विश्वकै आँखा नेपालतिरः प्रधानमन्त्री

विश्वकै आँखा नेपालतिरः प्रधानमन्त्री

न्यूयोर्क : प्रधानमन्त्री केपी ओलीले नेपाली भूराजनीतिमा विश्वकै आँखा परिरहेको विचार व्यक्त गरेका छन्। उनले परापूर्वकालदेखि अहिलेसम्म नेपालको भूगोल र विविधतापूर्ण प्राकृतिक सौन्दर्यले संसारकै ध्यानाकृष्ट गरेको बताएका हुन्।

‘हाम्रो भूगोल नै त्यस्तै स्थानमा छ र हामी विविधतापूर्ण प्राकृतिक सौन्दर्यले पूर्ण छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘नेपाल आफ्नो भूराजनीतिक अवस्थालाई ध्यानमा राखेर अघि बढिरहेको एक सार्वभौमसम्पन्न पुरानो मुलुकमा दरिएको छ।’

नेपाल आफ्नैपनको विकासको पक्षमा रहेर अघि बढेको पनि उनले जिकिर गरे। विश्वमा कोहीसँग पनि शत्रुवत् व्यवहार नगर्ने र विकासमा सहकार्य गर्ने नीति नेपालको पुरानै हो। सोही नीतिलाई वर्तमान सरकारले निरन्तरता दिइरहेको प्रधानमन्त्रीले बताए।

नेपाल विकासको चरणमा रहेको भन्दै उनले दुई छिमेकी चीन र भारत एवं विश्व मित्रहरूको सहकार्यले विकास प्रक्रियामा अघि बढ्दै गरेको चर्चा गरे। कृषि, रेल, सडक, भौतिक पूर्वाधार, उद्योग, पर्यटनलगायत क्षेत्रमा लगानीको लागि सरकारले योजना बनाएर अघि बढेको पनि उनले बताए।

‘नेपालमा अब शान्तिपूर्ण र लगानी मैत्री वातावरण बनेको छ,’ उनले भने, ‘जलविद्युत्का लागि अथाह लगानी गर्ने स्थान छ। विदेशी लगानीकर्ताले जति पनि लगानी गर्न सक्छ। कुनै पनि लगानीकर्तालाई सही रूपमा उक्त क्षेत्रमा लगानी गर्न हामी दिनेछौं।’

एसिया सोसाइटीले न्यूयोर्कमा आयोजना गरेको ‘शान्ति, लोकतन्त्र र विकास’ नामक अन्तत्र्रिmयामा प्रधानमन्त्रीले नेपालमा काम गरिसकेका विदेशीहरू, विभिन्न विश्वविद्यालयका प्राध्यापक र नेपाली समुदायलाई सम्बोधन गरेका हुन्। महासभामा धारणा राख्नुअघि नै प्रधानमन्त्री यस अन्तर्क्रियामा सहभागी भए।

अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री डेविड रुडले कार्यक्रम संचालन गरेका थिए। उनी स्वयंले प्रधानमन्त्री ओलीलाई अधिकांश प्रश्न राखेका थिए। रुडले चिनियाँ कम्पनीले विद्युत् बनाउने विषमया भएको सरकारी निर्णयको प्रसंग समेत कोट्याएका थिए। प्रधानमन्त्री ओलीले चिनियाँ कम्पनी गेजुवालाई बुढीगण्डकी बनाउन दिने निर्णय अघिल्लो सरकारले उल्टाएको र अहिले फेरि त्यसैमा अध्ययन भइरहेको बताए।

प्रधानमन्त्रीले नेपाल पुरानो अवस्थामा नरहेको समेत धारणा व्यक्त गरे। उनले भने, ‘नेपालमा संसारको अग्लो हिमशिखरदेखि सामुद्रिक तहबाट केही मिटर माथिसम्मको भूभाग रहेको प्राकृतिक विविधता छ। जलवायु परिवर्तनको असर नेपालमा पनि उत्तिकै परेको छ। यसमा नेपाल आफ्नो तर्फबाट प्रयासरत छ।’

प्रधानमन्त्रीले नेपाली समाजको विविधताको व्याख्या गर्न एकै परिवारमा १ सय ३५ सदस्यले एकै भान्सामा खाएको सन्दर्भ पनि सुनाए। उनले विदेशी समुदायलाई नेपाली समाजबारेको दृष्टिभ्रम सच्याउन पनि आग्रह गरे।

केही विदेशी अन्तर्राष्ट्रिय संघसंस्थालाई लक्षित गर्दै उनले नेपाललाई सामाजिक हार्दिकता भएको मुलुकका रूपमा व्याख्या गरे। ‘राम्रा कुराको नक्कल जताबाट गरे पनि हुन्छ’, उनले भने, ‘नेपाल निकै सामाजिक हार्दिकता भएको मुलुक हो। हामी यो विश्वलाई सिकाउँनेछौ।’

नेपालमा रेल तथा पूर्वाधारमा चिनियाँ लगानीबारे सोधिएको एक जिज्ञासामा प्रधानमन्त्री ओलीले भने, ‘कुनै पनि मुलुक स्वयंले नचाहेसम्म ऋणको भार बोक्दैन। नेपालले पनि सकेसम्म अनुदान र नभए कम ब्याजको ऋण लिएर विकास प्रक्रिया अघि बढाउने हो। त्यो रेल तथा पूर्वाधार जे पनि हुनसक्छ।’

चिनियाँ लगानीले मुलुक ऋणमा डुब्ने त होइन भन्ने प्रश्नमा प्रधानमन्त्रीले कुनै पनि मुलुकले आफ्नो क्षमता नहेरी ऋण नलिने विचार व्यक्त गरे। ‘क्षमताको अध्ययन गरेर यसबाट हुने तत्काल र दीर्घकालको फाइदा समेत हेरिन्छ’, उनले भने। उनले अन्य मुलुक ऋणमा डुबेको भनिएको विषयमा आफू पूर्ण विश्वस्त नभएको पनि बताए। पछिल्लो समय केही मुलुक खराब ऋणको संघारमा रहेको पढेको तर त्यो सबै सत्यझैं नलागेको प्रधानमन्त्रीको भनाइ थियो।

नेपाली पुर्खाले पश्चिमा शासकसँग लडेर बचाएको भूभागमा नेपालीले गर्र्व गर्ने प्रधानमन्त्री ओलीले बताए। ‘हामी उपनिवेश हुनबाट बच्यौं, जसले हामी विश्वमा गर्व गर्ने स्थान मात्र दिएन, अरुलाई उपनिवेशबाट स्वतन्त्र हुन समेत सघायौं,’ प्रधानमन्त्रीले भने, ‘हाम्रा पुर्खा लड्दा केही भूभाग गुम्यो तर हामी स्वतन्त्र रह्यौं। कसैसँग झुकेको अवस्था आएन।’

उनले परापूर्वकालदेखि नै नेपाल आइनलाग्ने तर जाइलाग्नेसँग पछि नहट्ने पंक्तिमा रहेको र सहकार्यले नै यो सम्भव भएको दाबी गरे। सहकार्यले नै लामो निरंकुश हटाएर नयाँ अवस्थामा आएको पनि उनले चर्चा गरे।

प्रधानमन्त्रीले छिट्टै समृद्ध नेपाल र सुखी नेपाली बन्नेमा दुईमत नभएको पनि दाबी गरे। नेपाली निरंकुशताविरुद्ध लड्दैमा विकास प्रक्रियामा पछि परेको उल्लेख गर्दै प्रधानमन्त्रीले निरंकुशताविरुद्ध लड्दा आफू पनि १४ वर्ष जेल बसेको समेत पटकपटक स्मरण गरे।

‘बन्दुकको नालबाट निस्कने गोलीबाट नभई जनताको मतबाट चुनिने नेतृत्वले अबको विकास गर्छ,’ उनले भने, ‘अहिले निकै परिवर्तन आएको छ। स्पष्ट बहुमतको सरकार छ। ‘समृद्ध नेपाल, सुखी नेपाली’को निम्ति योजना बनाएर काम गरिरहेका छौ।’

नेपालमा सबै राजनीतिक दलले हतियार बोकेको र संघर्ष गरेको भन्दै प्रधानमन्त्रीले माओवादीले बोकेको हतियार र युद्ध प्रसंग कोट्याउन नहुने बताए। हतियार बोकेको दलसँग सहकार्य कसरी भयो भन्ने प्रश्नमा प्रधानमन्त्रीले यस्तो धारणा व्यक्त गरेका हुन्।

प्रधानमन्त्रीलाई कम्युनिस्टहरू कसरी नेपालमा हाबी भए भन्ने प्रश्न पनि गरिएको थियो। जवाफमा उनले नेपालको कम्युनिस्ट आन्दोलन प्रजातान्त्रिक धारमा अडेर जनताको मतबाट संसदीय अभ्यासमा अग्रसर रहेको भन्दै पुरानो आँखाबाट हेर्न नमिल्ने धारणा राखे।

एसियाली तथा अमेरिकी जनता, राजनीतिक नेतृत्व, दल तथा संस्थाबीच आपसी समझदारी प्रवद्र्धन गर्ने उद्देश्यले ‘एसिया सोसाइटी’ सन् १९५६ मा स्थापना भएको हो। राजनीति, शिक्षा, कला, व्यवसाय, संस्कृतिक क्षेत्रमा सोसाइटीले काम गर्दै आएको छ। सोसाइटीमा अन्य नेताहरू आएर पनि प्रवचन दिने गर्छन। विभिन्न सहर र मुलुकमा यसका दर्जनभन्दा बढी शाखा छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.