खानेपानीको मुहान बगाएपछि दूषित पानी पिउन बाध्य
जाजरकोट : गत महिना बाढीपहिरोले खानेपानीको मुहान बगाइदिएपछि नलगाड–३ चाउलेचौरका जनकबहादुर पुनको परिवार दूषित पानी पिउन बाध्य छन्। जसकारण उनको परिवारलाई पखाला र रुघाखोकीले सताइरहेको छ।
उनीजस्तै त्यस गाउँका दर्जनौं घरपरिवार खोलाको दूषित पानी पिउँछन्। ‘धारोमा पानी आउँदैन, खोलाको पानी नखाएर के गर्नु ? ’ उनले भने, ‘पशुचौपाया र मानिसले खोलाको एउटै पानी खानुपरेको छ।’ खानेपानीको मुहान मर्मत हुन नसक्दा जाजरकोटको नलगाड नगरपालिका ३, चाँवलेचौर र सानावन गाउँमा खानेपानी अभाव भएको हो।
साउन २९ गतेको भारी वर्षापछि आएको बाढीपहिरोले गाउँमा आपूर्ति हुँदै आएका ट्यांकी र पाइपलाइन बगाउँदा स्थानीय शुद्ध पिउने पानीको सुविधाबाट वञ्चित भएका छन्। बाढीले ठूलामूल खानेपानी योजना ट्यांकी र पाइपलाइन, नयाँ खोली खानेपानी योजनाको ट्यांकी र पाइपलाइन, बगरछाना खानेपानी योजना, नहकुली सिँचाइ तथा खानेपानी योजनालगायतमा क्षति पुगेपछि चावलेचौर र सानावन गाउँका बासिन्दा र विद्यालयका बालबालिका खोलाको दूषित पानी पिउन भएका हुन्। ०४४ सालमा निर्माण भएको बगरछान खानेपानी योजना बाढीले बगाएपछि समस्या भएको स्थानीय हर्कबहादुर विष्टले बताए।
पानीको तत्काल व्यवस्था गर्न माग गरे पनि कुनै सुनुवाइ नभएको गुनासो
चाउलेचौरस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका करिब सय बालबालिका खानेपानीबाट वञ्चित भएका छन्। त्यस्तै, सानावनस्थित लालीगुराँस प्राथमिक विद्यालयका ६० बालबालिका नजिकैको खोलामा गएर पानी पिउने गर्छन्। सानावनका २३ परिवार गाउँ नजिकैको खोलाको दूषित पानी प्रयोग गर्ने गरेको स्थानीय जनकबहादुर पुनले बताए। ट्यांकी र पाइप लाइन बाढीले बगाएदेखि खोलाकै पानी खानुपरेको हो। नगरपालिका तथा जिल्ला खानेपानी कार्यालयलगायत निकायमा पानीको तत्काल व्यवस्था गर्न माग गरे पनि कुनै सुनुवाइ नभएको उनको गुनासो छ।
चावलेचौर र भदाले गाउँका सय घरपरिवार आकाशे पानी संकलन गरेर खाने गरेका छन्। पहिरोले गर्दा स्थानीय शुद्ध पिउने पानीको सुविधाबाट वञ्चित भएका हुन्। मान्छेलाई मात्र होइन, चौपायालाई पनि पानी खुवाउन समस्या भएको छ। आकाशे तथा खोलाको धमिलो पानीको भर पर्नुपरेको स्थानीय बताउँछन्। आकाशबाट पानी नपर्दा र खोलाका मूल पनि सुक्दै जान थालेपछि समस्या जटिल बन्दै गएको स्थानीय मि श्रीबहादुर पुनले बताए।
ती गाउँका धेरैजसो परिवारका सदस्यको काम दैनिक पानी ओसार्नमै बित्ने गरेको छ। पानी अभावमा गाउँका चर्पी प्रयोग गर्न समस्या भएको छ। स्थानीय खोला खोल्सामा, जंगल खुला स्थानमा दिसापिसाब गर्ने गरेका छन्। अधिकांश बालबालिकाको समय पनि पानी ओसार्नमै बित्ने गरेको छ।