यी हुन हिमाल चढ्दा नभइ नहुने सामाग्री
सगरमाथाको चुचुरोमा ६५ वर्षअघि टेके, तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले। त्यसबेला सगरमाथाको क्याम्प चारबाट माथि उक्लिन उनीहरूले करिब एक महिना प्रयास गरेको बताइन्छ । त्यो समय हिमाल चढ्न सहज हुने प्रविधिहरूको खासै विकास भइसकेको थिएन।
अहिले प्रविधिको युग छ । हिमाल आरोहणलाई सहज बनाउन थरीथरीका सामान उत्पादन भएको छ। अन्तर्राष्ट्रिय आरोहण तथा पर्वतारोहण संघ (यूआईएए) बाट मान्यता प्राप्त सामग्री मात्र पर्वतारोहणमा प्रयोग गर्न पाइन्छ । यूआईएएले विश्वका हिमाललाई आधिकारिता दिने र प्रविधि विकासदेखि सुरक्षित आरोहणमा नयाँनयाँ व्यवस्थाहरू ल्याउने गर्छ।
हिमाल चढ्दा निम्न सामग्रीहरूको प्रयोग गरिन्छः
हार्डनेसः
हिमाल आरोहण गर्दा त्यहाँ समाउने वस्तु नहुने भएकाले डोरीलाई आरोहीको शरीरसँग सम्पर्कमा राख्न हार्डनेसको प्रयोग गरिन्छ । हार्डनेसको सहायताले कम्मरदेखि तिघ्रासम्म शरीर कसेर उकालो ओरालो गर्न सकिन्छ ।
अल्पाइन बुट
जुत्ताको तलुवामा हिउँ नपस्ने गरी अल्पाइन बुट बनाइएको हुन्छ । अल्पाइन बुटले तापक्रमसमेत नियन्त्रण गरी तातो बनाइराख्छ ।
क्राम्पोनः
आइसमा जुत्ता लगाएर हिँड्दा खुट्टा अड्याउन क्राम्पोनले सहयोग गर्छ । हिमालमा क्राम्पोन बिना तलमाथि हिँड्डुल गर्ने सम्भावना छैन ।
एसेन्डर (जुमर):
चुचुरो उक्लिँदा डोरीको सहयोग लिइन्छ र डोरीलाई चिसो हातले समाउन नमिल्ने भएपछि जुमरको सहयोगमा डोरी समातेर उकालो चढिन्छ ।
क्याराविनरः
आरोहीको शरीर र बाटोमा राखिएको डोरीको सम्पर्क राख्ने गरी प्रयोग गरिने लकसहित सुरक्षित गर्न क्याराविनर प्रयोग गरिन्छ । यसले डोरीसँग सहज रूपमा सम्पर्क गर्न सकिन्छ ।
आइस एक्सः
आरोहीले उक्लिँदा आइसमा खोपेर माथि जान हिउँ बञ्चरो प्रयोग गर्छन् । चट्टानजस्तो हिउँमा पनि सहज रूपमा खोपिन्छ यो । हिउँमा अड्याएर उक्लिन सकिने भएकाले हिमालमा यसको निकै महत्व हुन्छ ।
रक पिटनः
कमजोर हिउँलाई अड्याएर बाटो निर्माण गर्दा डोरी अड्याउन रक पिटनको प्रयोग गरिन्छ । आरोही जानुअघि हिमालमा बाटो बनाउनेहरूले रक पिटनकै सहयोगमा माथि उक्लिछन् ।
यसबाहेक आवश्यकताअनुसार हेल्मेट, विले डिभाइस, टेप सेलिङ (फित्ता), एक्जुलरी कोर्ड (डोरी), रुकस्याक झोला, कम्पास, नक्साजस्ता सामग्री प्रयोग गरिन्छ । त्यस्तै, स्लिपिङ ब्याग, लाइनर प्राथमिक उपचार बक्स, ट्रेकिङ जुत्ता, टेन्ट, समय कटाउन पुस्तकसमेत बोक्नुपर्ने हुन्छ ।