हुलाक सेवा प्रविधिमैत्री बनाउन सुझाव
जनकपुरधाम : सुचना प्रविधिको अत्याधुनिक विकास सँगै हुलाक सेवाको प्रभाविकारिता खुम्चिँदै गएको यसबारे जानकार तथा सम्बन्धित निकायले औंल्याउन थालेका छन् ।
हुलाक सेवा आइतबार जनकपुरमा आयोजित एकदिने प्रशिक्षण कार्यक्रममा कर्मचारी तथा सम्बन्धिक निकायले आम मानिसमा यसको साख खस्कँदो भएको टिप्पणी गरेका थिए ।
जनचाहना अनुसार हुलाकको सेवा पनि प्रविधिमैत्री बनाउनुपर्ने उनीहरुको सुझाव छ । जिल्ला हुलाक कार्यालय धनुषाका निमित्त प्रमुख रामटहल यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ९ जिल्लाका हुलाक कर्मचारी सहति यससँग जानकार व्यक्ति थिए ।
पछिल्लो समय विकास भएको प्रविधिसँग हुलाक सेवालाई जोड्नु अति आवश्यक रहेकोमा उनीहरुले जोड दिए ।
कार्यक्रममा सहभागी हुलाक सेवा विभागका महानिर्देशक आनन्द राम रेग्मीले हुलाक विभागसँग जनशक्ति, भौतिक पूर्वाधार, स्रोत र सम्भावना पर्याप्त भए पनि यसको उचित रुपमा प्रयोग हुन नसक्दा सेवाप्रवाहमा पछि पर्दैगएको बताए ।
कार्यक्रममा बोल्दै गोश्वारा हुलाक कार्यालयका प्रमुख वेदप्रसाद भण्डारीले हुलाक वस्तुको अवस्थितिबारे सेवाग्राहीलाई तुरुन्त जानकारी गराउने प्रविधि नै आन्तरिक ट्रयाकिङ्ग प्रणाली रहेको बताएका थिए ।
साथै आधुनिक प्रणालीलाई स्थानीय तहसम्म पुर्याउन सकेमा हुलाक सेवालाई झनै बढी प्रभावकारी बनाउन सकिने सहभागीको भनाइ छ । देशभरी ८४२ इलाका हुलाक कार्यालय, ३ हजार ७१ अतिरिक्त हुलाक सेवा कार्यालय सञ्चालनमा छन् ।