मिलेमतोमा जग्गा नामसारी
जाजरकोट : जिल्लाको नलगाड–७ दल्ली र काँडादल्लीस्थित एक व्यक्तिको नाममा रहेको करिब २० रोपनी जग्गा अर्कैले नामसारी गरेको खुलेको छ। स्थानीय नरत्तम गिरीको नाममा रहेको जग्गा भतिजा पर्ने भानुभक्त गिरीले आफ्नो नाममा सारेका हुन्। नलगाड–७ का वडाध्यक्ष अर्जुनबहादुर सिंह र वडासदस्य शेरबहादुर नाथको मिलेमतोमा उक्त जग्गा नामसारी गरिएको हो।
जग्गाधनी नरत्तम लामो समयदेखि भारतमा बस्दै आएका छन्। तत्कालीन माओवादी द्वन्द्वका बेला भतिजा भानुभक्तलाई घरजग्गा हेरिदिनू, बाली लगाएर खानू भनेर सपरिवार भारत गएका थिए। २२ वर्षअघि भारत छिरेका उनी त्यसयता तीन पटक घर आए। गिरीका पत्नी, एक छोरा र एक छोरी पनि भारतमै छन्।
उनी लामो समयसम्म नफर्केको मौका छोपी उक्त जग्गा भानुभक्तले जनप्रतिनिधिसँग मिली केही दिनअघि आफ्नो नाममा सारेका हुन्। उनले साविकको खगेनकोट गाविस–१ मा रहेको जग्गा र वडा नं २ मा रहेको २० रोपनी तीन आना तीन पैसा जग्गा आफ्नो नाममा सारेका मालपोत कार्यालयको रेकर्डमा उल्लेख छ। आफ्नो नाममा सारेलगत्तै गिरीले कित्ता नं ३२१ को जग्गा बुहारी माया गिरी र वडासदस्य शेरबहादुर नाथलाई एक एक रोपनी जग्गा पास गरिदिएका छन्।
जग्गाधनी नरत्तम लामो समयदेखि बेपत्ता भएको र सबैभन्दा नजिकको नातेदार आफैं भएको दाबी गदै भानुभक्तले वडा कार्यालयको सर्जिमिन मुचुल्कासमेत पेस गरेका छन्। उक्त सर्जिमिनमा सबै आफ्नै घरका राखिएपछि घटना शंकास्पद बनेको थियो। सर्जिमिन मुचुल्कामा भाुनभक्तले साक्षीको रूपमा पत्नी मैयाकुमारी छोराहरू डिल्लीबहादुर र रंग तथा बुहारी माया र मनकुमारीलाई राखेका छन्। मुचुल्काको रोहबरमा वडाध्यक्ष अर्जुनबहादुर सिंहसमेत बसेका छन्।
सबै घरकै सदस्य राखेर मुचुल्का गरिएकोले वडाध्यक्ष समेतको संलग्नतामा अनियमित कार्य भएको स्थानीयको भनाइ छ। तर, उनीभन्दा नजिकका नाता भने स्थानीय नौला पर्छन्। उनी अपांग छन्। ‘मलाईसमेत झुक्याउँदै वडाध्यक्ष र वडासदस्यको मिलेमतोमा जग्गा नामसारी गरिएछ। मैले भर्खर थाहा पाएँ’, उनले भने, ‘दाइको जग्गा झुक्याएर नामसारी गरिएछ। किन हतारमा नामसारी गर्नु पर्यो। दाईका छोराछोरी छन्। फर्केर आउलान। म सबैभन्दा नजिकको मान्छेलाई समेत थाहा दिएनन्।’ वडासदस्य नाथले त जग्गा नै पास लिइसकेका छन् भने वडाध्यक्ष सिंहले आर्थिक प्रभावमा परेर सिफारिस गरेको हुन सक्ने एक स्थानीयले बताए।
वडाध्यक्ष सिंहले जग्गा नामसारीमा आफ्नो कुनै संलग्नता तथा मिलेमतो नरहेको दाबी गरेका छन्। जग्गाधनी लामो समयदेखि बेपत्ता भएको यथार्थ मुचुल्का र सिफारिस मात्र गरेको उनले बताए। मालपोत कार्यालय प्रमुख अभिबहादुर गिरीले वडा कार्यालयको सिफारिस र गाउँ सर्जिमिन मुचुल्काका आधारमा पछि जग्गाधनी सम्पर्कमा आए जग्गा फिर्ता गर्ने गरी नामसारी गरिदिएको बताउँछन्।
उनले कार्यालयले जग्गावालाको नजिकको हकवाला सम्पर्कमा आउन भनी ३५ दिने सार्वजनिक सूचना जारी गर्दा पनि कुनै दाबी विरोध नभएपछि जग्गा नामसारी गरिदिएको बताए। ‘जग्गाधनी सम्पर्कमा आए उक्त नामसारी स्वतः बदर हुन्छ’, उनले भने। यो जग्गा नलसिंहगाड जलविद्युत् आयोजना आसपासको जग्गा हो। यहाँको जग्गाको प्रतिरोपनी चार लाख ७५ हजार रुपैयाँ मुआब्जा सरकारले दिएको छ।