ला लिगामा मेसीको अर्को कीर्तिमान

ला लिगामा मेसीको अर्को कीर्तिमान

म्याड्रिड : स्पेनिस घरेलु लिग फुटबलमा लियोनल मेसीले कीर्तिमानी खेल खेल्दा  ।ले सिजनको पहिलो बराबरी नतिजा बेहोरेको छ। बार्सिलोना आइतबार राति गिरोनाविरुद्ध मैदानमा उत्रँदा मेसीले स्पेनिस ला लिगाको सबैभन्दा बढी खेल खेल्ने गैरस्पेनी खेलाडीको कीर्तिमान आफ्नो नाममा बनाए। यद्यपि उनी यही खेलमा टोलीलाई विजयी बनाउन भने असफल रहे।

बार्सिलोना गिरोनासँग २–२ गोलको बराबरीमा रोकिन पुग्यो। युरोपेली च्याम्पियन्स लिगको समूहगत चरणको पहिलो खेलसँगै सिजनको सुरुआती चार खेलमा लगातार जित हात पारेको बार्सिलोनाले आइतबार पहिलो पटक बराबरीको नतिजा बेहोरेको हो। स्पेनिस ला लिगाका सर्वाधिक गोलकर्ता मेसीले नयाँ कीर्तिमानका लागि ब्राजिलियन रक्षक डानी अल्भेसलाई पछि पारे। मेसीले आइतबार स्पेनिस ला लिगामा आफ्नो चार सय २३औं खेल खेले।

उनीभन्दा अघि यो कीर्तिमान कायम गरेका अल्भेसले चार सय २२ खेल खेलेका थिए। घरेलु मैदान क्याम्प नाउँमा भएको खेलमा उनै मेसीले बार्सिलोनालाई १–० ले अघि बढाएका थिए। खेलको १९औं मिनेटमा अर्तुरो भिदालले क्रस गरेको बललाई गोलमा परिणत गर्दै मेसीले बार्सिलोनालाई १–० ले अघि बढाएका थिए। यद्यपि खेलको ३५औं मिनेटमा रक्षक क्लिमेन्ट लेङ्गलेटले रातो कार्डमा मैदान छाड्दा बार्सिलोना १० जनामा सीमित हुन पुग्यो। गिरोनाका पेरी पोन्सको अनुहारमा कुहिनाले प्रहार गरेपछि रेफ्री गिल माञ्जानोले लेङ्गलेटलाई सीधै रातो कार्ड देखाएका थिए।

त्यसपछि स्ट्राइकर क्रिस्टियन सुआनीको लगातार दुई गोलमा पाहुना टोली गिरोनाले २–१ को अग्रता बनायो। सुआनीले खेलको ४५औं र ५१औं मिनेटमा टोलीका लागि गोल गरेका थिए। यद्यपि खेलको ६३औं मिनेटमा रक्षक जेरार्ड पिकेले गोल गर्दा बार्सिलोना पराजयबाट भने जोगिएको थियो। बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भालभर्दीले लेङ्गलेटले रातो कार्ड पाउँदा अंक बाँड्नु परेको प्रतिक्रिया दिए। ‘यो स्पष्ट देखिएको छ, लेङ्गलेटले रातो कार्ड पाएपछि यो सिजनको खेलमा पहिलो पटक बराबरीमा रोकिनु परेको छ’, प्रशिक्षक भालभर्दीले भने।

लेङ्गलेटले रातो कार्ड पाएपछि प्रशिक्षक भालभर्दीले मैदान बाहिरै रहेका आफ्ना मुख्य रक्षक सामुइल उम्टिटीलाई चाँडै नै मैदानमा नपठाउनु पनि घातक बन्यो।

त्यसकै फाइदा उठाउँदै सुआनीले गिरोनाका लागि लगातार दुई गोल गरेका थिए। बराबरीको नतिजासँगै स्पेनिस ला लिगा अंकतालिकामा बार्सिलोना र रियल म्याड्रिडको १३÷१३ अंक भएको छ। गोलअन्तरको आधार भने बार्सिलोना अझै शीर्ष स्थानमा आसीछ।

आइतबार नै भएका अन्य खेलमा विसाम बेन येड्डेरले ह्याट्रिक गोल गर्दा सेभिलले लेभान्तेविरुद्ध ६–२ गोलको भारी अन्तरमा जित हात पारेको छ। त्यसबाहेक सिजनको पहिलो जितको खोजीमा रहेको भ्यालेन्सिया आइतबार पनि असफल भयो। भ्यालेन्सिया भिल्लारियलसँग गोलरहित बराबरीमा रोकिएको हो। यस्तै रियल बेटिसले पनि एथलेटिक बिलबाओलाई २–२ गोलको बराबरीमा रोकेको छ। बेटिसले दुई गोलले पछि परेको अवस्थाबाट फर्केर बिलबाओसँग अंक खोस्न सफल भएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.