विश्वको आँखा पर्ने भूराजनीतिमा नेपाल : प्रधानमन्त्री

विश्वको आँखा पर्ने भूराजनीतिमा नेपाल : प्रधानमन्त्री

न्यूयोर्क : प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक स्थायित्व कायम गर्दै नेपाल विकासको चरणमा निकै अघि बढिसकेको बताएका छन । एशिया सोसाइटीले न्यूयोर्कमा गरेको ‘शान्ति, लोकतन्त्र र विकास’ नामक अन्तरक्रियामा उनले यस्तो धारणा ब्यक्त गरेका हुन । 

‘हाम्रो भूगोल नै त्यस्तै स्थानमा छ र हामी विविधापूर्ण प्राकृतिक सौन्दर्यताले पूर्ण छौँ,’ नेपाल परापूर्वकालदेखि नै विश्वको आँखामा परेको र अहिले पनि त्यो दृष्टि रहिरहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘नेपाल भूराजनीतिक अवस्थालाई ध्यान दिएर अघि बढिरकेको एक सार्वभौमसम्पन्न पुरानो मुलुकमा दरिएको छ ।’ 

नेपाल आफ्नै पनको विकासको पक्षमा रहेर अघि बढेको पनि उनले बताए । नेपालको विश्वमा कोहीसँग पनि शत्रुवत ब्यवहार नगर्ने र विकासमा सहकार्य गर्ने नीति पुरानै रहेको उनले बताए । त्यही नीतिलाई वर्तमान सरकारले निरन्तरता दिइरहेको उनले बताए ।

नेपालको विकासको चरणमा रहेको र दुवै छिमेकी एवम् विश्व मित्रहरुको सहकार्यले विकास प्रक्रिया अघि बढेको पनि उनले बताए । कृषि, रेल, सडक, भौतिक पूर्वाधार, उद्योग, पर्यटन लगायत कैयन क्षेत्रमा लगानीको लागि सरकारले योजना बनाएर अघि बढेको पनि उनले बताए । 

‘नेपालमा अब शान्तिपूर्ण र लगानी मैत्री वाताबरण बनेको छ,’ उनले भने, ‘जलविद्युतका लागि अथाह लगानी गर्ने स्थान छ । विदेशी लगानीकर्ताले जति पनि लगानी गर्न सक्छ । कुनै पनि लगानीकर्तालाई सहीरूपमा उक्त क्षेत्रमा लगानी गर्न हामी दिने छौं ।’

संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो धारणा राख्नुअघि नै प्रधानमन्त्री अन्तरक्रियामा सहभागी भएका हुन् । कार्यक्रममा नेपालमा काम गरिसकेका विदेशीहरु, विभिन्न विश्व विद्यालयका प्राध्यापक, नेपाली समुदायको उपस्थिती थियो । 

कार्यक्रम अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रडले सञ्चालन गरेका थिए । उनी स्वयमले नै अधिकांश जिज्ञासा प्रधानमन्त्री ओलीलाई राखेका थिए । लगानीको क्षेत्रको प्रसंगामा पूर्व प्रधानमन्त्री रडले चिनियाँ कम्पनीले विद्युत् बनाउने विषमया भएको सरकारी निर्णय र उल्टाउने निर्णयको प्रसंग समेत कोट्याएका थिए । प्रधानमन्त्री ओलीले चिनियाँ कम्पनी गेजुवालाई बूढीगण्डकी बनाउन दिने निर्णय अघिल्लो सरकारले उल्टाएको बताउँदै अहिले त्यसमा अध्ययन भइरहेको बताए ।

‘यतिबेला नेपाल पुरानो अवस्थामा छैन । धेरै परिवर्तन भइसकेको भन्दै उनले भने, ‘नेपाल संसारको अग्लो हिमशिखरदेखि सामुद्रिक तहबाट केही मिटर माथिसम्मको भूभाग भएको प्राकृतिकरुपमा निकै विविधता छ’, ओलीले भने, ‘जलवायु परिवर्तनको असर नेपालमा पनि उत्तिकै परेको छ  । यसको लागि नेपाल आफ्नो तर्फबाट प्रयासरत छ ।’  

नेपाली समाज विविधतायुक्त भएको र आफूले एकै परिवारमा १ सय ३५ सदस्य एकै भान्सामा खाएको समेत देखेको भन्दै यस्तो समाजमा केहीको दृष्टि भ्रम भएको र सच्याउन पर्ने बताए । 

समाजिक विचलन ल्याउन काम गरिरहेका केही विदेशी अन्तराष्ट्रिय संघसंस्थालाई लक्षित गर्दै भने । यति ठुलो जमात एकै स्थानमा बस्ने र हुर्कने गरेको विषय प्रस्तुत गर्दै आफ्ना छोराछोरी बाबुआमासँग मिलेर यो समाजमा अड्नसकेको जिकिर उनले गरे । ‘राम्रा कुराको नक्कल जताबाट गरेपनि हुन्छ । नेपाल निकै सामाजिक हार्दिकता भएको मुलुक हो । हामी यो विश्वलाई सिकाउँनेछौँ’, उनले भने।   

नेपालमा रेलको प्रसंग अनि पूर्वधारमा चिनिया लगानीबारे सोधिएको एक जिज्ञासामा प्रधानमन्त्री ओलीले भने, ‘कुनै पनि मुलुक स्वयमले नचाहेसम्म ऋणको भार बोक्दैन । नेपालले पनि सकेसम्म अनुदान र नभए कम ब्याजको ऋण लिएर विकास प्रक्रिया अघि बढाउने हो । त्यो रेल तथा पूर्वाधार जे पनि हुनसक्छ ।’ 

नेपालमा रेल ल्याउने प्रशंगमा चिनियाँ लागनीले मुलुक ऋणमा डुब्ने त होइन भन्ने धारणामा उनले भने, ‘कुनै पनि मुलुकले आफ्नो क्षमता नहेरी ऋण लिदैन । त्यसको अध्ययन गरेर यसबाट हुने तत्काल र दीर्घकालको फाइदा समेत हेर्छौँ ।’ 

उनले अन्य मुलुक ऋणमा डुवेको भनिएको विषयमा आफू पूर्ण विश्वस्त नभएको पनि बताए । पछिल्लो समय आफूले पनि केही मुलुकमा खराब ऋणको संघारमा रहेको पढेको तर त्यसमा आएको विषय सबै सत्यझैँ नलागेको पनि उनले बताए ।

पुर्खाले पश्चिमा शासकहरुसँग लडेर बचाएको भूभाग नै हाम्रो पैरवी भएको प्रधानमन्त्री ओलीले बताए । ‘हामी उपनिवेश हुनबाट बच्यौँ । जसले हामी विश्वमा गर्व गर्ने स्थान मात्र दिएन । हामीले अरुलाई उपनिवेशबाट स्वतन्त्र हुन समेत सघायौं,’ प्रधानमन्त्री ओलीले भने, ‘हो हाम्रा पुर्खाले लड्दा केही भूभाग गुम्यो तर हामी स्वतन्त्र रह्यौं । कसैसँग झुकेको अवस्था आएन । जुन हाम्रा ओरपर सम्म आएका शासकलाई पूर्खाले धपाएर गरेको पैरवी थियो ।’

अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री रुडले नेपालीको प्रशंसा गर्दै नेपाल उपनिवेश हुनबाट कसरी जोगियो भन्ने जिज्ञासामा प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा पूर्खाले लगातार इमानदारीपूर्वक लड्दा यो अवस्था आएको हो । परापूर्व कालदेखि नै नेपाल आइनलाग्ने तर जाइलाग्नेसँग पछि नहट्ने पंक्तिमा रहेको र सहकार्यले नै यो सम्भव भएको हो ।’

निकै रोचक रहेको थियो रडको जिज्ञासा र ओलीको जवाफ । नेपाल सधैँ लोकतन्त्रकै लागि लडिरहदा विकासमा पछि परेको हो तर समाज कमजोर भने नरहेको पनि उनले बताए । छिट्टै सुखी र समृद्ध नेपाल बन्नेमा दुईमत नभएको पनि उनले दावी गरे ।  

नेपालको कसैसँग पनि शत्रुवत सम्बन्ध नभएको र समान मित्रताको लागि सधै पहल गरिरहेको पनि बताए । सबैसँग सहकार्य गरेर नै अति कम विकसित मुलुकको हैसियतबाट नेपाललाई माथि उकास्न यो सरकार लागि परेका उनले बताए । 

नेपाली सधैँ निरंकुशताविरुद्ध लड्दैमा विकास प्रक्रियामा पछि परेको उनले बताए । उनले आफू निरंकुशताविरुद्ध लड्द १४ वर्ष जेल जीवन विताएको पटक पटक भने । लामो संघर्षपछि नेपाल  गणतन्त्रात्मक लोकतान्त्रिक व्यवस्था स्थापना भएको र अव संघर्ष गर्नुपर्ने दिन नरहेको पनि बताए । 

‘बन्दुकको नालबाट निस्कने गोलीबाट नभइ जनताको मतबाट चुनिने नेतृत्वले अव विकाश गर्छ,’ उनले भने, ‘अहिले निकै परिवर्तन आएको छ ।  स्पष्ट बहुमतको सरकार छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को निम्ति योजना बनाएर काम गरिरहेका छौ ।’

उनले पुराना विषयलाई भुलेर अव विकासमा अघि बढ्नुपर्ने पनि बताए । नेपालमा सबै राजनीतिक दलले हतियार बोकेको र संघर्ष गरेको भन्दै माओवादीले बोकेको हतियार र युद्ध प्रशंग कोट्याउन नहुने पनि बताए । उनले नेपाली कांग्रेसले पनि हतियार बोकेको भन्दै यस्ता विषयमा फर्कने भन्दा आगामी दिनलाई हेर्नपर्ने बताए । 

हतियार बोकेको दलसँग सहकार्य कसरी भयो भन्ने प्रशंगमा उनले यस्तो धारणा ब्यक्त गरेका हुन । कम्युनिष्टहरु कसरी नेपालमा हावी भए भन्ने जिज्ञासामा पनि उनले नेपालको कम्युनिष्ट प्रजातान्त्रिक धारमा अडेर जनताको मतबाट संसदिय अभ्यासमा अग्रसर रहेको भन्दै यसलाई पुरानो आँखाबाट हेर्न नमिल्ने धारणा पनि बताए । कम्युनिष्ट किन भन्न पर्‍यो भन्ने जिज्ञासामा उनले भने, ‘त्यो आ-आफ्नो आस्था र विकाश गर्ने प्राणालीमा भर पर्ने विषय हो ।’  

धेरै शलिन भएर नेपाली जनताको लामो प्रयास, त्याग र संघर्षबाट वर्तमान लोकतान्त्रिक व्यवस्था आएकाले यसलाई संरक्षण गर्दै विकासको चारणमा अघि बढ्ने उनले बताए । ‘त्यही योजना मैले नेतृत्व गरेको सरकारले अघि बढाएको छ,’ उनले भने,‘राजनीतिक स्थिरता दिएको छ । विकासको प्रयासमा सरकार अघिबढेको छ । विकासको लागि अव हतार भइसकेको छ ।’ 

एशियाली तथा अमेरिकी जनता, राजनीतिक नेतृत्व, दल तथा संस्थाबीच आपसी समझदारी प्रवद्र्धन गर्दै उनीहरूबीच साझेदारी मझबुद पार्ने उद्देश्यले ‘एशिया सोसाइटी’ सन् १९५६ मा स्थापना भएको एक शैक्षिक संस्था हो । 

राजनीति, शिक्षा, कला, व्यवसाय, संस्कृतिक क्षेत्रमा सोसाइटीले काम गर्दै आएको छ । गैरराजनीतिक र गैरनाफामूलक शैक्षिक संस्थामा अन्य नेताहरुले पनि आएर आफ्नो प्रवचन दिनेछन । रड यसको अध्यक्ष समेत हुन । विभिन्न शहर र मुलुक यसको दर्जन बढी शाखा छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.