५ सय इन्जिनियर सरुवा
काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा ५ सय इन्जिनियरलाई स्थानीय तहमा पठाएको छ । तहमा सरुवा गरिएकामध्ये अधिकांशले रमाना नै लिएका छैनन् । तहमा सरुवा गरिएकामध्ये आधाजसोले सरुवा रद्द गराउन राजनीतिक दलका नेता र ट्रेड युनियन धाउन थालेका छन् ।
सामान्य प्रशासन मन्त्रालयले डोलिडारअन्तर्गतका इन्जिनियर, सबइन्जिनियर र डिभिजनल इन्जिनियर गरी ३ सय ९५ जना र ऊर्जा तथा सिँचाइअन्तर्गतका १ सय ६ जना गरी ५ सय १ जनालाई गाउँपालिका तथा नगरपालिकामा सरुवा गरेको हो । ती निकायमा प्राविधिक जनशक्ति अभाव छ । सडक, सिँचाइलगायत विकासका काम अवरुद्ध हुन थालेपछि स्थानीय तहले प्राविधिक कर्मचारी माग गरिरहेका थिए ।
सरुवा भएका अधिकांश इन्जिनियरले मन्त्रालय गएर तहमा जान नसक्ने जनाउ दिएका छन् । उनीहरूले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसँग भेटेर विरोध गर्न खोजेका थिए । मन्त्रीले भेट नदिएपछि उनीहरू नेकपानिकट कर्मचारी संगठनको शरणमा पुगेका छन् । उनीहरू सरुवा रोक्न तत्कालीन एमालेनिकट नेपाल निजामती कर्मचारी संगठन, माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी संगठन र आधिकारिक ट्रेड युनियनमा पुगेका छन् ।
कर्मचारी युनियनका नेता र सत्तारुढ दलका नेता प्रयोग गरी इन्जिनियरहरू सरुवा रद्द गराउन लागेको सामान्यका एक अधिकृतले जानकारी दिए । मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव रुद्रसिंह तामाङले स्थानीय तहमा विकास निर्माणलाई नियमित गर्न इन्जिनियर सरुवा गरिएको बताए । सरुवा भएकालाई पठाउन निकै कठिन भएको उनले बताए । ‘प्राविधिक सरुवा गर्न कठिन हुँदोरहेछ । सरुवा रद्द गराउन नसोचेको ठाउँबाटै दबाब आइरहेको छ’, सहसचिव तामाङले भने ।
सामान्य प्रशासनमन्त्री पण्डितले सरुवा रद्द गराउन जस्तोसुकै दबाब आए पनि अस्वीकार गर्ने दाबी गरेका छन् । सामान्य प्रशासन मन्त्रालयले सहरी विकासअन्तर्गतका इन्जिनियरलाई पनि स्थानीय तहमा खटाउने तयारी गरेको छ । ‘उहाँहरू सरुवा रद्द गराउन विभिन्न निकायमा धाउनुको अर्थ छैन । मन्त्रालयले गरेको सरुवा हचुवामा रद्द गर्ने कुरै छैन’, सहसचिव तामाङले भने ।