आफन्तबाटै बलात्कार
महेन्द्रनगर : कञ्चनपुरको महाकाली नगरपालिकाकी– १२ वर्षीया बालिका असार १३ गते बाबुबाटै बलात्कारको सिकार भइन्। राति खाना खाएर सुत्ने क्रममा घरमै उनीमाथि बलात्कार भयो। यसअघि दुई पटक भारतमा समेत बलात्कार गरे।
कसैलाई भने मारिदिने धम्की दिँदै बाबुले तेस्रो पटक उनीमाथि जबर्जस्ती करणी गरेपछि बालिकाले परिवारका अन्य सदस्यलाई भनिन् र घटना बाहिर आयो। १३ गते भएको घटनाको पीडितले असार ३० गते मात्रै जाहेरी दिइन्। प्रहरीले पीडकलाई पक्राउ गर्यो र अनुसन्धान अगाडि बढायो। छोरी बलात्कार गर्ने ती युवकलाई अदालतले २२ वर्ष जेल सजाय सुनायो। उनी कारागारमा सजाय भोगिरहेका छन्।
भदौ १५ गते कञ्चनपुरको बेल्डाँडी गाउँपालिकाकी १५ वर्षीया किशोरी बलात्कारको सिकार भइन्। घरमा राति पूजा सकेर नाचगान भइरहेका बेला ती चिनेका साथीले फोन गरेर घरबाहिर बोलाए। एकैछिन काम छ भन्दै ती किशोरीलाई मोटरसाइकलमा राखेर घरदेखि अर्को गाउँ जबदामा लगेर बलात्कार गरे। उनी स्थानीय एक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिइन्। ४ जनामध्ये १ जनाले बलात्कार गरेको पीडित किशोरीले प्रहरीसमक्ष बयान दिइन्। घटनामा संलग्न दुई जना हिरासतमा छन्। करणी कसुरअन्तर्गत मुद्दा चलाएर उनीहरूमाथि कारबाही थालिएको छ।
भदौ १५ गते नै बेल्डाँडी गाउँपालिकाका दुई जना बालिका बलात्कृत भए। घरपरिवारसँग चिनाजानी भएको र घरमा समेत आइरहने एक वृद्धले मिठाई दिने भन्दै फकाएर बालिकामाथि बलात्कार गरे। घटना दुई सातापछि मात्रै सार्वजनिक भयो। ती बालिकालाई चिन्ने र उनीहरूको घरमा समेत गइरहने ती वृद्धले स्कुलबाट फर्किरहेका बेला मिठाई दिने भन्दै फकाएर घरमा लगी बलात्कार गरेको परिवारले बताए। बालिकाले घरपरिवारलाई घटनाबारे थाहा दिएपछि प्रहरीलाई खबर भयो र ५७ वर्षीय राजेन्द्र विष्ट पक्राउ परे। उनी प्रहरी हिरासतमा छन्। करणी कसुरअन्तर्गत मुद्दा दायर गरी उनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ।
१६ साउनमै पुनर्वास नगरपालिका–२ की १६ वर्षीया किशोरीलाई २६ वर्षीय विकास बुढाले बलात्कार गरे। घर पुर्याइदिन्छु भन्दै ती युवकले १६ वर्षीया किशोरीलाई उखुबारीमा लगेर जबर्जस्ती गरेका थिए। ती युवकसमेत किशोरीका चिनेजानेकै व्यक्ति थिए। घर पु¥याइदिने विश्वासमा निस्केकी उनी बलात्कारको सिकार भइन्।
मोबाइल र इन्टरनेटको बढ्दो प्रयोगले सामाजिक विकृति ल्याएको अनुसन्धानले देखिएको प्रहरीको भनाइ।
यी प्रतिनिधि घटना हुन्। कञ्चनपुर जिल्लामा शृंखलाबद्ध भइरहेका बलात्कार र बलात्कारको प्रयासका घटनामा आफन्त र चिनेजानेकै व्यक्ति संलग्न रहेको पाइएको छ। जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका जबर्जस्ती करणी र करणीको प्रयाससम्बन्धी मुद्दामा प्रायः सबै घटनामा आफन्त र चिनेजानेकै व्यक्तिबाट भएको देखिन्छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी कुबेरसिंह कडायत धेरैजसो बलात्कार र बलात्कार प्रयासका घटनामा आफन्त र चिनेजानेकै व्यक्ति संलग्न रहेको पाइएको बताउँछन्। ‘साउन १० पछिका सबै घटनामा साथीभाइ, परिवारसँग जोडिएका व्यक्ति संलग्न भएको देखिएको छ’, एसपी कडायतले भने, ‘बालिका र किशोरी आफन्त, घरपरिवार र छिमेकीबाटै बढी असुरक्षित भएका छन्।’ उनले समाजमा बढ्दै गएको विकृति रोक्न सबै सचेत हुन जरुरी रहेको बताए।
जिल्ला प्रहरी कार्यालयका अनुसार साउन र भदौमा मात्रै १३ वटा मुद्दा दर्ता भएका छन्। यी जिल्ला प्रहरी कार्यालयमा आएर दर्ता भएका मुद्दा हुन्। कतिपय घटना सार्वजनिकसमेत नहुने गरेको पाइएको छ। जिल्लामा सबैभन्दा धेरै बालिका र किशोरी जोखिममा रहेको प्रहरी बताउँछन्। मोबाइल र इन्टरनेटको बढ्दो प्रयोगले सामाजिक विकृति ल्याएको प्रहरीको भनाइ छ।
‘घरपरिवार र समाजमा समेत अब सामाजिक विकृतिविरुद्ध लाग्नुपर्ने देखिन्छ’, अधिकारकर्मी भुवन कुँवरले भनिन्, ‘घरपरिवार अब निकै चनाखो हुनुपर्ने देखिन्छ र बालबालिकालाई समेत सचेत गराउन जरुरी छ।’ उनले सामाजिक सञ्जाल बढ्दो इन्टरनेटको प्रयोगले अपराध बढाउन भूमिका खेलेको भन्दै राज्यले यसमा नियन्त्रण गर्नुपर्ने बताइन्।
बलात्कारबाट जोगिन आत्मरक्षा तालिम
धनगढी : समाजमा बलात्कारका घटना बढ्न थालेपछि, युवती र महिलालाई आत्मरक्षा तालिम दिइने भएको छ। राष्ट्रिय गोजुरियो कराँते–दो संघले सातवटै प्रदेशमा एक/एक हजारका दरले युवती तथा महिलालाई आत्मरक्षा तालिम दिने भएको हो।
राष्ट्रिय गोजुरियो कराँते–दो संघले शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा निर्मलाको बलात्कार भएको प्रदेश ७ बाट असोज २० गतेदेखि ‘उमेन्स सेल्फ डिफेन्स क्याम्प २०१८’ नाम दिएर सातदिने आत्मरक्षा तालिम दिने जानकारी दिएको छ। संघले महासचिव प्रकाश चन्दलाई यस अभियानको संयोजक तोकेको छ।
महिला आत्मरक्षा अभियानबारे जानकारी दिँदै राष्ट्रिय गोजुरियो कराँते–दो संघका पदाधिकारीसहित आयोजक। तस्बिर : शिवराज भट्ट।
‘हामीले धनगढी रंगशालामा एक हजार युवती र महिलालाई सात दिनको आत्मरक्षा तालिम दिनेछौं’, संयोजक प्रकाश चन्दले भने। त्यसमा उनीहरूलाई कसैले अंगालो हाल्यो भने फुत्किने कसरी ? पुरुषहरूलाई कहाँनेर हिर्कायो भने त्यो अँगालो सहजै छुट्छ, त्यतिबेला आफू डराउने होइन कि आत्मरक्षा गर्ने हो भन्ने सिकाउनेछौं’, उनले भने।
एक हजार महिलालाई सुरुमा तीन दिन सामूहिक रूपमा आत्मरक्षा तालिम दिइने छ भने त्यसपछिका चार दिन १ सय ५० को समूहमा विभाजन गरेर अभ्यास गराइने चन्दले बताए। ‘हामीले कसैले कपाल समाते कसरी फुत्कने, पछाडिबाट अँगालो हाले कसरी छुटकारा पाउने ? , संवेदनशील अंग समात्यो भने कसरी छुटाउने, कतै लैजान थाल्यो भने कसरी छुटकारा पाउने ? जस्ता टिप्स दिनेछौं’, चन्दले भने।
तालिममा मोटिभेसन तालिम पनि समावेश गरिएको छ। ‘हामीले मोटिभेसन तालिम पनि दिनेछौं, त्यसका लागि नेपालका चर्चित प्रशिक्षकसँग कुराकानी भइरहेको छ, महिलाले आफूमाथि केही आइपरे डराउनुहुन्न, बरु सामान्य प्रतिकार गरेर पनि जोगिन सक्छन् भन्ने आत्मविश्वास तालिममा दिलाइनेछ’, महासचिव चन्दले भने।
महिला तथा बालबालिका क्षेत्रमा काम गरिरहेका गैरसरकारी संस्था ओरेक नेपाल, कमैया प्रथा उन्मूलन समाज, युवा शान्ति परिषद्, क्रियाशील महिला पत्रकार, धनगढी उपमहानगरपालिका, प्रदेश सरकारका मन्त्रालयको सहकार्यमा यो अभियान सुरु गरिएको हो।