प्रेरणा र निक च्याम्पियन
काठमाडौं : तेस्रो ललितपुर जिल्ला राष्ट्रिय टेनिस प्रतियोगिताको महिला एकलतर्फको उपाधि प्रेरणा कोइराला र पुरुष एकलतर्फको उपाधि निक रासट्रपले जितेका छन्। सातदोबाटोस्थित टेनिस कोर्टमा बुधबार भएको पुरुष एकलतर्फको फाइनल खेलमा निकले जितेन्द्र परियारमाथि प्रतिस्पर्धात्मक जित हासिल गरे।
पहिलो सेटको खेलमै ४–६ ले पछाडि परेका निक त्यसपछि भने खेलमा फर्किएका थिए। दोस्रो सेटको नतिजालाई ७–५ ले आफ्नो पक्षमा पारेका निकले तेस्रो सेटमा पनि ६–३ अंकको नतिजा निकाल्दै उपाधि चुमेका हुन्। निकले जितेको यो पहिलो उपाधि पनि हो। जितेन्द्र भने अघिल्लो दिन डबल्सतर्फको फाइनलमा पनि पराजित भएका थिए।
यसैगरी महिला एकलतर्फको फाइनलमा प्रेरणाले माहिका राणालाई हराउँदै उपाधि चुमेकी हुन्। पहिलो सेटको नतिजालाई ६–० ले गुमाएकी प्रेरणा त्यसपछि लयमा फर्किएकी थिइन्। प्रेरणाले पछिल्ला दुई सेटको नतिजालाई क्रमशः ६–३, ६–२ अंकले आफ्नो पक्षमा पारेकी थिइन्। एकलतर्फको फाइनलमा प्रेरणासँग पराजित भएपछि माहिकाको दोहोरो उपाधि जित्ने चाहना पूरा हुन सकेन।
अघिल्ला दिन जुम्ल्याहा दिदीबहिनी माहिका र मायंका राणाको जोडीले महिला डबल्सतर्फको उपाधि जितेको थियो। माहिका र मायांकाको जोडीले फाइनलमा आइरा रावत र अभिलाषा विष्टको जोडीलाई ७–५, ६–२ ले पराजित गरेको थियो। यसैगरी पुरुष डबल्सतर्फको उपाधि कमल भण्डारी र प्रणव खनालको जोडीले जितेको थियो। कमल र प्रणवको जोडीले फाइनलमा जितेन्द्र परियार र सन्तोष खत्रीको जोडीलाई ६–१, ३–६, १०–७ ले हराएको थियो।