मानव बेचबिखनको आरोपमा महिला पक्राउ, २ काे खाेजी हुँदै
बैतडी : मानव बेचबिखनको आरोपमा बैतडी प्रहरीले बुधबार एक जनालाई पक्राउ गरेको छ । सिगास गाउँपालिका–२ गाँजरीकी २५ वर्षीया देवकी ढाँटलाई प्रहरीले पक्राउ गरेको हाे ।
इलाका प्रहरी कार्यालय पाटन बैतडीका इञ्चार्ज प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहका अनुसार ढाँटलाई घरबाटै पक्राउ गरिएको हो । गत असारमा बैतडीको सिगासकी २८ वर्षीया एक महिलालाई बिहे गराउँछु भनी ललाई फकाई भारतको बैङ्गलोर पुर्याएर बेचविखन गर्न खोजेको आरोप ढाँटमाथि लागेको छ ।
यसअघि मंगलबार प्रहरीले सोही घटनामा संलग्न डडेल्धुरा आलिताल गाउँपालिका ८ सिस्नेका ४५ वर्षीय गणेश विष्टलाई पक्राउ गरी मानव बेचबिखन तथा ओसारपोसार सम्बन्धी मुद्दा दर्ता गरेर उनीमाथि अनुसन्धान थालिसकेको बताइएको छ ।
पक्राउ परेकी महिलामाथि समेत मानवबेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दा दर्ता भइसकेको छ । बिहीबार अदालतबाट म्याद थप गरेर अनुसन्धान कार्य अघि बढाइने निरीक्षक सिंहले बताए ।
यसअघि पीडित महिलाले सोमबार गरेको उजुरीको आधारमा प्रहरीले उनीहरुको खोजी कार्य गरेको थियो । मानव बेचबिखनको आरोप लागेका डडेल्धुरा आलिताल–८ का ५० वर्षीय शंकर अवस्थी र २८ बर्षीय ललित विक अझै फरार छन् । उनीहरुको पनि खोजी कार्य जारी रहेको बताइएको छ ।
प्रहरी निरीक्षक सिंहले भने, ‘पीडित महिलाको जाहेरीको आधारमा हामीले थप दुई जनालाई पक्राउ गर्न डडेल्धुरा प्रहरीलाई आग्रह गरिसकेका छौँ । उनीहरुमाथि समेत मुद्दा दर्ता भईसकेको छ ।’ पीडित महिलालाई उनका आफन्तले भारतबाट उद्धार गरी केही दिनअघि मात्रै नेपाल ल्याएका थिए।