ट्रम्पको हालत सद्दाम हुसेनको जस्तै बनाइदिने चेतावनी
तेहराइन : इरानका राष्ट्रपति हसन रुहानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालत इराकका पूर्वराष्ट्रपति सद्दाम हुसेनको जस्तै हुने चेतावनी दिएका छन्। इरानलाई सिध्याउन खोजेको इराक र त्यसका राष्ट्रपति हुसेनलाई जस्तै विफल बनाइदिने रुहानीको भनाइ छ।
अमेरिकाले दबाब दिँदैमा इरानले आफ्नो क्षेप्यास्त्र नष्ट नगर्ने पनि उनले स्पष्ट पारे। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मे महिनामा इरानसँग भएको आणविक सम्झौता नमान्ने घोषणा गरेपछि इरान र अमेरिकाबीच निकै तनावपूर्ण अवस्था सिर्जना भएको छ। गत अगस्तमा अमेरिकाले इरानमाथि थप नाकाबन्दी लगाइएपछि यी दुई शक्तिबीच आरोप–प्रत्यारोपमा लागेका छन्। उनले इरानमा नौसैनिक शक्ति प्रदर्शनका क्रममा यस्तो खुलासा गरेका हुन्।
रुहानीले भने, ‘इरान आफ्नो सुरक्षाका निम्ति हतियार नष्ट गर्दैन। यसमा अमेरिकाले विरोध गर्दै आएका क्षेप्यास्त्र लगायतका हतियार पनि छन्।’ अमेरिकाले इरानलाई कमजोर पार्न विभिन्न उपायमा जुटेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले ४ नोभेम्बरसम्म इरानबाट तेल आयात बन्द गर्न आदेश दिइसकेका छन्। उक्त आदेश पालना नगर्ने देश र कम्पनीमाथि प्रतिबन्ध लगाउने ट्रम्पले चेतावनी दिँदै आएका छन्।