लमजुङका पहिरो पीडितलाई हाइड्रोको सहयोग
बेसीसहर : लमजुङको मस्र्याङ्दी गाउँपालिकामा दुईसाता अघि गएको बाढीपहिरो पीडितलाई चिनियाँ तथा नेपाली कर्मचारी र मजदुरले सहयोग गरेका छन्। गाउँपालिकाको- ८ मा सञ्चालित ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी-ए जलविद्युत आयोजनाको निर्माण कम्पनी सिनो सगरमाथा पावर कम्पनीमा कार्यरत कर्मचारी तथा मजदुरले आर्थिक तथा जस्तापाता सहयोग गरेका हुन्।
सिनो हाइड्रोको लमजुङ र काठकाडौंमा कार्यरत कर्मचारी तथा मजदुरले चन्दा संकलन गरी सहयोग गरेका हुन्। लमजुङ र काठमाडौंमा गरी ५० चिनियाँ र ३५ नेपाली कार्यरत छन्। उनीहरुले मंगलबार चन्दा संकलन गरेको १ लाख ४९ हजार ७ सय ६५ रुपैयाँ गाउँपालिकाका प्रतिनिधिलाई हस्तान्तरण गरेका हुन्।
लमजुङमा १ लाख ९ हजार ६५ र काठमाडौंमा ४० हजार ७ सय रुपैयाँ संकलन गरी गाउँपालिकाका प्रतिनिधि होमराज तामाङ र माथिल्लो मस्र्याङ्दी-ए जलविद्युत सरोकार तथा समन्वय समितिका अध्यक्ष जीतबहादुर गुरुङलाई हस्तान्तरण गरिएको जनसम्पर्क अधिकृत कर्ण अधिकारीले बताए।
संकलित रकम कम्पनीका सुरक्षा निर्देशक ल्याङ चुङ पाउ र प्रशासन प्रमुख याङ चेले हस्तन्तरण गरेका हुन्। उक्त रकम गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा राखिने भएको छ।
यसबाहेक सिनो हाइड्रो सगरमाथा कम्पनीले मृतक परिवारलाई नगद १० हजार राहत प्रदान गरेको छ। मस्र्याङ्दी-३ तरापु पल्लोटारीमा पहिरोमा पुरिएर निधन भएका अतिरुपा थापा र उनको नातिनी शिरिस थापाको परिवारलाई कम्पनीका प्रतिनिधिले घरमै पुगेर नगद सहयोग दिएका छन्।
अन्य तीनजनाको परिवारलाई गाउँपालिकाका प्रतिनिधिमार्फत सहयोग उपलब्ध गराइने कम्पनीका दोभाषे दयाराम दाहालले बताए । यसैगरी बाढीपहिरोमा परी घर बगाएका र क्षति पुगेका परिवारका लागि एकसय जस्तापाता सहयोग गरिएको कम्पनीले जनाएको छ। १ लाख १७ हजार रुपैयाँ बराबरको ३९ एमएम गेजका १२ बन्डल जस्तापाता पीडित परिवारलाई दिन गाउँपालिकालाई हस्तान्तरण गरिएको छ।
कम्पनीले यसअघि ०७२ बैशाखको भूकम्प पीडितलाई ७ लाख रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएको थियो। 'चिनियाँ परमम्पराको भनाई छ कि कुनै एकजना दु:खमा पर्दा सबै मिलेर सहयोग गर, दुःखमा मलम लगाअौ', सहयोग हस्तान्तरणपछि कम्पनीका सुरक्षा प्रमुख ल्याङ चुङ पाउले भने, 'हामी विश्वस्त छौं यस्ता सहयोगले पीडित गाउँबासीले केही राहत पुग्नेछ।