‘ग्रासरुट’ फुटबलप्रति आकर्षण बढ्दो

‘ग्रासरुट’ फुटबलप्रति आकर्षण बढ्दो

सिमरा : नेपाली फुटबलको विकासका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले सुरु गरेको ‘ग्रासरुट’ फुटबलमा बालबालिकाको रुचि बढ्न थालेको छ।जिल्ला फुटबल संघ बाराले सिमरामा सञ्चालन गरिरहेको अभ्यास चरणको दोस्रो हप्तामै विद्यालयका बालबालिकाले उत्साहजनक सहभागिता जनाएका छन्।

सिमरा रंगशालामा शनिबार बिहान झन्डै दुई सय बालबालिका उपस्थित भएपछि संघका पदाधिकारीसमेत उत्साहित देखिन्थे। रंगशालामा बालबालिका मात्र नभई उनका अभिभावकसमेत उपस्थित थिए।

आफ्ना सन्तानलाई लिएर रंगशाला पुगेका अभिभावकले फुटबल अभ्यासमा बालबालिकाको हौसला बढाएको दृश्य हेर्न लायक थियो। सिमराका वीरेन्द्र वाइवाले एन्फाको कार्यक्रमले फुटबलको विकाससँगै साना बालबालिकालाई स्वस्थ र कुलतबाट मुक्त राख्न महत्वपूर्ण भूमिका खेल्ने बताए। ‘यो कार्यक्रमले भविष्यमा राम्रा खेलाडी उत्पादन हुनेछ र नेपाली फुटबलको विकासमा पनि सहयोग पुग्नेछ’ वाइवाले भने ‘अहिलेको अवस्थामा बालबालिकालाई पढाइसँगै खेलकुदमा व्यस्त गराउनेछ। जसले उनीहरूलाई स्वस्थ राख्नुका साथै कुलतबाट टाढा राख्नेछ।’

स्कुले बालबालिकालाई फुटबलमा सहभागी गराउने र दक्ष खेलाडी उत्पादन गर्ने एन्फाको चारवर्षे यो कार्यक्रममा बाराका १६ विद्यालयका झन्डै दुई सय बालबालिका सहभागी भएका छन्। ग्रासरुट फुटबल कार्यक्रमका संयोजक एवम् जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष रामचन्द्र लामाले सोचेभन्दा बढी बालबालिकाको सहभागिताले उत्साहित बनाएको बताए।

‘सुरुआती दिनमा यो कार्यक्रमको उद्देश्य बुझाउन हामीलाई केही समय लाग्यो। विद्यालय र अभिभावकलाई भेटेर कार्यक्रमका बारेमा बुझायौं’ संयोजक लामाले भने ‘अहिले अभिभावक आफैंले छोराछोरी लिएर आइरहनुभएको छ। अभिभावक र शिक्षकको साथले हामी उत्साहित छौं।’

ग्रासरुट फुटबलको अभ्यासमा अहिले आठदेखि १३ वर्षसम्मका बालबालिकालाई सहभागी गराइएको लामाले बताए। चार वर्षसम्म सञ्चालन हुने कार्यक्रमको अहिले अभ्यास भइरहेको र औपचारिक रूपमा उद्घाटन गर्न बाँकी रहेको उनले बताए। लामाले ग्रासरुट फुटबलको औपचारिक उद्घाटनका लागि सहभागी बालबालिकालाई विशेष अभ्यास गराइरहेको जानकारी दिए। ‘अहिले अभ्यासका क्रममा छौं। उद्घाटन कार्यक्रममै केही सन्देश दिने हिसाबले हामी अघि बढिरहेका छौ’ लामाले भने।

ग्रासरुट फुटबलको प्रशिक्षणका लागि जिल्ला फुटबल संघले कृष्णमणि चौधरीलाई प्रशिक्षक तोकेको छ। चौधरीसहित जिल्ला फुटबल संघका १० जना भन्दा बढी प्राविधिकले अभ्यास गराइरहेका छन्। कार्यक्रमको औपचारिक सुरुआतपछि प्रत्येक विद्यालयमा ६ दिनसम्म प्रशिक्षक पुगेर प्रशिक्षण गराउने र सातौं दिन सिमरा रंगशालामा लिग सञ्चालन गर्ने योजना रहेको प्रशिक्षक चौधरीले बताए।

एन्फाले यो कार्यक्रम सञ्चालन गर्नका लागि यस वर्ष पाँच लाख बजेट उपलब्ध गराएको छ। एन्फाले पठाएको बजेटबाट सिमरा रंगशालामा दुईवटा चेन्जिङ रुम बनाएको लामाले बताए। चारवर्षे कार्यक्रम अघि बढाउन पूर्वाधार अति आवश्यक रहेकाले त्यसका लागि चेन्जिङ रुम बनाइएको लामा बताए।

फुटबलको उर्वरभूमिको रूपमा रहेको जिल्लाको उत्तरी क्षेत्रमा टेक्निकल सेन्टर अति आवश्यक रहेकाले एन्फासँग पहल भइरहेको लामाले बताए। ‘पछिल्लो समय सिमरा फुटबलको उर्वरभूमिको रूपमा अघि बढिरहेको छ’ लामाले भने ‘यहाँ फुटबलको टेक्निकल सेन्टर सञ्चालन हुन सके दक्ष खेलाडी उत्पादन हुनेछन् र नेपाली फुटबलको विकासमा पनि ठूलो सहयोग पुग्नेछ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.