लगानी जुटाउन गण्डकीका मुख्यमन्त्री चीनतिर
पोखरा : चीनको हाइनान प्रान्तको ‘राष्ट्रिय दिवस’ मा प्रमुख अतिथिको निम्तो मान्न गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ साता दिन लामो भ्रमणका लागि सोमबार पोखराबाट हिँडेका छन् । मंगलबार काठमाडौंबाट उड्ने उनी १५ असोजमा फर्कने कार्यक्रम छ ।
माओपछिका चिनियाँ नेता देङ साओपिङले खुला अर्थतन्त्रको बाटो लिएपश्चात ‘विकास र समृद्धि’ मा प्रगति गरेको हाइनानको विशेष आर्थिक क्षेत्रसमेत घुम्ने र पर्यटन, उद्योग र प्राविधिक शिक्षामा चिनिया मोडल सिक्ने उद्देश्यसहित मुख्यमन्त्री भ्रमणमा निस्केका हुन् ।
संघीय शासन व्यवस्था सुरु भएयता विदेश भ्रमणमा जाने गुरुङ पहिलो मुख्यमन्त्री भएका छन् । यसअघि २ नम्बर प्रदेशका मुख्यमन्त्री अमेरिकाका नेपालीले डाकेको कार्यक्रममा जान इच्छुक हुँदा संघ सरकारले रोकेको थियो ।
यात्रामा निस्कन लाग्दा सोमबार पोखरा विमानस्थलमा मुख्यमन्त्री गुरुङले आफ्नो भ्रमणबारे प्रदेशका जनतालाई जानकारी दिनु उचित भएको भन्दै पत्रकारहरुलाई सम्बोधन गरे ।
‘कृषिको कुरा गर्छाैं, पर्यटनको कुरा गर्छौँ हाइड्रो र सोलारमा पनि हामी छलफल गर्छाैं, उनीहरुले लगानी गर्ने कुरामा चासो देखाएका छन्’, मुख्यमन्त्रीले भने । विशेष आर्थिक क्षेत्र के कसरी बनाउन सकिन्छ भन्नेबारे पनि अध्ययन गर्ने उनले बताए ।
होमस्टे र ग्रामीण पर्यटनमा हाइनानको अध्ययन गर्ने जानकारी मुख्यमन्त्री गुरुङले दिए । ‘हाइनान र गण्डकी प्रदेशबीच मितेरी सम्बन्ध तथा पोखरा महानगर र हाइनानको हाइकावो महानगरबीच भगिनी सम्बन्ध गाँस्ने भनेका छौं’, उनले भने, ‘तर त्यो पोखरामै गर्ने हो ।’
प्रदेशमा प्राविधिक विश्वविद्यालय खोल्ने विषयमा छलफल गर्ने उनको अर्काे योजना छ । ‘उहाँहरुले एमओयु गरौं भन्नुभाछ, तर हामीले पोखरामै गरौं भनेका छौं’, मुख्यमन्त्री गुरुङले भने । आउँदो नोभेम्बरमा हाइनानका गभर्नरलाई पोखरा डाक्ने र त्यसै बेला समझदारी गर्ने जानकारी पनि मुख्यमन्त्री गुरुङले दिए ।
गण्डकी सरकारले पोखरामा निर्माण गर्ने भनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पनि चिनियाँ चासो रहेको उनले बताए । ‘स्रोतको तरिका र लगानी विधि के हुन्छ छलफल हुन बाँकी छ, तर लगानी गर्ने कुरा भइराखेको छ’, मुख्यमन्त्री गुरुङले भने । एसियाली राजनीतिक बोआओ सम्मेलन हाइनान प्रान्तमै हुँदै आएको पनि उनले सुनाए ।
ऋण वा सहयोग लिँदा गण्डकी हित र स्वार्थ हेरेरमात्रै लिने मुख्यमन्त्रीले बताए । ‘हाम्रो विकासको लक्ष्य पूरा हुने र जनताको सेवा हुने खालको मात्रै लिने हो’, उनले भने, ‘हामीले हेक्का राख्नुपर्ने र हौसिन नहुने कुरा के छ भने विदेशको मान्छेले लगानी गर्दा आफ्नो फाइदा नभई गर्दैन । त्यसभित्र हामीले हाम्रो फाइदा के हुन्छ भनेर खोज्ने हो ।’
उनले सहयोग माग्नेभन्दा पनि लगानी भिœयाउने आफ्नो चाहना भएको बताए । ‘हाम्रो प्राथमिकता हाइड्रोमा छ, टुरिजमा छ, भोकेसनल युनिभर्सिटीमा छ भन्ने हो’, उनले भने, ‘यति चाहियो भन्दैनौं, अनुदान लिनुपर्यो भने पनि हाम्रो प्राथमिकताको क्षेत्रमा लिन्छौं ।’
मुख्यमन्त्रीसँगै भ्रमणमा प्रदेश सरकारका प्रमुख सचिव लक्ष्मीराम पौडेल, मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरे, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरिधारी शर्मा र पर्यटनकर्मी लगायत छन् ।