संविधान दिवसको विरोधमा लेखिएको समाचार शेयर गर्दा जागिर गयो
जनकपुरधाम : असोज ३ गते संविधान दिवसको दिन संविधानको विरोधमा मधेसवादी दलले गरेको विरोध कार्यक्रम सम्बन्धी समाचारको लिंक सामाजिक सञ्जालमा शेयर गर्ने एक कर्मचारीको जागिर गएको छ।
जिल्ला अदालत धनुषामा खरिदार (डिठ्ठा) पदमा करारमा कार्यरत कर्मचारी गुञ्जनकुमारी रायलाई संविधान दिवसको विरोधमा भएका कार्यक्रम बारे विभिन्न वेवसाइटमा प्रकाशित समाचार सामाजिक सञ्जाल फेसबुकको आफ्नो पेजमा शेयर गरेको कारण जागिरबाट निकालिएको हो।
रायले आइतबार जनकपुरमा पत्रकार सम्मेलन गरेर आफूलाई अन्याय भएको भन्दै न्यायका लागि गुहार गरेकी छिन्। असोज ३ गते आफूले कम्तीमा चारदेखि पाँचवटा समाचार शेयर गरेको भएपनि ति समाचारप्रति आफ्नो विचार नराखेको रायले बताइन्।
असोज ४ गते अदालतका श्रेष्तेदार राधाकान्त झाले आफूलाई बोलाएर मौखिक रुपमा स्पष्टीकरण सोधेको र यस प्रकार संविधानका विरुद्धमा भएका क्रियाकलापको समाचार शेयर गरेर विरोधलाई समर्थन गरेको भन्दै कारबाही पर्न सक्ने बताएका थिए।
असोज ५ गते कार्यालयमा नियमित काम गर्न खोज्दा प्रशासन फाँटबाट जागिरबाट निकालिएको पत्र प्राप्त भएको रायले बताइन्।
पत्रमा उल्लेख छ, ‘२०७५ असोज ५ गतेसम्म अदालतको आदेशनुसार जागिरको म्याद थप भएकोमा सो पश्चात तपाईको कार्यवधिको म्याद थप नभएको हुँदा मिति २०७५ असोज ६ गतेदेखि लागू हुनेगरी तपाईलाई अवकाश दिइएको छ।’
पत्रमा अवकासको कारण भने खोलिएको छैन्। तर, एक दिन अगाडि मौखिक रुपमा स्पष्टीकरण सोधेर अर्को दिन कामबाट निकाल्नुले संविधान दिवसको विरोधमा प्रकाशित समाचार नै जागिर जानुको कारण भएको उनको भनाइ छ।
२०७३ पुस १७ गते करारमा अदालतमा जागिर पाएकी रायले आफूले शेयर मात्र गर्दा कारबाहीमा परेको भन्दै आपत्ति जनाएकी हुन्। उनले प्रदेशका मन्त्री र राज्यमन्त्री नै आन्दोलनमा उत्रिदा कारबाही नहुने तर आफूले समाचार शेयर गर्दा कारबाही हुने भन्दै आपत्ति जनाएकी हुन्।
यता, श्रेष्तेदार झाले रायको काम सन्तोषजनक नभएको कारण उनलाई कामबाट अवकास दिइएको बताए। झाले भने, ‘हामीले पटकपटक उनलाई कामप्रति जिम्मेवार हुन सुझाव दिएका थियौं। तर, उनको काम सन्तोषजनक नभएपछि करार थप नगर्ने निर्णय भएको हो।’
झाले भने संविधान दिवसको अवसरमा विरोधका विषयमा प्रकाशित समाचार शेयर गरेको कारण जागिर नगएको दाबी गरेका छन्।