तीन स्थानीय तहमा यातायात विच्छेद
बागलुङ : मध्यपहाडी लोकमार्ग र बडीगाड खोला थुनिने गरी खसेको तुरतुरे पहिरोले जिल्लाका तीन स्थानीय तह सीधा सवारी मार्गबाट वञ्चित भएका छन्। दुई साताअघि खसेको पहिरोले थुनिएको ताल उस्तै छ भने मध्यपहाडी लोकमार्ग पनि ठप्प छ।
ताललाई यथावत् राख्ने या पानीको सतह व्यवस्थापन गर्ने विषयमा सेनाको टोली र लोकमार्ग खुलाउने विषयमा सडक विभागको टोलीले स्थलगत अध्ययन गरे पनि दुवै काम अहिले अन्योलमा छ । सडक विभाग र मध्यपहाडी लोकमार्ग आयोजनाको टोलीले सडक खुलाउने काम प्राथमिकतामा राखे पनि पहिरोसँगै निरन्तर ढुंगा खसेकाले लोकमार्ग खुल्ने टुंगो छैन ।
लोकमार्ग अवरुद्ध भएपछि जिल्लाको पश्चिम ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकासँग सीधा आवतजावत ठप्प छ। स्थानीय १० मिनेटको दूरी पार गर्न एक घन्टाभन्दा बढी हिँड्न भएका दिनेश पौडेलले बताए।
पहिरोले सडक अवरुद्ध भएकाले ढोरपाटन नगरपालिका, तमानखोला र निसीखोलाका स्थानीयले दैनिक उपभोग्य सामानसमेत पिठ्यूँमै बोकेर लैजाने गरेका छन्। खाद्य सामग्री अभाव हुन थालेपछि महँगी पनि बढेको उपभोक्ताले गुनासो गरेका छन्। चाडपर्व नजिकिएकाले तत्काल सडक नखुलाइए त्यसले ठूलो समस्या पैदा गर्ने उद्योग वाणिज्य सघं बुर्तिबाङ इकाइका महासचिव राम सुवेदीले बताए।
सेनाको टोलीले तत्काल सडक खुलाउन सुझाएको छ । उक्त टोलीले वर्षाको समयमा विस्फोटबाट ढुंगा फोरेर निकास खोल्दा एकैपटक ठूलो भेल बग्ने भएकाले तटीय क्षेत्रमा जोखिम हुने जनाएको हो। पानीको स्तर कम भएपछि मात्र निकास खोल्न सुझाएर सेनाको टोली फर्केको छ । टोलीका प्रमुख सेनानी राधाकृष्ण थापाले भने, ‘सडक खुलाउने काममा पनि सहयोग गर्न तयार छौं ।’ विस्फोटमा सेनाले सघाउने र अन्य काम सडक विभागबाटै हुनुपर्ने थापाले बताए।
दुई साताभित्रै सडक खुलाउने गरी पहल भइरहेको ढोरपाटन नगरपालिका मेयर देवकुमार नेपालीले जानकारी दिए। ‘लोकमार्ग अवरुद्ध हुँदा नागरिकलाई ठूलो सकस परेको छ’, उनले भने, ‘तत्काल खुल्ने अवस्था नभएकाले वैकल्पिक मार्गको पहिचान गरी तीन वटा स्थानीय तह मिलेर अहिले निर्माण कार्य गरेका छौं।’
पहिरोले डोजर पुर्दा २ घाइते
बडिगाडस्थित तुरतुरेको पहिरो पन्छाउने क्रममा पहिरो खस्दा दुई जना घाइते भएका छन्। डोजर चालक हेटौंडाका अमित घलान र धादिङका नारायण गिरी घाइते भएका प्रत्यक्षदर्शीले बताएका छन्। घाइते दुवैको दाहिने पाखुरामा चोट लागेको र खार बजारस्थित बडिगाड हस्पिटलमा लगिएको भिङगिठे इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ।
पहिरो खसेर बडिगाड खोला थुनिएसँगै मध्यपहाडी लोकमार्ग अवरुद्ध छ। अहिले वैकल्पिक मार्ग खुलाउने काम तीव्र गतिमा भइरहेको छ भने अवरुद्ध लोकमार्ग खुलाउन सडक विभागको टोली पनि सक्रिय छ। तर, सुक्खा पहिरो र ढुंगा झर्ने क्रम जारी रहेकाले सडक सुचारु गर्न थप समस्या भएको छ।