विद्यार्थी संघद्वारा वार्ता बहिस्कार
मलंगवा : सुचनाको माग गर्दै रिले अनसनमा बसेका आन्दोलनरत राष्ट्रिय विधार्थी संघले छलफल गर्न आइतबार जिल्ला प्रशासन कार्यालयमा बोलाएको बैठक बहिष्कार गरेको छ ।
छलफल गर्नका लागि शनिवार नै प्रेस विज्ञप्ती निकाली जिल्ला प्रशासनले आन्दोलनरत पक्षलाई बोलाएको थियो । तर, आन्दोलनकारीहरुले आफूहरुमाथि दमन भएको भन्दै अन्य माग तेस्र्याएका छन् ।
सुचनाको माग गर्दै आन्दोलनमा बसेका उनीहरु वार्तामा बोलाएपछि प्रमुख जिल्ला अधिकारीले बल प्रयोग गर्न लगाएको भन्दै प्रजिअको सरुवा नभएसम्म आफुहरु बैठकमा नआउने बताएका छन् ।
प्रजिअ द्रोण पोखरेलले भने कसैले पनि आन्दोलनकारीलाई दमन नगरेको बताएका छन् । उनले प्रेस विज्ञप्ति सँगै मौखिक रुपमा पनि वार्तामा आउन आग्रह गरेको बताए ।
‘वर्तामा नआएसम्म समस्याको समाधान कसरी हुन्छ ?’, उनले भने, ‘उहाँहरुले प्रजिअले दमन गर्यो भनेर पनि कुरा झिक्नु भएको छ । तर, प्रहरीले केही पनि गरेको छैन । आन्दोलनको क्रममा कसैलाई पक्राउ गरेको भए वा कुटपिट गरेको भए दमन गरेको हो भन्न मिल्थ्यो । तर, केही पनि नगरेको अवस्थमा प्रजिअले दमन गरेको भनेर सुन्दा आश्चर्य लागेको छ ।’
साथै आन्दोलनरत पक्षले मागेको सुचना उपलब्ध गराउन कार्यालय तयार रहेको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख चेत कुमार पोखरेलले बताएका छन्।