जनप्रतिनिधिले बदले कर्मचारी
जनकपुरधाम : स्थानीय निर्वाचनपश्चात् धनुषामा जनप्रतिनिधिले काम थालेको एक वर्ष पूरा भएको छ। जनप्रतिनिधिले यो अवधिमा सकारात्मक चर्चाभन्दा नकारात्मक आलोचना बढी खेप्नुपरेको छ। २० वर्षसम्म कर्मचारीतन्त्रको दबदबा रहेकोमा जनताको प्रतिनिधि भएर काम गर्नु सहज नभएको अनुभव जनप्रतिनिधिले सुनाएका छन्।
राजपाका तर्फबाट जनकपुर उपमहानरपालिकाका मेयर पदमा निर्वाचित लालकिशोर साहले यो अवधिलाई जीवनको सबैभन्दा ठूलो सिकाइका रूपमा लिएको बताएका छन्। कर्मचारीतन्त्रका कारण अस्तव्यस्त स्थानीय तहमा नयाँ सिस्टम बसाउन खोज्दा अवरोध झेल्नुपरे पनि बिस्तारै जनचाहनाअनुरूप काम गर्ने अभ्यास बस्न थालेको उनको भनाइ छ।
विगतमा जनप्रतिनिधि नहुँदा कर्मचारी जति बेला मन लाग्यो त्यति बेला कार्यालय आउने र हाजिर गरी निस्किनेजस्ता समस्याले सेवाग्राही आजित थिए। तर, अहिले उपमहानगरपालिकाका कर्मचारी १० बजेभित्र आएर हाजिरी जनाई पंक्तिबद्ध भएर नगर कार्यपालिकाले तयार पारेको जनकपुरधाम गान गाएर कामको सुरुआत गर्छन्। कर्मचारीका लागि नगरपालिकाले पोसाक निर्धारण गरिदिएको छ। त्यहीअनुसार कर्मचार अनिवार्य रूपमा पोसाक लगाएर आउने गरेका छन्। जनप्रतिनिधिको दबाबका कारण सेवाग्राहीको काम छिटोछरितो गर्नुपर्ने बाध्यतासमेत कर्मचारीमाथि आएको साहको भनाइ छ।
उनका अनुसार यो अवधिमा थुप्रै परिवर्तन भएका छन्। उपमहानगरपालिकाको प्रथम बोर्ड बैठक र प्रथम नगरसभाको पूर्ण बैठकले नाम संशोधनका लागि सिफारिस गरेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावबमोजिम जनकपुरधाम उपमहानगरपालिका कायम गरिएको छ। एकीकृत सहरी विकास आयोजनाअन्तर्गत सडक विस्तारमा अवरोध हटाउने काम पनि भएको छ। नगर क्षेत्रभित्र २ सय ३९ विद्यार्थीलाई कक्षा ११ र १२ मा छात्रवृत्ति प्रदान गरिएको छ।
जनकपुर डे«नेज विकास आयोजना र जनकपुर सरसफाइ तथा पोखरी प्रवद्र्धन आयोजना सम्झौतासमेत भइसकेको उनले बताए। उनका अनुसार सम्झौताअन्तर्गत ५५ किलोमिटर कालोपत्रे सडक र फोहोर व्यवस्थापन परियोजनासहित २२ वटा पोखरीको सौन्दर्यीकरण र सयवटा आधुनिक सुलभ शौचालय निर्माण गरिनेछ।
शिव चोकबाट भानु चोकसम्म एकैनासकोे घर ‘मिथिला हेरिटेज स्ट्रिट’ बनाउने अवधारणा अघि सारिएको छ। यो अवधारणाअनुरुप सडक विस्तारका क्रममा भत्काइएका घरको नक्सा पास गराउँदा शुल्क मिनाहा गरिने भएको छ। साथै घर अगाडिको भागमा केसरिया रंगले रंग्याए पेन्टसमेत निःशुल्क रुपमा उपमहानगरपालिकाले उपलब्ध गराउने भएको छ।
जनप्रतिनिधिको कामप्रति स्थानीयवासीमा असन्तुष्टिसमेत देखिएको छ। जनकपुरका मेयरले कार्यालय प्रयोजनका लागि पौने २ करोड रुपैयाँ लागतको गाडी खरिद गर्नु, कार्यालयको शौचालयमा एसी लगाउनु, बजेट पारदर्शी नगर्नु, मनमौजी रूपमा कर्मचारी भर्नालगायत विभिन्न कारणले मेयर साह आलोचित बनेका छन्।