सूचना माग गर्दा नपाएपछि विद्यार्थी अनशनमा
मलंगवा : सूचना माग गर्दै जिल्ला शिक्षा समन्वय इकाइ कार्यालय सर्लाहीमा लगाइएको ताला फुटाइएपछि आक्रोशित विद्यार्थीले रिले अनशन थालेका छन्। पटक–पटक सूचना माग गर्दा पनि कार्यालय प्रमुखले आलटाल गरेपछि राष्ट्रिय विद्यार्थी संघले गत भदौ ३१ गते उनको कार्यकक्षमा ताला लगाएको थियो।
आन्दोलनरत पक्षको सहमतिबिना ताला फुटाइएको भन्दै विद्यार्थी मलंगवाको सहिद चोकमा शनिबारदेखि रिले अनशनमा बसेका हुन्। ताला फुटाइएपछि उनीहरूले शुक्रबार दिउँसो कार्यालय अगाडि तीन घण्टा धर्नासमेत दिएका थिए।
उनीहरूले प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल र शिक्षा समन्वय इकाइ प्रमुख चेतकुमार पोखरेलको सरुवा गरिनुपर्ने, विभिन्न मितिमा माग गरिएका सूचना उपलब्ध गराइनुपर्ने र जिल्लाको शैक्षिक अवस्थाको अध्ययन गर्न उच्चस्तरीय अनुगमन टोली गठन गरिनुपर्ने माग गरेका छन्।
मागको सुनुवाइ नभएपछि आफूहरूले तालाबन्दी गरेको संघका केन्द्रीय उपाध्यक्ष मिथलेश यादवले बताए। तर, बिनासहमति ताला फुटाइएपछि बाध्य भएर रिले अनशनमा उत्रिएको उनले सुनाए। संघले सामुदायिक विद्यालय र मदरसामा कार्यरत राहत शिक्षकको नियुक्ति तथा विभिन्न छात्रवृत्तिको विवरणसहितको सूचना माग गरेको थियो।