दुई महिनामा हत्याका पाँच घटना

दुई महिनामा हत्याका पाँच घटना

सिरहा : गत साउन र भदौ दुई महिनामा सिरहामा हत्याका पाँच घटना भएका छन्। दुई जनाले बुवा र एक महिलाले सामान्य विवादमा सौतेलो छोरोको हत्या गरेका छन्। यो अवधिमा जग्गाको अंश मुद्दा लडिरहेकी एक महिलाको आफन्तबाट हत्या भएको छ भन्ने पछिल्लो एक हत्या घटनाको कारण खुलेको छैन।

कर्जन्हा नगरपालिका–३ की ३० वर्षीया कौशिल्यदेवी सदायले साउन २२ गते सौतेलो छोरो ९ वर्षीय अभिषेक सदायको घाँटी थिचेर हत्या गरेकी थिइन्। प्रहरीले कौशिल्यलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ।

गोलबजार नगरपालिका–१० की कारीदेवी यादवलाई गत साउन २५ गते घरबाटै बेपत्ता गरी उनको हत्या भएको थियो। उनको हत्या जेठाजु रामदेव यादव र भतिज लक्ष्मण यादवले गरेको आरोप स्थानीयले लगाएका थिए। स्थानीयले रामदेव र लक्ष्मणलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए। कारीदेवीको शव पनि स्थानीयले नै १६ दिनपछि फेला पारेका थिए। प्रहरी भने हत्यारा को हो भनेर निष्कर्षमा पुगिनसकेको जनाइएको छ।

स्थानीयले बुझाएकै दुवै जनामाथि प्रहरीले ज्यान मुद्दा भने चलाएको छ। रामदेव र लक्ष्मणको बयानका आधारमा थप अशोक यादवलाई प्रहरीले पक्राउ गरेको छ। स्थानीयका अनुसार रामदेव र कारीदेवीबीच अंश मुद्दा चल्दै थियो। कारीदेवीको हत्यामा संलग्न दोषीलाई पक्राउ गर्न प्रहरीले चासो नलिएको भन्दै स्थानीय आन्दोलितसमेत भएका थिए।

भदौ ८ गते लहान नगरपालिका–१५ मोहनपुरमा रक्सी खाएका बाबु र छोराबीच भनाभन भयो। सञ्जय सदायले बुवा दिलीपलाई बाँसको भाटाले हिर्काए। घाइते दिलीपको उपचारका क्रममा ज्यान गयो। प्रहरीले अभियुक्त सञ्जयलाई पक्राउ गरेको छ। छोराबुहारीले सामान्य विवादमै साउन २० गते लहान नगरपालिका–४ का अताबुल अन्सारीको पनि हत्या गरेको इलाका प्रहरी लहानले जनाएको छ। प्रहरीका अनुसार अन्सारीका छोरा कलाम अन्सारी र बुहारी रिजो खातुन फरार छन्।

यसैगरी भदौ ३१ गते गोलबजार नगरपालिका–३ का हेमबहादुर ब्लोन तामाङको पनि घरमा सुतिरहेकै अवस्थामा हत्या भएको थियो। घटनाको डेढ साता बित्दा पनि प्रहरीले उनको हत्यामा संलग्न दोषी पत्ता लगाउन नसकेपछि स्थानीय आन्दोलित भएका छन्। उनीहरूले स्थानीय प्रहरी कार्यालय घेराउदेखि प्रहरी प्रमुख र स्थानीय सरकारका प्रमुखलाई विज्ञप्ति बुझाएका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी माधवराज खरेलका अनुसार हत्या घटनामा प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान थालेको छ। परिणाम नआएसम्म प्रहरीले के गरिरहेको छ भन्न नमिल्ने उनको भनाइ छ। शंका लागेका व्यक्तिलाई प्रहरी कार्यालयमा झिकाएर सोधपुछ गरिरहेको उनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.