दसैंको मुखमा खाद्यसंकट
जाजरकोट : नेपालीको महान् चाड बडादसैं आउन केही दिन मात्र बाँकी रहँदा जाजरकोटको बारेकोटमा भने खाद्यसंकट चुलिँदै गएको छ। बारेकोटवासी यतिबेला कसरी पेट भर्ने भन्ने पिरलोमा छन्। असिनापानीले हिउँदेबाली नष्ट गरिदिएपछि खाद्यसंकट परेको गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहले बताए।
वैशाखमा परेको असिनापानीले किसानले बारीमा लगाएको गहुँ र जौ बालीको बीउ नै नरहने गरी नष्ट गरिदिएपछि बारेकोटवासी दुई महिनादेखि खाद्यसंकट झेल्दै आएका छन्। असिना पीडित किसानलाई निःशुल्क उपलब्ध गराउने गरी ५ हजार क्विन्टल चामल पठाउन सरकारसँग माग गरेको तीन महिना बितिसक्दा पनि सुनुवाइ नभएको अध्यक्ष शाहको गुनासो छ।
गाउँपालिकाका अधिकांश मानिस गरिबीको रेखामुनि छन्। ‘उनीहरू किनेर खान सक्ने अवस्थामा छैनन्। स्थानीय सरकारसँग बजेट छैन। त्यही भएर यहाँको खाद्यसंकट टार्न संघीय सरकारलाई आग्रह गरेका हौं’, उनले भने, ‘चाडबाड आइरहेको छ। घरमा अन्न छैन। मकैबाली पनि त्यति राम्रो भएन। किनेर खाने अन्नसमेत छैन।’
गाउँपालिकामा रहेको खाद्य संस्थानको खाद्य डिपो रित्तै छ। दुर्गम गाउँपालिकाको रूपमा परिचित यो गाउँपालिकामा भएका केही पसलमा समेत चामल छैन। केही पसलमा भएको चामल पनि खाद्य संस्थानको मूल्यभन्दा दोब्बर पर्छ जुन किनेर खान सक्ने स्थानीयसँग पैसा छैन। वर्षाले बाटो बिगारिदिएपछि दुई महिनादेखि खाद्य ढुवानी हुन सकेको छैन। गाउँपालिकामा यातायातको सुविधा छैन। ढुवानीको एक मात्र माध्यम घोडा–खच्चड हुन्। ती पनि हिँड्ने बाटो नभएपछि ढुवानी ठप्प छ। खाद्यसंकट टार्न केही दिनअघि सदरमुकाम खलंगास्थित संस्थानको गोदामबाट पठाइएको ५१ क्विन्टल चामल बीचबाटो फुलचाउलीमा गएर थन्किएको छ।
गाउँमा भएको अन्न सकिएको र थप खाद्यान्न ढुवानी नभएपछि भोकभोकै पर्ने अवस्था आएको स्थानीय रणबहादुर सिंहले बताए।
सरकारले डिपोका लागि चालु आवमा दुई हजार एक सय क्विन्टल चामलको कोटा निर्धारण गरेको छ। उक्त चामल ढुवानी गर्न टेन्डर स्वीकृति गरिसके पनि ढुवानी हुन सकेको छैन। संकटका बेला वितरण गर्ने भनेर अघिल्लो आर्थिक वर्षको मौज्दात ३२ क्विन्टल चामल केही दिनअघि वितरण भइसकेको नेपाल खाद्य संस्थान जाजरकोट शाखाका प्रमुख धर्मबहादुर बस्नेतले बताए। ‘थप जिल्लाबाट पठाइएको चामल बाटोमै छ। ढुवानीका लागि घोडाखच्चडको समस्याले केही ढिला भयो, केही दिनमै बारेकोटमा उक्त चामल पुग्छ’, उनले भने ‘नयाँ टेन्डरअनुसार चामल पनि केही दिनमै ढुवानी गर्न ठेकेदारलाई आग्रह गरेका छौं।’
सरकारले दुर्गममा खाद्य संस्थानमार्फत ढुवानी अनुदान दिएर सस्तोेमा चामल उपलब्ध गराउने गरेको छ तर डिपोमा चामल नहुँदा स्थानीय मर्कामा पर्दै आएका छन्। ३० केजीको प्रतिबोरा एक हजार दुई सय पर्ने चामल निजी क्षेत्रका व्यापारीले दुई हजार पाँच सय रुपैयाँसम्म बिक्री गर्ने गरेका छन्। दोब्बर मूल्य हालेर पनि चामल किन्न नपाइने बारेकोट–२ का मनवीरे नेपालीले बताए।
वीरेन्द्र ऐश्वर्य माविका प्रधानाध्यापक गोरखबहादुर सिंहले भने, ‘गाउँमा खाद्यान्नको साह्रै समस्या छ। किनेर खाने अन्न पनि पाइँदैन। गरिब स्थानीयको किनेर खान सक्ने अवस्था पनि छैन। त्यसैले सरकारले निःशुल्क खाद्यान्न वितरण गर्ने व्यवस्था मिलाओस् भन्ने स्थानीयको अपेक्षा छ।’ गाउँमा खाद्यसंकट बढ्दै गइरहेका बेला डिपो इन्चार्ज रुद्रबहादुर देवकोटा भने एक महिनादेखि सम्पर्कविहीन छन्।