भक्तपुरबारे दुई कृति सार्वजनिक
भक्तपुर : जितेन्द्र रसिकको आठौं कृति अलकापुरी भक्तपुर र संस्कृतिविद् ओम धौभडेलको भक्तपुर दरवारका मल्लकालिन भारदारहरू गरी दुई कृति सार्वजनिक गरिएको छ।
पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले विभागले पूरा गर्न नसकेको काम लेखक रसिक र धौभडेलले गरेको बताए। दाहालले बुधवार भक्तपुरमा विभागको ध्यान पुग्न नसकेको सम्पदा र संस्कृतिको क्षेत्रमा कृति लेख्ने काम भएको बताएका हुन्।
वरिष्ठ संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगले भानुभक्त आचार्य काठमाडौ आउँदा भक्तपुरसम्म नआइपुगेकाले काठमाडौलाई मात्र अलकापुरी देखेको तर रसिक भक्तपुरसम्म आइपुग्दा अलकापुरी भक्तपुर सिर्जिएकाले सिङ्गो भक्तपुर जिल्लाले गौरवान्दित महसुस गर्ने बताए।
भक्तपुरका सबै पुस्तकमा मण्डपशैलीका मन्दिरलाई प्यागोडा लेख्दै आएकोमा आपत्ति जनाउँदै अलकापुरी भक्तपुर कृतिले त्यो भ्रम चिरेर मण्डप शैलीका सम्पदाहरूका विषयमा स्पष्ट पारेको उनको भनाइ छ।
डा. देवीप्रसाद सुवेदीले भक्तपुरकै स्थानिय लेखकदयको दुबै कृति मौलिक र यथार्थ विवरण, इतिहास र सम्पदाको नालीबेली भएकाले सम्पदा र मल्लकालिन भारदारका विषयमा जान्न र खोज अनुसन्धान गर्न चाहनेलाई उपयोगी कृति भएको बताए। रसिकले ८ वर्षको मेहेनतपछि आठौं कृतिका रुपमा प्रकाशित अलकापुरी भक्तपुरमा हिन्दु, बौद्ध, मुस्लिम लगायत सबै सम्पदा र संस्कृति समेटेको जानकारी दिए।
भक्तपुरका मल्लकालिन भारदार कृतिका लेखक ओमप्रसाद धौभडेलले मल्लकालिन समयमा भारदारहरू को को थिए तिनीहरूका योगदान भक्तपुरको संस्कृति, सम्पदा निर्माणदेखि विकाससम्मका विषयवस्तु कृतिमा समेटिएको बताए।