एन्फा नेतृत्वमाथि गम्भीर आरोप

एन्फा नेतृत्वमाथि गम्भीर आरोप

काठमाडौं : नयाँ नेतृत्वले अखिल नेपाल फुटबल संघ (एन्फा) को जिम्मेवारी सम्हालेको पाँच महिना पनि बित्न नपाउँदै पूर्ववरिष्ठ उपाध्यक्ष मणि कुँवरले बुँदागत रूपमै विभिन्न ६ वटा विषयमा गम्भीर आरोप लगाउँदै वर्तमान कार्यसमितिका पदाधिकारीमाथि छानबिन र कारबाहीको माग राखेका छन्। 

दक्षिण एसियाली फुटबल महासंघका उपाध्यक्षसमेत रहेका कुँवरले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी सार्वजनिक रूपमै एन्फाका पदाधिकारीमाथि निर्वाचन कमिटीका सदस्यलाई ज्यान मार्ने धम्की दिएकोदेखि लिएर मतदातालाई पैसा बाँडेर चुनाव जितेकोसम्मका संगीन आरोप लगाए।

उनले एन्फा पदाधिकारीमाथि लगाइएका हरेक आरोपलाई पुष्टि गर्न आफूसँग पर्याप्त प्रमाण रहेको दाबी पनि गरेका छन्। गत वैशाख २२ गते काठमाडौंमा भएको एन्फाको निर्वाचनका क्रममा वर्तमान पदाधिकारीहरूले नतिजा आफ्नो पक्षमा पार्न निर्वाचन कमिटीका सदस्य र मतदातालाई धम्क्याउनेदेखि लिएर आर्थिक प्रलोभनमा पार्नेसम्मका काम गरेको कुँवरको आरोप छ। ‘मैले निराधार रूपमा कसैमाथि आरोप लगाएको होइन। मसँग प्रत्येक आरोपलाई पुष्टि गर्ने प्रमाणहरू छन्’, कुँवरको दाबी छ।

यद्यपि, आफूसँग भएका प्रमाण अहिले नै सार्वजनिक गर्दा ‘अर्को पक्ष’ बाट चलखेल हुन सक्ने कारण देखाउँदै उनले आफ्ना आरोपलाई पुष्टि गर्ने कुनै पनि प्रमाण सञ्चारकर्मीलाई उपलब्ध गराएनन्। ‘मैले लगाएका आरोपहरू गलत सावित भए म जस्तोसुकै सजाय भोग्न पनि तयार छु’, कार्यक्रममा कुँवरले भने, ‘मसँग भएका प्रमाणहरू अहिले नै सार्वजनिक गर्दा ती प्रमाण नष्ट गरिने सम्भावना भएकाले यस विषयमा गम्भीर बनेको हुँ।’

एन्फाको गत वैशाखमा सम्पन्न निर्वाचनले कर्माछिरिङ शेर्पाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो। निर्वाचनमा शेर्पासँगै कुँवरले पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए। तर, अन्तिम समयमा आएर निर्वाचन निष्पक्ष हुने संकेत नदेखिएको भन्दै चुनावी कार्यक्रममा समेत भाग नलिने घोषणा गरेका थिए। त्यतिबेला पनि उनले पत्रकार सम्मेलन गरी निर्वाचनका क्रममा एन्फाको विधानविपरीत विभिन्न गतिविधि र मतदातालाई प्रभावित पार्न व्यापक आर्थिक चलखेल भएको आरोप लगाएका थिए।

‘निर्वाचनकै क्रममा मलाई फिफा र एएफसीको कोड अफ इथिक्स विपरीतका कामहरू भइरहेको जानकारी रहे पनि प्रमाण थिएन तर, अहिले मसँग आफ्ना आरोपलाई पुष्टि गर्ने पर्याप्त प्रमाण छन्’, सोमबार आयोजित पत्रकार सम्मेलनमा कुँवरले भने, ‘यी सबै गतिविधिमा एन्फाका वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र नवीन पाण्डेलगायत थुप्रै पदाधिकारीको प्रत्यक्ष संलग्नता रहेको छ।’

आफूसँग भएका प्रमाणहरू संलग्न गरी एन्फामा भएका सबै गलत कार्यहरूको फेहरिस्त अगस्ट ८ तारिखमै फिफा र एएफसीमा समेत पठाइसकेको जानकारी पनि कुँवरले दिए। फिफा र एएफसीले पनि आवश्यक छानबिनका लागि आफ्नो इथिक्स कमिटीलाई निर्देशन दिइएसकेको जानकारी आफूलाई प्राप्त भएको उनले बताए। एन्फामा भएका गलत कामहरूको विषयमा यसअघि आफूले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा समेत ज्ञापनपत्र बुझाए पनि हालसम्म कुनै सुनुवाइ नभएको कुँवरको आरोप छ।

‘यसअघि पनि मैले जिम्मेवार निकायमा विज्ञप्ति बुझाएको थिएँ तर, अझै जवाफ आएको छैन। विदेशी नागरिक नवीन पाण्डेलाई फिफा कंग्रेसमा नेपालको प्रतिनिधिका रूपमा कसरी पठाइयो, रूस विश्वकपका लागि फिफा टिकट कसरी खरिद गरियो र कुन मापदण्डअनुसार वितरण गरियो भन्ने विषयमा मन्त्रालय र खेलकुद परिषद्को स्पष्ट धारणा सार्वजनिक हुनुपर्छ’, कुँवरले भने। पत्रकार सम्मेलनमा विभिन्न जिल्ला फुटबल संघ र क्लबका पदाधिकारी पनि उपस्थित थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.