहा पाउथ्यो। छावालाई के थाहा, वारि हामी मानिस बन्दुक, पटाका र गाडी लिएर प्रवेश रोक्न तम्तयार तयार छौं। निष्फिक्री खेलिरहेका छावाहरू देखेर मायै लाग्यो।

हामीलाई गौडामै डेग नचली बसेको देखेपछि हन्जा अगाडि बढ्यो। अलर्ट पोजिसनमा रहेको टोलीले सक्रियता देखायो। हवाई फायर ग¥यो। लुइँटेलले ट्युबमा पटाका पड्काए। फायर र पटाकाको घनघोर आवाज वातावरणको मौनतालाई बिथोल्दै मेची बगरभरि फैलियो र अँध्यारोमा कतै विलुप्त भयो। यो सबै यति चाँडो भयो कि, म हतप्रत भए। समरभूमिमा यस्तै हुदो हो। बारुदको तीव्र गन्ध आइरहेको थियो। डर पनि लाग्यो।

केही राउन्ड हवाई फायर भएपछि हन्जा फेरि रोकियो। स्थानीय युवाहरू भने बाइकमा हेडलाइट बालेर चर्को हर्न बजाउदै हात्तीको नजिक गई तर्साउँदै ‘युटर्न’ गरेर फर्कन्थे। नजिकै भने पनि ३०, ४० मिटर दूरी होला कि? हात्तीहरू बाइकको त्रासबाट थोरै तितरबितर हुन्थे तर केहीबेरमै फेरि एकत्रित भइसक्थे। छावाहरू भने डराएर माउहरूको बीचमा कतै लुके।

केही घन्टा अवरोध खडा गर्ने, तर्साउने, भगाउने र थकाउने रणनीतिपछि हात्तीहरूले ससाना समूह बनाए। एउटा सानो समूह मेची माथितिर लाग्यो, अर्को दक्षिणतिर। लुइँटेलले भनेको सम्झे, ‘हात्ती मिर्मिरेमै बासस्थान फर्कने भएकाले उपाय नलागे साना समूहमा विभाजित भएरै पनि अलगअलग गौडाबाट खेतमा प्रवेश गर्न अन्तिम प्रयास गर्छ।’ प्रकृतिले सबै जीवलाई आफू भोकै नपर्न र आफ्ना बच्चालाई भोकै नराख्न अनेकौं उपाय सिकाएको छ।

हात्तीका धेरै समूह भएपछि टोलीलाई छलफलबाट निर्णय गर्ने अवस्था आइलाग्यो। कुन समूहलाई टार्गेट गर्ने? यस्तैमा रहेछ, स्थानीय युवाहरू चाहिने। टोली सल्लाह गर्छ। र, पटाका पट्काउँदै, हर्न बजाउँदै माथितिर उक्लेको जत्थालाई रोक्छ। हात्ती रोकिएपछि, गाडी फर्काउँदै दक्षिणतिर लम्केको जत्थालाई खोज्न कुद्छ। गेग्र्यान र बोल्डरको कच्ची बाटोमा पिकअप नराम्ररी नै हल्लिन्छ। रोमाञ्च र भयले निथु्रक्क भिजेर म एकएक अनुभव गरिरहन्छु।

गस्ती कार्य गेमथ्योरीजस्तो जटिल लाग्यो, हन्जाको मुभ अनुसार चल्नुपर्ने। एउटा साधारण वाहन र गस्ती टोलीले अन्धकारमा हात्तीका ससाना समूहलाई रोक्न कठिन रहेछ। आधुनिक गाडी र गस्तीको आकार ठूलो हुन्थ्यो भने प्रभावकारिता बढ्थ्यो। तर मेरो मूल्यांकनमा मौजुदा स्थितिमा हात्तीको प्रवेशलाई डिले गराउने र त्यस अर्थमा केही हदसम्म क्षति घटाउने मात्र गस्तीको उपलब्धि थियो। यस्तै क्रममा रातको एक, दुई बज्न थालेपछि टोली थकित भयो। लुइँटेलका अनुसार मेची पुलको दिशा दक्षिणबाट सानो समूह प्रवेश गरेको हुनुपर्छ।

‘अब एक राउन्ड लगाऔं र फर्कौ,’ गस्ती प्रमुखले भने। गाडी केही बेर के गुडेको थियो, बेस्मारीको हुन्डरी चल्यो। सिमसिम पानीसँग चट्याङ पर्न थाल्यो। बतासले हुँ हुँ ध्वनि निकाल्न थाल्यो। होचो सतह कतै भेटे रोकौं, मैले जोड गरे। अनावश्यक रिस्क लिन हुन्न भनेर सम्झाएपछि, बगरको अलिक खाल्डोजस्तो भागमा गाडी रोकियो। बालुवा र साना ढुंगाका कणहरू उडाएर आँखा खोल्नै नहुने। गाडी नै हल्लियो। बतासको भन्दा पनि चट्याङको डर लाग्यो। त्यति भयानक हावाहुरी मैले जीवनमा यसअघि कहिल्यै अनुभव गरेको थिइनँ।

आधा घन्टा, ४५ मिनेटपछि हावाहुरी मत्थर हुँदै गयो। २०७२ जेठ २९ को अन्तिम राउन्ड गस्ती सकियो। हन्जाको नामनिसान देखिएन। १८ किमिभन्दा बढी लम्बाइमा फैलिएको किनारमा गस्ती गर्नु गाह्रो काम रहेछ। अँध्यारो अर्को व्यवधान थियो। गस्तीबारे सुन्नु र वास्तविक अनुभवबीच धेरै अन्तर रहेछ।

गाडी जिल्ला वन कार्यालयतिर मोडियो। लुइँटेलले आग्रह गरेपछि म पनि बाहुनडाँगी झरेँ, उनकै घरमा पाहुना लाग्न। काठको सुन्दर घर। तर भर्याङ ओर्लंदा उक्लँदा, कोठामा हिँड्दा पाइतलाको आवाज आउने। भिन्न अनुभूति। ओछ्यानमा पल्टेर सुत्ने कोसिस गरे। अँह, निद्रा लागेन। बरु सुँड जुधाएर खेल्दै गरेको निश्चल छावाहरूको दृश्य आँखासामु आइरह्यो।

सोचे, विगतमा जैविक मार्ग अविछिन्न थियो। सदीयौंदेखि हन्जा निर्वाध रूपले आसामदेखि यो भेगसम्म ओहोरदोहोर गर्थे। वन अतिक्रमित थिएन। पर्याप्त वनजंगल थियो। पानी, जंगली केरा र प्राकृतिक आहारा जंगलभित्र प्रशस्त थियो। मान्छेकै जनसंख्या कम थियो। बस्ती पातलो थियो। समयक्रममा जनसंख्या साङ्लाझैं बढ्यो। मानिसले वन मास्न थाल्यो। हात्तीको परम्परागत जैविक मार्ग हो भन्ने हेक्का नराखी बाटो खन्न र बस्ती बसाउन थालियो। सार्वजनिक जग्गा भेटे मिचिहाल्ने, खोस्री हाल्ने र छेकबार लाइहाल्ने।

सरकारले विगतमा भूमिहीनहरूलाई जैविक मार्गकै क्षेत्र वरपर पुनर्बास गरायो। त्यसैले हात्ती र मान्छेबीच द्वन्द्व निम्तियो। करिब ३०, ३५ वर्ष भएछ, द्वन्द्व सुरु भएको। हाल नेपाल सरकार र राष्ट्रिय प्रकृति संरक्षण कोषले मेचीकिनारमा १८ किमि विद्युतीय तारबार लगाइसकेको छ। यसले बाली क्षतिलाई करिब ९० प्रतिशत घटाएको छ। तर सीमापारि क्षति तीव्र बढेको छ। राहत नीति कार्यान्वयनमा छ। सरकारले आफ्ना नागरिकको जीवन, बालीनाली र सम्पत्तिको रक्षा गर्नु दायित्व नै हो। रोकथामका उपाय चाल्नै पर्छ। तर स्विकार्नुपर्छ, द्वन्द्वको स्थिति आउनुमा हात्ती होइन, मानिस प्रमुख जिम्मेवार छ। मानवीय क्षति, बालीनाली क्षति, हात्तीको मृत्यु दुःखद् घटना हो।

दुर्घटनाको दौरान स्थानीय बासिन्दाहरू आक्रोशित हुनु स्वाभाविक हो। तर त्यस्तो बेला मान्छे ठूलो कि हात्ती? जस्ता प्रश्न गरेर समाधान खोज्ने प्रवृत्तिले दीर्घकालीन हल दिँदैन। अहिलेसम्म दिगो हल नभेटिएको पनि सायद यस्तै कारणले हो। इकोसिस्टममा ठूलो सानो हुँदैन। परस्परमा निर्भर हुन्छ। तत्काललाई विद्युतीय तारवार प्रभावकारी भए पनि दीर्घकालीन उपाय होइन। त्यो प्रमाणित भइसकेको छ।

एउटा ठूलो प्रश्न भने अनुत्तरित नै थियो ‘हात्तीको निर्बाध हिँडडुल गर्ने स्वतन्त्रतालाई नमिची दीर्घकालीन द्वन्द्व व्यवस्थापन गर्न सकिन्न? ’ जवाफ सजिलो छैन। तर हामीले खोज्नै पर्छ। यी प्रश्नहरूबीच कुन बेला भुसुक्कै भएछु, पत्तै भएन। बिहान आँखा खुल्दा सुपारीको रूखको हाँगामा रंगीबिरंगी चराहरू खेलिरहेको थिए। मन प्रफुल्ल भयो। साँच्चै, प्रकृति नजिक हुँदाको आनन्दलाई कसैले जित्न सक्दैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.