बलात्कार शृंखला : राज्य र समाजको दायित्व के ?

बलात्कार शृंखला : राज्य र समाजको दायित्व के ?

गृहमन्त्रीको नालायकी र प्रधानमन्त्रीको निरीहतामाथि संसदमा प्रश्न उठाउने साहस सत्तारुढ सांसदमा देखिएन


कञ्चनपुर, महेन्द्रनगरकी १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको दुई महिना नाघिसकेको छ। बलात्कारीको पहिचान गरी कडाभन्दा कडा सजाय माग गर्दै सडकमा जुलुस प्रदर्शन अहिले पनि जारी छन्। सिंगै समाज हल्लाउने यो घटनालाई सबै प्रकारका सञ्चारमाध्यमले प्राथमिकताका साथ उठाइराखेका छन्। यसबारे तीखा नागरिक अभिमत निरन्तर प्रवाहित भइरहेको छ। पीडित परिवार र नागरिक समाजका प्रतिनिधिले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीसमेतलाई भेटेर हारगुहार गरे। 

सबैबाट यसको सत्यतथ्य सार्वजनिक गरेर अपराधीलाई सजायको कठघरामा उभ्याउने वाचा पनि आयो। तर अहिलेसम्म न बलात्कारीको पहिचान हुन सकेको छ, न बलात्कारका घटना नै रोकिएका छन्। हरेक दिन कोही न कोही बलात्कृत भइरहेका छन्। त्यसमा पनि ससाना बालिका यसको सिकार भइरहेका छन्। सुन्दा पनि आँङै सिरिंङ हुन्छ। भित्रको म मर्माहत हुन्छ। सबैको संवेदनालाई यसले गहिरोसँग छोएको छ। पुरुष हुनुको लज्जा र ग्लानि अभिव्यक्त भइराखेका छन्, तर वेदनाको अभिव्यक्तिले मात्र समस्याको अन्त्य गर्दैन, समाधान पनि दिँदैन।

सडक र सामाजिक सञ्जालमा बलात्कारीविरुद्ध मृत्युदण्ड, सर्वस्वहरण, बाँचुञ्जेल काराबास सजायको पक्षमा मत प्रकट भइराखेको छ। प्रहरी प्रशासनले अविलम्ब र प्रभावकारी ढंगले अपराधीलाई कठघरामा उभ्याउनुपर्‍यो। कानुनी प्रक्रियामै परिवर्तन गर्नुपर्छ, बलात्कारविरुद्धका मुद्दाको जाहेरी, कारबाही प्रक्रिया र दण्ड सजायका कुरा फरक ढंगले हेरिनुपर्छ भन्ने छ। मृत्युदण्डको सवालमा बाहेक कुनैमा मेरो विमति छैन। तर मेरो मनमा प्रश्न उठ्छ– निकृष्ट यौन पिपासा र वीभत्स हिंस्रक प्रवृत्तिले समाजमा दह्रो रूप धारण गर्दै गरेको सन्दर्भमा उपाय भनेको के प्रहरी प्रशासनिक कारबाही र कानुनी उपचार मात्र हो ?       प्रहरी घटना भइसकेपछि पुग्छ। कतिपय सन्दर्भमा त अपराध लुकाउन र प्रमाण मेट्न उसकै संलग्नता हुने गरेका दृष्टान्त छन्। के प्रहरीको प्रभावकारी परिचालन देखेर वा कानुनको प्रावधान र दण्डको प्रकृति हेरेर बलात्कार गर्ने वा नगर्ने मानसिकता बन्ने हो र ?       

पीडित व्यक्ति र परिवारको त कुरै भएन, सबैको संवेदनालाई यसले गहिरोसँग छोएको छ। स्वाभाविक हो, मानव संवेदनशीलतामा चोट पुग्ने घटनाले सबैलाई भावुक बनाउँछ। तर यही कुरा सबै काल र परिस्थितिमा सबै मान्छे वा पुरुषलाई लागू हुँदो रहेनछ। हाम्रो समाजमा हुने बलात्कार केही अपवादबाहेक पुरुष कुकृत्य हुन्। एउटा पुरुष बलात्कारका घटना सुनेर दुःखी हुन्छ। ग्लानि र लज्जाले शिर निहुर्‍याउँछ, मर्माहत हुन्छ। विरोधको स्वर थप्छ। विडम्बना हो, अर्को पुरुष त्यही कुकृत्यमा प्रवृत्त हुन्छ। किन ?       किन राज्य संयन्त्र असफल हुन्छ यस्तो कुकृत्य रोक्न ?       अलि फराकिलो र गहिराइमा गएर यसलाई केलाउन र समाधान खोज्न पनि उत्तिकै आवश्यक छ।

जीवनको पहिलो पाठशाला मानिने प्रत्येक परिवारलाई बढी संस्कारयुक्त र शिक्षित बनाउन सके बलात्कारको विकृतिबाट धरै बच्न सकिन्छ।

बलात्कारको सामाजिक दृश्य यति व्यापक छ भनेर साध्य छैन। घरमै बाउबाट, हजुरबा, दाजु, काका, मामा, छिमेकी, शिक्षक, साथी, हाकिम, सहकर्मी, नेता, धर्मगुरुहरूबाट बलात्कृत भएका छन् सबै उमेरका महिला। कुन नाता र सम्बन्ध बाँकी होला यो कुकर्मबाट अलग ?        यस्तै, कुन ठाउँ चोखो होला— घर, ट्वाइलेट, स्कुल, अफिस, चौकी, ब्यारेक, होटेल, लज, मठमन्दिर, बसस्टप, खेतबारी, वनजंगल ?        यो कुकृत्यमा पुरुषले कसैलाई छोडेको छैन आफ्नै आमा, छोरी, चार–पाँच वर्षकी नातिनीदेखि ८० वर्ष नाघेकी हजुरआमासम्म। सम्झँदा पनि आफैंलाई तीव्र धिक्कारले गलित बनाउँछ। पुरुष मान्छे हुनुको औचित्यमाथि नै प्रश्न उठ्छ। लाग्छ, भो पुग्यो अब यस्तो कुकर्म बोक्ने समाजको निरन्तरता। जन्मिँदै सबै शिशुको लिंग काटिदिए हुन्छ, तर सबैलाई थाहा छ, यो उचित होइन, न समाधान नै।

आज एक्काइसौं शताब्दीमा पुग्दा पनि बलात्कारका घटना नियन्त्रण हुन नसक्नु र अपराधी सुरक्षित रहनुमा हाम्रो समाज र राज्य नै सर्वाधिक जिम्मेवार मान्नुपर्ने हुन्छ। पुरुष सत्ताप्रधान शासकीय संरचनाले हिजोसम्म महिलालगायत सबैलाई भोगविलास वस्तुका रूपमा व्यवहार गर्दै आएको थियो। ३८ वर्ष पुरानो नमिता, सुनिताजस्ता किशोरीको यौनसिकार र हत्या शृंखला हाम्रा शासकीय व्यवहारमा अझै मौजुद छन् भन्ने कुराको प्रमाण दिन्छ, कञ्चनपुरमा भएको निर्मला प्रकरणले। यो घटनामा जसरी जिल्लास्थित प्रहरी संरचना उदासीन मात्र होइन, प्रमाण नष्ट गर्न, अपराधी लुकाउन सहयोग पुग्ने गरी प्रयोग भयो, त्यसले प्रस्ट पार्छ राज्यको अपराधी चरित्र। पटकपटकको आन्दोलनले माथिल्लो राजनीतिक संरचना बदल्दै आएको छ। निर्वाचन प्रक्रिया र माध्यमले शासनमा दल र व्यक्ति पनि फेरेको छ, तर राज्यको चरित्र बदलिएको छैन भन्ने कुराको पुष्टि हो यो। समाज बदल्न सके पनि आफैंले नेतृत्व गरेको राज्य संरचनाको त जिम्मेवारी लिनुपर्ने हो शासनमा बस्नेहरूले ?       

सरकारमा बस्नेहरू अहिले ‘डिजिटल स्मार्ट गभन्र्यान्स’ को कुरा गर्छन्। खै त, गृहमन्त्रीको पकड सूचना सञ्जालमा ?       यस्ता घटनामा २४ घन्टा नबित्दै गृहमन्त्री संवेदनशील भएर तुरुन्त कारबाहीमा उत्रेको देखिनुपथ्र्यो। मन्त्रीहरूमाथि समेत सूचना प्रविधिबाटै निगरानी गरिरहेको दाबी गर्ने प्रधानमन्त्रीले पनि समयमै संवेदनशील भएर ‘एक्सन कमान्ड’ गरेको देखिएन। लाग्छ, निर्देशनतन्त्रले सूचनाको युगलाई गिज्याइरहेछ। सरकारका कुरा चतुर गोठालेको चुरीफुरी र मजाकजस्तो भएको छ। अपराधीलाई राज्यको अभियोगबाट मुक्त राख्न राजनीतिक नेतृत्व चुकेको छ, असफल भएको छ। महिला मुद्दाको वकालत गर्ने केही एक्टिभिस्ट महिला सांसदहरू पनि अखबारका पाना भर्ने अक्षर कोर्नबाहेक संसद्मा सरकारलाई औंला ठड्याउन सक्ने कोही भएन। सडकको दबाबपछि मात्र जिल्ला प्रहरी नेतृत्व फेर्ने र छानबिन समिति बदल्नुपर्ने स्थिति आउनु भनेको आफैंमा सरकारी गैरजिम्मेवारिताको दृष्टान्त हो। गृहमन्त्रीको नालायकी र प्रधानमन्त्रीको निरिहतामाथि संसद्मा प्रश्न उठाउने साहस सत्तारुढ सांसदमा देखिएन। सायद, दुईतिहाइको संसदीय राजमा दलीय ह्वीपको फलामे बार धेरै बलियो भएको छ।

बलात्कारको जाति र भूगोल हुँदैन। त्यो खोज्नु पनि उचित हुँदैन। तर समाज र परिवारको भित्री तहसम्म पुगेर समाधान खोज्न बलात्कारी र पीडित दुवैको सामाजिक र पारिवारिक पृष्ठभूमि भने जान्नैपर्छ। सबैलाई एउटै डालोमा राखेर त्यसको सामाजिक पक्ष केलाउन सकिन्न। यसलाई अलिकति वर्गीकृत गरेर पनि हेर्नुपर्ने हुन्छ। यो कुरा किन जरुरी छ भने खासगरी ससाना बालिकामाथि हुने बलात्कारका घटना तामसिक मनोवृत्ति र मनोरोगग्रस्त प्रवृत्ति पनि हो। यो भनेको यौन उत्तेजना र कामुकतासँग मात्र सम्बन्धित छैन। अहिले भइरहेका चेतनामूलक प्रचार–प्रसारले मानिस र समाजलाई आमरूपमा अपिल गर्ने हो, तर यसको प्रभाव जहाँसम्म पुग्नुपर्ने हो त्यहाँ नपुग्न सक्छ, पुगेको छैन पनि।

यौन चाहना मानिसलगायत सबै प्राणीको स्वाभाविक प्रवृत्ति हो, सिर्जनशीलता पनि। आजीवन ब्रह्मचर्यजस्ता केही अपवादबाहेक यौन सुखभोग सबैको चाहना हुन्छ। यसको तृष्णा मादक र उत्तेजक हुन्छ। यसलाई मर्यादित एवं स्वस्थ अभ्यास बनाउने क्रममा विवाहको अवधारणा विकसित भयो, परिवारले सामाजिक स्वरूप लियो। यसभन्दा पृथक् यौन सम्बन्धलाई अनैतिक र अवाञ्छित मानियो। तर रोक्न सकिएन, रोकिएन। त्यसको रूप र शृंखलाको बेग्लै पाटो छ। यसका नयाँ आयाम र बुझाइ विकसित भएका छन्।

विवाहइतर यौन र सहजीवन, समलिंगी विवाहजस्ता व्यवहारले वैधता पाउन थालेका छन्। त्यसको सामाजिक स्वीकार्य बढ्न थालेको छ। तर जबर्जस्ती यौन, बलात्कार, हिंसा र शोषण अपराध हो। त्यसमाथि उमेर नपुगेका बालिका र किशोरीमाथिको यस्तो दुव्र्यवहार जघन्य अपराध हो। यसको नियन्त्रण राज्यको दायित्व हो। यो गर्न नसक्ने राज्य व्यभिचारी र अपराधी चरित्रको मानिन्छ।

तर यहाँ मैले उठाउन खोजेको सन्दर्भ समाज र पारिवारिक संस्कारको पनि हो। मान्छेले सबैभन्दा पहिले यौन आचरण, व्यवहार एवं मर्यादा परिवार र नाता कुटुम्बमै सिक्ने हो। यससँग जोडिएका कैयन् कुरा र व्यवहार उसले मौनतामै सिक्छ। यसका कमजोर पक्ष पनि होलान् तर अधिकांशले यसरी नै जान्दै र बुझ्दै आएका छन्। समयक्रममा अरू माध्यमबाट पनि उसले बुझ्छ। यो कुरा कुनै धर्म र सम्प्रदायमा सीमित छैन। सबै धर्म, सम्प्रदायबीच पारिवारिक संस्कार, मूल्य र यौन आचरणका बारेमा न्यूनतम मर्यादा कायम राखेका छन्। परिवारका सबै संस्कार र मूल्यलाई धर्मसँगै जोड्नु पनि जरुरी छैन।

बलात्कारका कतिपय घटनामा पारिवारिक मूल्य र मर्यादाको स्खलन भएका छन्। हामीले हस्तक्षेप र सुधार प्रयास त्यहाँ केन्द्रित गर्नु जरुरी छ। हो, अहिले शिक्षित भनिएका परिवारमै पनि संस्कारजनित मूल्यको चर्चालाई फजुल मान्ने पुस्ता र प्रवृत्ति बढ्दो छ। भौतिक विलासितायुक्त जीवन र बुझाइ सबैको प्राथमिकता र भोगवासना भएको छ। अवाञ्छित यौन सम्बन्ध, शोषण र हिंसाबाट शिक्षित परिवार पनि मुक्त छैन, तर बुझ्नु र बुझाउनुपर्ने कुरा हो, भौतिक चाहना पनि त सभ्य र संस्कारयुक्त हुन्छ।

भौतिकवादीहरूको जीवन पनि सभ्य र सुसंस्कृत छ। हो, गलत कुरा हटाउनुपर्छ, तर संस्कार भनेको आधुनिकता र भौतिक सुविधाविरोधी होइन भन्ने बुझाइ पनि स्थापित गर्नु जरुरी छ। तसर्थ जीवनको पहिलो पाठशाला मानिने प्रत्येक परिवारलाई बढी संस्कारयुक्त र शिक्षित बनाउन सके बलात्कारको विकृतिबाट धेरै बच्न सकिन्छ।

अहिले समाजमा यौनलाई हेर्ने, बुझ्ने र अभ्यास गर्ने तौरतरिका अर्थात् यौन आचरण बदलिएको छ। हिजो स्थापित मूल्यमा नयाँपन र प्रयोग आएको छ। यद्यपि पुराना आँखा र मान्यतामा यसलाई ह्रासोन्मुख आचरण र नैतिकता वा यौन विकृति पनि भन्न सकिएला, तर यी सबै कुरामा स्वस्थ चर्चा, बहस र ज्ञान अपेक्षित छ। हाम्रो शिक्षा त्यसतर्फ पनि लक्षित हुन आवश्यक छ। विद्यालय पहुँच र प्रवेशको कुरा मात्र होइन, एउटा निश्चित तहसम्मको पढाइमा निरन्तरता र सफलता पनि अपेक्षित छ। बलात्कार र यौन अपराधमाथि नियन्त्रण गर्न नसक्ने हो भने समृद्धि र सुखका कुराको कुनै अर्थ रहँदैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.