प्रतिष्ठान ९ लाख, रोजगारी ३४ लाख

प्रतिष्ठान ९ लाख, रोजगारी ३४ लाख

काठमाडौं : नेपालका औद्योगिक प्रतिष्ठानले निकै कम संख्यामा रोजगारी उपलब्ध गराएका छन्। अधिकांश सर्वसाधारण व्यापार-व्यवसायमा संलग्न हुने गरेकाले रोजगारी सिर्जनाको अवस्था न्यून देखिएको हो।

केन्द्रीय तथ्यांक विभागले हालै गरेको राष्ट्रिय आर्थिक गणनाले औद्योगिक प्रष्ठिानको तुलनामा रोजगारी सिर्जना हुन नसकेको देखाएको हो। सर्वेक्षणअनुसार औसतमा एक प्रतिष्ठानले करिब चार जनालाई मात्रै रोजगारी दिएका छन्। गणनाको प्रारम्भिक नतिजाअनुसार नेपालमा नौ लाख २२ हजार चार सय ४५ वटा औद्योगिक प्रतिष्ठान सञ्चालनमा छन्। ती प्रतिष्ठानमा ३४ लाख आठ हजार सात ४६ जनाले मात्रै रोजगारी पाएका छन्।

विभागका उपमहानिर्देशक हेमराज रेग्मीले औद्योगिक कलकारखानाभन्दा धेरैजसोले व्यापार–व्यवसाय रोजेकाले रोजगारी सिर्जना हुन नसकेको बताए। 'लाखौं मानिस व्यापार-व्यवसायमा संलग्न रहेको देखियो', उनले भने, 'उत्पादनमूलक औद्योगिक प्रतिष्ठान निकै कम रहेछन्।'

उपमहानिर्देशक रेग्मीले विभिन्न १८ क्षेत्रका औद्योगिक प्रतिष्ठानको अध्ययन गरिए पनि विस्तृतमा कुन क्षेत्रमा कति रोजगारीमा संलग्न छन् भन्ने तथ्यांक आइनसकेको बताए। 'डाटा इन्ट्रीको काम भइरहेको छ', उनले भने,' आउँदो पुससम्म रोजगारमा संलग्नको आम्दानी र खर्चको विवरण पनि अध्ययन गर्छाैं।'

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छाले उद्योगमैत्री वातावरण निर्माण हुन नसकेकाले रोजगारी सिर्जना हुन नसकेको बताए। 'उत्पादनमूलक नियमकानुन आउन नसक्दा रोजगारी सिर्जना हुन सकेको छैन', उनले भने। रोजगारी सिर्जना हुन नसक्नु देशको ठूलो चुनौती रहेको भन्दै गोल्छाले सरकारले घोषणा गरेको एक वर्षमा पाँच लाख रोजगारी सिर्जना हुन गाह्रो हुने बताए।

रोजगारी सिर्जना गर्न राज्यले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने महासंघको ठम्याई छ। औद्योगिक प्रतिष्ठानमा पुरुषको तुलनामा सात लाख कम महिला संलग्न छन्। प्रतिष्ठानमा १३ लाख ६३ हजार सात ५७ जना महिलाले रोजगारी पाएका छन् भने २० लाख ४४ हजार नौ सय ८९ जना पुरुषले रोजगारी पाएका छन्। आफैं लगानी गरी व्यापार–व्यवसायमा संलग्न हुनेको संख्या अत्यधिक छ।

रोजगारी बढी प्रदेश ३, कम कर्णालीमा
सबैभन्दा धेरै प्रदेश ३ का सर्वसाधारण रोजगारीमा संलग्न छन्। यहाँ औद्योगिक प्रतिष्ठान अरु प्रदेशको तुलनामा बढी नै स्थापना भएकाले रोजगारी पनि बढी सिर्जना भएको छ। प्रदेश ३ मा दुई लाख ८२ हजार ५६ वटा औद्योगिक प्रतिष्ठान छन्। ती प्रतिष्ठानमा ११ लाख ९० हजार सात सय २१ जना रोजगारीमा संलग्न छन्। तीमध्ये ६ लाख ९७ हजार ७७ जना पुरुष र चार लाख ९३ हजार ६ सय ४४ जना महिलाले काम गर्ने गरेका छन्।

सर्वेक्षणअनुसार सबभन्दा कम रोजगारी गर्नेमा कर्णाली प्रदेशका देखिएका छन्। कर्णाली प्रदेशमा एक लाख ३२ हजार चार सय २५ जनाले रोजगारी गर्दै आएका छन्। तीमध्ये ५५ हजार आठ सय ७६ जना महिला र ७६ हजार पाँच सय ४९ जना पुरुष हुन्। कर्णालीमा ४२ हजार आठ सय ७१ वटा औद्योगिक प्रतिष्ठान स्थापना भएका छन्।

प्रदेश ३ पछि धेरै रोजगारी सिर्जना गर्ने प्रदेश १ देखिएको छ। प्रदेश १ मा एक लाख ६८ हजार ४३४ औद्योगिक प्रतिष्ठान सञ्चालनमा छन्। ती प्रतिष्ठानमा पाँच लाख ८० हजारले रोजगारी पाएका छन्। त्यसमध्ये तीन लाख ३४ हजार १९० पुरुष र दुई लाख ४५ हजार आठ सय १० जना महिला संलग्न छन्।

रोजगारी सिर्जना गर्ने तेस्रो प्रदेशमा प्रदेश ५ देखिएको छ। प्रदेश ५ मा पाँच लाख २७ हजार नौ सय ६० जनाले रोजगारी पाएका छन्। त्यसमध्ये तीन लाख २५ हजार नौ सय १७ जना पुरुष र दुई लाख दुई हजार ४३ जा महिला संलग्न छन्। यहाँ एक लाख ४७ हजार आठ सय ९२ वटा औद्योगिक प्रतिष्ठान स्थापना भएका छन्।

औसतमा एक प्रतिष्ठानले करिब चारजनालाई मात्रै रोजगारी दिएका छन्।

कर्णालीपछि प्रदेश ७ का केही बढी मानिस रोजगारीमा संलग्न रहेको देखिएको छ। प्रदेश ७ मा ८० हजार सात सय ७६ जना महिला र एक लाख ३० हजार आठ सय नौ जना पुरुष गरी दुई लाख ११ हजार पाँच सय ५५ जनाले काम गर्दै आएका छन्। प्रदेश ७ मा ६२ हजार नौ सय ७० वटा औद्योगिक प्रतिष्ठान स्थापना भएका छन्।

गण्डकी प्रदेशमा तीन लाख ४१ हजार आठ सय ११ जनाले रोजगारी गर्दै आएका छन्। एक लाख ८६ हजार ८४ जना पुरुष र एक लाख ५५ हजार सात सय ३४ जना महिला रोजगारीमा संलग्न भएका हुन्। गण्डकी प्रदेशमा एक लाख ६ सय ८८ वटा औद्योगिक प्रतिष्ठान दर्ता भएका छन्।

गणनाअनुसार प्रदेश २ मा एक लाख १७ हजार पाँच सय ८८ वटा औद्योगिक प्रतिष्ठान दर्ता भएका छन्। ती प्रतिष्ठानमा चार लाख २४ हजार दुई सय ६७ जनाले रोजगारी पाएका छन्। प्रदेश २ मा पुरुष दुई लाख ९४ हजार तीन सय ६३ जना पुरुष र एक लाख २९ हजार नौ सय चार जना महिला संलग्न छन्।

विभागले गणनाका क्रममा अन्तर्राष्ट्रियस्तरीय औद्योगिक वर्गीकरणमा उल्लेख भएका औद्योगिक प्रतिष्ठानको मात्र अध्ययन गरेको थियो। दर्ता भएका कृषि, वन तथा माछापालन व्यवसाय, खानी तथा उत्खनन्, औद्योगिक उत्पादन, विद्युत्, ग्यास, वाफ तथा वातानुकूलित आपूर्ति, पानी आपूर्ति, ढल, फोहर व्यवस्थापन औद्योगिक प्रतिष्ठानमा रोजगारी सिर्जना हुने क्रम बढेको छ। यस्तै निर्माण, थोक तथा खुद्रा व्यापार, मोटर गाडी, मोटरसाइकलको मर्मत, यातायात तथा गोदाम, आवास सुविधा होटल, सूचना तथा सञ्चार, वित्तीय तथा बिमा, घरजग्गा कारोबार, शिक्षा, स्वास्थ्य कला, मनोरञ्जनलगायत प्रतिष्ठानलाई गणनामा समेटिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.