बैंकको जागिरः सुरक्षित र आकर्षक

बैंकको जागिरः सुरक्षित र आकर्षक

जागिरपछि उपदान र सामाजिक सुरक्षा पाउने भएकाले पनि सरकारी बैंक अहिलेसम्म अब्बल मानिएको हो।


वाणिज्य बैंकहरूमा पहिलो महिला प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्ने अवसर पाएकी अनुपमा खुञ्जालीले २७ वर्षअघि बैंकिङ करियर सुरु गरेकी हुन्। ग्रिन्डलेज बैंकको ट्रेनी असिस्टेन्टबाट उनको बैंकिङ करिअर सुरु भएको हो। सुपरभाइजर हुँदै तत्कालीन ग्रिन्डलेज (स्टान्डर्ड चार्टर्ड) बैंकमा १३ वर्ष काम गरिन्। सन् २००४ मा म्यानेजर हुँदा स्टान्डर्ड चार्टर्ड छाडेर नबिलमा बैंकमा सिनियर म्यानेजरको रूपमा प्रवेश गरिन्।

नबिलमा ६ वर्ष काम गरेपछि सन् २०१० मा मेगा बैंकमा डीजीएममा प्रवेश गरेकी उनी गत वैशाखदेखि मेगा बैंकमा प्रमुख कार्यकारी अधिकृतको भूमिकामा छिन्। उनले भनिन्, ‘बैकिङ क्षेत्र सुरक्षित र आकर्षक पेसा हो।’

केही समयअघिसम्म बैंक तथा वित्तीय क्षेत्र साँघुरो भएकाले अवसर थिए। अहिले वित्त बजार फराकिलो भएको छ। त्यसैले बैंकिङ करिअरमा अवसर बढ्दो छ। ‘बैंकमा कारोबार गर्न जाँदा मान्छे चाहिएको थाहा पाएर जागिरमा प्रवेश गरेको हुँ’, खुञ्जालीले भनिन्, ‘अहिले जस्तो पहिला पेपरमा जागिरका लागि विज्ञापन हँदैनथियो।’

फाइनान्स, म्यानेजमेन्ट, मार्केटिङ तथा इकोनोमी विषय लिएर पढ्ने विद्यार्थीलाई बैंकमा अझ बढी अवसर भएको उनको भनाइ छ। आकर्षक तलब, बोनस, कार्य सम्पादनको आधारमा प्रमोसन हुने भएकाले पनि बैंकिङ क्षेत्र राम्रो मानिएको हो। अझै महिलाका लागि त यो पेसा अझ आकर्षक मानिन्छ। मेगा बैंकमा ६० प्रतिशत महिला कर्मचारी भएको उनले बताइन्।

०००

ललितपुर सेतीपाखाकी रीमा रोक्का हालै सिटिजन इन्टरनेसनल बैंकमा ट्रेनी असिस्टेन्ट पदमा जागिरका लागि परीक्षा दिएकी छिन्। म्यानेजमन्ट विषयमा ग्य्राजुएट उनले टाईसुटमा सजिएको दैनिकी, आकर्षक सेवासुविधा र सुरक्षित भविष्य देखर बैंकमा भविष्यको खोजी गर्दैछिन्। बैंकिङ क्षेत्रमा राम्रो देखेर नै अहिलेका युवा पिँढी बैंकमा करिअर बनाउन अब्बल मानिने विज्ञान विषयलाई पछि धकेलेर म्यानेजमेन्ट पढेर बैंकमा प्रवेश गर्न खोजिरहेका छन्।

पछि बैंकर बनी भविष्य सुरक्षित गर्ने लक्ष्यसहित रोक्काले म्यानेजमेन्ट विषय छानेकी हुन्। रोक्का जस्तै धेरै युवा अहिले बैंकको जागिरको अवसर खोज्न प्रयासरत छन्। बैंक तथा वित्तीय संस्थामा प्रवेश गर्नेबित्तिकै आर्थिक हैसियत उकासिने भएकाले पनि यसको आकर्षण अझ बढ्दो छ। अन्य पेसा तथा व्यवसायका तुलनामा बैंकको जागिर सानै पद भए पनि जीवनयापन गर्न थप संघर्ष गर्नु नपर्ने बैंकका जागिरेहरूको अनुभव छ।

राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठका अनुसार निजी बैंकभन्दा सरकारी बैंकमा जागिरको लागि बढी प्रतिस्पर्धा हुने गरेको छ। सेवा सुविधाका हिसाबले सरकारी बैंकमा तल्लो र माथिल्लो तहमा खासै अन्तर नभए पनि सरकारी बैंकमा जागिरका लागि अवसर खोज्ने धेरै छन्’, उनले भने, ‘निजी बैंकमा तलब स्केलमा तल्लो र माथिल्लो तहमा धेरै भिन्नता छ।’ ‘सरकारी बैंकको परीक्षा पनि लोकसेवाले लिन्छ। ४०÷५० जनाको सिटमा ४० हजारभन्दा बढीले आवेदन दिन्छन्।

देशमा जतिसुकै निजी बैंक खुले पनि अहिलेसम्म सरकारी बैंकको आकर्षण हराउन नसकेको सीईओ श्रेष्ठले बताए। जागिर पछि उपदान र सामाजिक सुरक्षा पाउने भएकाले पनि सरकारी बैंक अहिलेसम्म अब्बल मानिएको हो। सरकारी बैंक मूलतः सरकारी कानुन तथा नियमानुसार चल्ने भएकाले पारदर्शी हुनुका साथै सुरक्षित हुने श्रेष्ठले बताए।

बैंकको जागिर सानै पद भए पनि दुई चार लाख जोगाउन सकिने क्षेत्र हो। बाहिरी आकर्षण त छ नै, त्यसमा पनि जिम्मेवार, लगनशील क्षेत्र हो बैंकिङ। यस क्षेत्रमा लाग्नेको परिवारको समेत भविष्य सुरक्षित हुने भएकाले यसको आकर्षण अझ बढेको हो। एउटा सानो पदबाट बैंकिङ क्षेत्रमा प्रवेश गरियो भने पनि अवकाश पाउने समयसम्म बैंकको दोस्रो तथा तेस्रो पोजिसनमा पुग्ने बैंकर्सहरू बताउँछन्। बैंकिङसम्बन्धी पढेका तथा यससम्बन्धी ज्ञान हासिल गरेका नयाँ पुस्ताको लागि यस क्षेत्रमा अवसरै अवसर भएको उनले बताए।

सरकारी बैंकभन्दा पनि बैंकिङ क्षेत्रमा करियर बनाउनेका लागि राष्ट्र बैंकको अझ बढी आकर्षण देखिन्छ। समयसमयमा विदेशमा दिइने विभिन्न तालिम, आकर्षक तलब र भत्ताका कारण बैंकिङ क्षेत्रमा करियर बनाउन चाहने हरेक व्यक्तिको राष्ट्र बैंकमा जागिर खाने सपना हुने राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताए।

लाजिम्पाटकी रूपेश खड्काले म्यानेजमेन्ट इन् बिजनेस स्टडी (एमबीए) सकेपछि बैंकमा अधिकृत स्तरको जागिर गरे। ‘बैंकिङ क्षेत्र ग्ल्यामर र मर्यादित क्षेत्र भएकाले लागेको हुँ’, रूपेशले भने।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरू विस्तार भइरहेका छन्। गाउँगाउँसम्म यसका सेवा पुग्दैछन्। यसको विस्तारसँगै यसमा करियर बनाउनेको संख्या पनि बढ्दो छ। नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाका अनुसार बैंक तथा वित्तीय संस्थामा करिब ६० हजारले रोजगारी पाएका छन्।

सरकारको सबै स्थानीय तहमा बैंक विस्तार गर्नै लक्ष्य अनुरूप अहिलेसम्म ६ सय ६६ स्थानीय तहमा बैंक शाखा पुगेका छन्। देशभर गरेर वाणिज्य बैंकको शाखामात्रै असार मसान्तसम्म तीन हजार २३ रहेको छ। बिजनेस र बैंक शाखा सञ्चालन हुने स्थानको आधारमा बैंक कर्मचारी तय हुने ढुंगानाले बताए। त्यसमा विकास बैंक वित्त कम्पनी तथा माइक्रो फाइनान्ससम्म थप्दा वित्तीय क्षेत्रमा ७० हजारभन्दा बढीले रोजगारी पाएको हुन सक्ने बैंकर्सहरूको भनाइ छ।

बैंकिङ क्षेत्रमा करियर बनाउन चाहनेका लागि विभिन्न तालिम केन्द्रहरू स्थापना भएका छन्। राष्ट्र बैंक र बैंकर्स मिलेर करिब ६ वर्षअघि नेसनल बैंकिङ इन्स्टिच्युट स्थापना भएको छ भने अन्य एक दर्जन संस्थाले यससम्बन्धी तालिम सञ्चालन गरिरहेका छन्। ट्रेनी असिस्टेन्टदेखि म्यानेजर लेभलसम्म दिइने यस्ता तालिमले बैंकिङ क्षेत्रमा लाग्ने नवप्रवेशी लागि फलदायी हुने बताइएको छ। नेसनल बैंकिङ इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बाका अनुसार अहिले बैंकमा प्रवेश गरेका प्रशिक्षार्थीलाई तीनदेखि सात दिनसम्मको बैंकको प्रस्तावमा तालिम दिने गरेको छ। अहिले इन्स्टिच्युटले वार्षिक करिब १७ हजार जतिलाई तालिम दिँदै आएको छ।

यसबाहेक बैंकमा प्रवेश गर्न चाहनेलाई इन्स्टिच्युटले अन्तर्राष्ट्रिय मापदण्डको तीनमहिने कोर्स सञ्चालन गर्दैछ। यो कोर्स पूरा गरिसकेपछि बैंकमा नयाँ जागिरेहरूले बैंकिङ प्रणालीअनुसारको प्राविधिक, कानुनी हिसाबले समेत सक्षम भएर गुणस्तरीय काम गर्न सक्छन्। साथै, इन्स्टिच्युटले नयाँ प्रवेश गर्न चाहनेका लागि आउँदो जनवरीदेखि काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टको सहकार्यमा एकवर्षे ‘पोस्ट ग्य्राजुएट डिप्लोमा इन् बैंक म्यानेजमेन्ट’ ल्याउन लागेको सीईओ सुब्बाले बताए। यसमा बैंकिङ क्षेत्रको सैद्धान्तिक र व्यावहारिक पक्ष दुवैको पढाइ हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.