नागरिकता लिन दुई दिन पैदल
मुगु : जिल्लाका चार स्थानीय निकायमध्ये तीन गाउँपालिकाका स्थानीयको नागरिकता बनाउन दुई दिन हिँडेर जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता छ। गाउँपालिकाबाट जिल्ला सदरमुकाम गमगढीमा दुई दिन पैदल हिँडेर आउनुपरेपछि सिंहदरबारको अधिकार सदरमुकाममै सीमित रहेको बताउने गरेका हुन्।
छायानाथ रारा नगरपालिकामा जिल्लाका सबै सरकारी कार्यालय छन्। अन्य तीन गाउँपालिकामध्ये सोरु गाउँपालिकामा तीन वर्षअघि इलाका प्रशासन कार्यालय स्थापन भएको थियो। ६ महिनासम्म इलाका कार्यालयबाट स्थानीयले नागरिकतालगायत सेवा पाए पनि ६ महिनापछि कार्यालय बन्द भएपछि सोरु गाउँपालिकाको इलाका प्रशासन कार्यालय बन्द छ। खत्याड र मुगु कार्मारोङ गाउँपालिकामा अहिलेसम्म इलाका कार्यालय स्थापना हुन सकेको छैन। त्यहाँका स्थानीय पनि नागरिकता बनाउन दुई दिन हिँडेर सदरमुकाम गमगढी आउने गरेका छन्।
सोरु गाउँपालिका–३ का प्रेम शाही छोरीको नागरिकता बनाउन दुई दिन लगाएर सदरमुकाम गमगढी पुगे। नागरिकता एक दिनमै बन्यो तर आउन–जान चार दिन लाग्यो। उनले सिंहदरबारको अधिकार गाउँमा भनेको सुने पनि अधिकार सदरमुकाममै सीमित भएको बताए।
नागरिकता मात्र नभई, मालपोत र नापीको काम गर्न पनि उत्तिकै समय लाग्छ। गाउँमै यी सबै सुविधा भए सदरमुकाम धाउनु नपर्ने सोरु गाउँपालिका–१ का सर्प योगी बताउँछन्।
एक शाखा अधिकृत, दुई सुब्बा, एक खरिदार, एक कम्प्युटर अपरेटर र दुई जना कार्यालय सहयोगीको दरबन्दी रहेको इलाका प्रशासन कार्यालय सोरुका सबै कर्मचारी सरुवा गरेर अन्यत्र जिल्ला पुगेका छन्। इलाका कार्यालय सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयबाट पठाउन आवश्यक कर्मचारी नै छैनन्।
आवश्यक कर्मचारीका लागि गृह र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जानकारी गराए पनि मन्त्रालयले कर्मचारी व्यवस्थापन नगर्दा समस्या भएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए। स्थानीय निकाय गाउँमा पुगे पनि नागरिकता बनाउकै लागि अझै जनता सदरमुकाममै पुग्नुपर्ने बाध्यताले सरकारप्रति जनताको विश्वास गुम्दै गएको सोरु गाउँपालिकाका अध्यक्ष लोकजंग शाही बताउँछन्।