एउटा बेग्लै भारत
‘जाऔं भाइ, मर्निङ वाकमा। यो मात्र कहाँ भारत हो ? खास भारत त अर्कै छ, बाहिर सडकमा,’ बिहानै एलबी दाइले भन्नुभयो।
हामी जयपुर भारतमा डिग्गी प्यालेस होटेलमा बसेका थियौं। यसै होटेलमा फाउन्डेसन अफ सार्क राइटर्स एन्ड लिटरेचरले अक्टोबर ७ देखि ९ सम्म दक्षिण एसियाली सुफी फेस्टिभल आयोजना गरिरहेको थियो। नेपालबाट अरू पनि केही लेखकहरूसँगै हामी दुई पनि यस फेस्टिभलमा सहभागी हुन जयपुर आएका थियौं। कार्यक्रम ९ बजेपछि मात्र सुरु हुने भएकोले हामीसँग झन्डै दुई घन्टा समय थियो। उहाँको कुरा त ठीक हो।
हामी एउटा अर्को भारतलाई हेर्न होटेलबाट पैदल हिँड्दै बाहिर सडकमा निस्कियौं। अलि अगाडि बाटोमा पुगेपछि मैले भनेँ, ‘आज हिँडौं दाइ।’
‘होइन, गाडीमै जानुपर्छ। हिँडेर धेरै पर पुगिँदैन,’ एलबी दाइले भन्नुभयो।
एउटा अटो रोक्यौं। भाडाको कुरा मिलेन। त्यसपछि एउटा स्कुल बस आयो। एलबी दाइले हात उठाउनुभयो। ड्राइभरले बस रोक्यो। हामी त्यसमा चढ्यौं।
‘तिम्रो नाम के हो भाइ ? ’ ड्राइभरसँग कुरा गर्न थाल्नुभयो एलबी दाइले। उहाँ धेरै वर्ष भारतीय सेनामा जागिर खाएको मान्छे। कलेजस्तरको सबै शिक्षा पनि भारतमै लिएको उहाँले। त्यसैले उहाँले भारतलाई रौं रौंमा चिन्नुभएको छ। मलाई उहाँसँगको यो यात्रा सजिलो र रमाइलो भइरहेको थियो।
धरमवीर चौधरी रहेछ, ड्राइभरको नाम। वृन्दावनको रहेछ ऊ।
म तिम्रो छिमेकी देशको हुँ।
‘कुन देशबाट आउनुभाको ? ’ उसले सोध्यो।
‘बंगलादेश,’ उहाँले भन्नुभयो। मैले छक्क परेर उहाँलाई हेरेँ। उहाँ मुस्कुराउनुभयो।
‘ए, त्यसो भए तपाईंहरू कोलकाताबाट आउनुभएको रहेछ है।’ उसले सोध्यो।
‘हो,’ मैले भनेँ। ऊ कोलकातालाई बंगलादेश भन्दो रहेछ।
‘कोलकाता कहाँबाट ? ’
‘हावडा पुलको नजिकै हो,’ फेरि भनेँ। उसले पत्यायो।
ऊ पहिला लरी चलाउँदो रहेछ। लरी चलाउँदा भारतभरि घुम्न पाएको कुरा भन्यो। नेपाल पनि गएको छु भन्यो उसले।
हामी पिङ्क सिटीतिर छिर्यौं। जयपुरमा आएपछि पिङ्क सिटी नगई फर्कने हो भने जयपुर घुमेकै मानिँदैन वास्तवमा। त्यसैले जयपुर आएको तीन दिनपछि यस ठाउँमा आउँदा त्यसै पनि रमाइलो लागिरहेको थियो, यद्यपि एकाबिहानै अधिकांश पसलहरू बन्द थिए। केही मिठाई पसलहरू खुलेका थिए। हामीलाई चिया पिउन पाए पुगिहाल्थ्यो।
सहरको बीचतिर पुगेपछि एउटा मिठाई पसल अगाडि गाडी रोक्न लगाउनुभयो एलबी दाइले। धरमवीर पनि हामीसँगै ओर्लियो गाडीबाट। हामीले मिठाई पसलमा तीन कप मीठो चिया बनाउन भन्यौं। चिया पसल छेवैमा एउटा साइकल बनाउने दोकान खुलिसकेको थियो। एउटा २२÷२५ वर्षको जस्तो लाग्ने युवा पसल अगाडि उभिएको थियो। ऊ हाम्रो नजिकै आयो। एलबी दाइले उसलाई बोलाएर हामी तीन जनाको फोटो खिच्न लगाउनुभयो। धरमवीरलाई बीचमा राखेर मिठाई पसललाई पृष्ठभागमा पारेर फोटो खिच्यौं।
एलबी दाइको कुरा गर्ने अलग्गै शैली छ। त्यस्तै, लेखनको पनि उहाँको आफ्नैपन छ। हामी त्यसलाई कहिलेकाहीँ एलबी स्टाइल भन्ने गर्छौं। आज बिहानैदेखि उहाँ एलबी स्टाइलमा हुनुहुन्थ्यो। र, मलाई त्यो स्टाइल रोचक लागिरहेको थियो।
‘तुम्हारा नाम क्या है भाइ ? ‘ बोलिरहनुपर्ने स्वभावका एलबी दाइले आफ्नै स्टाइलमा सोध्नुभयो।
‘चुलबुल पाण्डे,’ त्यस युवाले भन्यो।
‘क्या ? ’ एलबी दाइले आश्चर्यको भावमा फेरि सोध्नुभयो।
उसले फेरि त्यही नाम दोहोर्यायो।
‘अच्छा, ओ वाला चुलबुल पाण्डे ? ’ मैले हातले मुम्बई भएको दिशातिर देखाउँदै सोधें। किनभने, बलिउडबाट बनेको चलेको फिल्म दबंगमा त्यसका प्रमुख कलाकार सलमान खानको नाम चुलबुल पाण्डे थियो।
‘हाँ जी, वही।’ उसले मेरो आशय बुझेर भन्यो।
उसको कुरा रमाइलो थियो। हामीले विश्वास गरेनौं जस्तो ठान्यो उसले। त्यसैले हामीलाई उसको दोकानभित्र लिएर गयो। त्यहाँ भित्ताभरि उसले उसका फोटोहरू फ्रेम गरेर टाँसेको थियो। हामीले ती फोटाहरू हेर्यौं। ती फोटोहरूमा ऊ सलमान खानसँगै उभिएको थियो, सलमानले जस्तै प्रहरीको लुगा लगाएको थियो। कुनै कुनै फोटोमा त उसले छातीमा नाम झुन्ड्याउने ठाउँमा चुलबुल पाण्डे लेखेको पनि थियो। रमाइलो लाग्यो उसलाई र फोटो दुवैलाई पालैपालो हेर्दा।
‘यो सबै तिमीले सलमानकै साथमा खिचेको हो ? ’ सोधेँ हिन्दीमा।
‘हो। ऊ मेरो दाइ हो,’ उसले भन्यो। मैले उसको दोकानको दर्ता गरेको प्रमाणपत्र हेरेँ। ऊ पनि खान नै रहेछ। उसको पसल सानो थियो, केवल साइकल मर्मत गर्ने। उसले अलग अलग खिचेको फोटाहरूलाई स्टुडियोमा कति चलाखीपूर्वक मिलाएछ भन्ने लागिरह्यो, ठ्याक्कै सलमानसँगै उभिएर खिचेको जस्तो देखिने फोटो हेरेपछि। सलमान खानले उक्त फिल्ममा लगाएको प्रहरीकै लुगा सिलाउन पनि उसले निकै पैसा खर्च गर्यो होला।
हाम्रो चिया आइपुग्यो। चियासँगै कचौडी र जुलबी पनि मगाउनुभयो दाइले। ‘भारतमा आएपछि सडकमा ओर्लेर एक पटक कचौडी नखाई मलाई चित्तै बुभ्mदैन। बुभ्mनु भो, यसरी खाएपछि वास्तविक भारतमा पुगेको अनुभव हुन्छ मलाई,’ एलबी दाइले भन्नुभयो।
हुन पनि हो, हामीले डिग्गी प्यालेसमा भेटेको भारत वा त्यहाँ भेटिएका प्रबुद्ध मानिसहरू, कवि, लेखक, पेन्टर तथा कलाकारहरू र सम्पन्न भारतीय पर्यटकहरू भारतको एउटा सानो खण्ड मात्र हुन्। झन्डै डेढ अर्ब जनसंख्या भएको भारतमा अभैm पनि बहुसंख्यक जनसंख्या त सडक छेउको सानो छाप्रे पसलमा समोसा, कचौडी, चिया, चटपटे र जुलेबीको स्वादमै जिन्दगी बिताउनेहरूको छ। त्यो बहुसंख्यक भारतीयले प्रयोग गरेको स्वादको अनुभव नगरी भारत कसरी अनुभूत गरिएला त ! उहाँको कुरा ठीक हो।
चिया पिउँदै गर्दा मैले फेरि हेरेँ साइकल पसलतिर। चुलबुल पाण्डे पसलमै मुडामा बसेको थियो। सलमान खानको प्रभाव यस युवाको वर्गका मानिसमा कति बलियो र जबर्जस्त रहेछ भन्ने एउटा सानो उदाहरण हो यो। एउटा बलियो र ठूलो जमात भएको भारतको प्रतिनिधि हो, चुलबुल पाण्डे।
मैले मिठाई पसलमा पैसा तिर्न खोजेँ। तर धरमवीर दौडदै काउन्टरमा आयो। उसले भन्यो, ‘सर, यो पैसा तपाईंले तिर्ने होइन। तपाईंहरू त मेरो पाहुना हो। छिमेकी देशबाट आउनुभएको। यो पैसा म तिर्छु।’
मैले कति सम्झाउँदा पनि उसले मानेन। हामी तीनैजनाको पैसा उसैले तिर्यो। एउटा मामुली ड्राइभरले हामीलाई ऊप्रति कृतज्ञ बनायो। एउटा भारत यो पनि हो, सोचेँ।
हामी त्यहाँबाट पैदल हिँड्न थाल्यौं। अलि अगाडि गएर बायाँतर्पm मोडियौं। ‘यिनीहरूलाई हाम्रो सबै सूचना किन सही भन्नुपर्यो र ? त्यसैले अघि मैले बंगलादेश भनेको,’ दाइले भन्नुभयो।
सय मिटर जति अगाडि गएपछि सब्जी मण्डी रहेछ। निम्नमध्यम वर्गीय श्रमिक वर्गको एउटा बलियो प्रतिनिधित्व त्यहाँ थियो। होलसेल, खुद्रा, मूल्यमा बहस, वादविवाद, सडकमै चिया पकाएर बेच्नेहरूको व्यापार सबै देख्न पाइयो त्यहाँ। एकछिनसम्म त्यहाँको दृश्यलाई अवलोकन गरेपछि एउटा अर्को भारतलाई अनुभूत गर्दै हामी फर्कियौं।
मूल सडकमा आएर एउटा अटो रोक्यौं र फर्कियौं डिग्गी प्यालेस होटेलतिर। बाटोमा फर्कंदा सम्भेmँ, धेरैअघि दोलखाको जिरी बजारमा भेटिएका एक जोडी गोरा पर्यटकहरूले डेढ महिना हिमाली क्षेत्र (ग्रेट हिमालयन ट्रेल) मा पदयात्रा गरेको कुरा भनेपछि मैले सोधेको थिएँ, ‘तपाईंहरूको यति लामो पदयात्राको अनुभव कस्तो रह्यो त ? ’ एकछिन निधार खुम्च्याएर सोचेपछि ती पर्यटकले भनेका थिए, ‘हामीले अर्कै नेपाल भेट्यौं, काठमाडौंको भन्दा एकदम फरक।’ उनले भनेजस्तै र हामीले जयपुरमा देखेजस्तै नेपालभित्र पनि थुप्रै नेपालहरू छन्।
सोचेँ, एउटा देश सिंगो र पूर्ण हुनलाई त्यसभित्रका यस्ता थुप्रै देशहरूको एकताबद्ध साझा प्रयासले मात्र सम्भव हुन्छ। यो कुरा जिम्मेवारीमा हुनेहरू सबैले बुझेको दिन कति सुन्दर दिन हुन्छ होला।
होटेलमा ब्रेकफास्ट खाएर भव्य सभाहलमा कविताको कार्यक्रममा जानु थियो र अनुभूत गर्नु थियो, एउटा सम्भ्रान्त एवं एलिट वर्गको भारतलाई।