यू–१६ महिला फुटबल : मलेसियाविरुद्ध सुखद नतिजाको अपेक्षा
काठमाडौं : एसियाली फुटबल महासंघ (एएफसी) यू–१६ उमन्स च्याम्पियनसिप छनोट प्रतियोगिताको समूह ‘ई’अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आइतबार मलेसियासँग प्रतिस्पर्धा गर्दै छ । हलचोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा हुने खेल दुवै टोलीका लागि औपचारिकतामा मात्रै सीमित छ ।
सुरुआती दुईमध्ये दुवै खेलमा पराजय बेहोरेका नेपाल र मलेसिया छनोट प्रतियोगिताबाटै बाहिरिइसकेका छन् । नेपालले आफ्नो अन्तिम खेलमा जितसहित प्रतियोगिताको सुखद अन्त्य गर्ने योजना बनाएको छ । यद्यपि प्रतियोगितामा टोलीले गरेको प्रदर्शन र हात पारेको नतिजालाई हेर्ने हो भने नेपाललाई जित निकै मुस्किल देखिएको छ ।
प्र्रतियोगिताको सुरुआती दुई खेलमा नेपाल र मलेसियाले म्यानमार र फिलिपिन्ससँगै पराजय बेहोरेको छ । तर, दुवै टोलीसँग नेपालले मलेसियाको भन्दा बढी गोल बेहोरेको छ । आफ्नो पहिलो खेलमा फिलिपिन्ससँग ४–० ले पराजित भएको नेपाल शुक्रबार भएको दोस्रो खेलमा म्यानमारसँग ११–१ को भारी अन्तरले पराजित हुन पुग्यो । मलेसियाले भने पहिलो खेलमा म्यानमारसँग ३–० तथा दोस्रो खेलमा फिलिपिन्ससँग १–० गोलले पराजित भएको थियो ।
नेपालले दुई खेलबाट विपक्षीविरुद्ध मात्रै एक गोल गर्दा १५ गोल बेहोरेको छ । मलेसियाले विपक्षीविरुद्ध एक गोल पनि गर्न सकेको छैन तर नेपालको भन्दा निकै कम चार गोल मात्रै बेहोरेको छ । त्यसैले पनि नेपाललाई मलेसियाविरुद्धको खेलमा जित मुस्किल हुनेछ ।
जितका लागि नेपालले आफ्नो खेलमा धेरै नै सुधार गर्न आवश्यक देखिएको छ । म्यानमारविरुद्धको खेलमा नेपालको रक्षापंक्ति निकै कमजोर देखिएको थियो । त्यसैले मलेसियाका स्ट्राइकरहरूलाई रोक्न नेपाली रक्षा पंक्तिले धेरै नै मेहनत गर्नु आवश्यक छ । यस्तै नेपाली मिडफिल्ड र स्ट्राइकरहरूले पनि धेरै मेहनत गर्नुपर्छ ।