'संगीत भनेको सुर-ताल मात्र होइन '
संगीतकार न्ह्यू वज्राचार्यले अरुणा लामादेखि अहिलेको पुस्ताका गायक-गायिकाको स्वरमा संगीत भरेका छन्। अहिले उनी नेपाल आइडलका निर्णायक हुन्। जसमा उनले नयाँ पुस्ताको गायन नियालिरहेका छन्। उनीसँग गोपाल दाहालले गरेको खुलस्त संवादः
तपार्इंको नाम कस्तो अप्ठ्यारो छ। यसको अर्थ के हो ?
धेरै मान्छेलाई मेरो नाम लिन गाह्रो हुन्छ। कतिपल्ट त मेरो नाम नै बिगारेर लेखिएको हुन्छ। मेरो आमाले नेवार भाषामै राख्नुपर्छ भनेर यो नाम राखिएको हो। न्ह्यूको अर्थ नेवारमा मुस्कान हो। मलाई समय-समयमा हाँस्न मन लाग्छ। त्यही भएर मेरो नाम पनि मिल्यो।
नेपाल आइडलको निर्णायक हुनुहुन्छ। कस्तो अनुभव भइरहेको छ ?
एकदम रमाइलो र रोचक भइरहेको छ। आइडलमा गएर धेरै कुरा सिक्न पाइयो।
के-के सिक्नुभयो ?
देशका विभिन्न ठाउँमा गएर त्यहाँको संगीत सुन्न पायौँ। विभिन्न भाषा, संस्कृतिका गीत सुन्यौँ।
यसपटकको अडिसनमा जाँदाका अनुभव के कस्ता छन् ?
मान्छेको जीवनमा दुःख छ, संघर्ष छ, सिक्ने ठाउँ छैन। तर, संगीतले उनीहरूलाई तानिरहेको छ। एक जना बहिनी संघर्ष गरेर महिनामा दुई-तीन हजार रुपैयाँ कमाउँछिन्। त्यो पैसाले आफ्नो बहिनीलाई पढाउँछिन्। अनि, त्यसैबाट केही पैसा बचाएर हार्मोनियम किनेकी रहेछिन्। यस्ता उदाहरण धेरै छन्।
त्यस्ता कुरा सुन्दा/देख्दा कस्तो लाग्यो ?
सरकारले देशका युवाको स-साना आवश्यकता पनि पुर्याउन सकेको रहेनछ भन्ने लाग्यो।
तपाईंले चाहिँ सानोमा संगीत सिक्ने माहौल कस्तो पाउनुभयो ?
म काठमाडौँमा जन्मेहुर्केको हुँ। परिवारका सबैलाई संगीत मन पथ्र्यो। मेरो बुबा नेवार भाषाको साहित्यमा लेखकका रूपमै चिनिनुहुन्छ। आमाले हार्मोनियम बजाएर नेवार भाषाका गीत गाउनुहुन्थ्यो, भजन गाउनुहुन्थ्यो। त्यसले मलाई पनि आकर्षित गर्यो। दिदी, दाइ पनि गाउनुहुन्थ्यो तर कोही पनि व्यावसायिक रूपमा संगीतमा लाग्नुभएन। त्यतिबेला साना बच्चाहरूलाई त सिक्ने कुनै ठाउँ थिएन। आमाले सानोमा एउटा माउथ हार्मोनियम किनिदिनुभएको थियो। त्यसैमा चल्दाचल्दा, खेल्दाखेल्दा संगीतसँग नजिक भएँ, सिकेँ।
तपाईंले सानोमा पाएको माहौल र अडिसनका क्रममा देशका विभिन्न ठाउँमा पुग्दा देख्नुभएको माहौलमा के फरक लाग्यो ?
हाम्रो टाइममा मान्छेका आवश्यकता कम थिए। अहिलेको जीवनमा आवश्यकता धेरै छन्। समय व्यवस्थापन गर्न गाह्रो छ। अहिलेका युवालाई मैले गाह्रै देखेँ।
किन त्यस्तो भयो होला ?
संगीत भनेको एकदम कमाउँछु भन्नेका लागि होइन। म संगीतमा लाग्नुअघि अग्रजहरू कोही पनि यसमा पैसा कमाउने हिसाबले लागेको देखिनँ। उनीहरू कसैले कमाएनन् पनि। गायनलाई साधनाका रूपमा लिए।
आइडलमा गाउन नसक्नेलाई पनि रमाइलोका लागि ल्याइयो भन्ने चर्चा छ नि ?
हो। तर, संगीत भनेको गाउन जान्नेको मात्र पेवा त होइन नि। आइडलको फम्र्याट पनि यही हो। मेरी श्रीमतीले घरमा तरकारी पकाउँदै गाउँछिन्, उनले पनि त गाउन पाउनुपर्यो नि। पत्रकारले पनि कहिलेकाहीँ बाटोमा गुनगुनाएको देख्छु। गुनगुनाउनै पाइँदैन भन्न मिल्छ र ? कसैलाई आफू राम्रो गाउन सक्दिनँ भन्ने पनि थाहा होला तर रहरले पनि गाउन आउँछन् नि।
गायन प्रतियोगितामा गायनलाई नै प्राथमिकता दिनुपर्ने होइन र ?
आइडललाई संकुचित विचारले हेर्नु हुँदैन। फराकिलो सोचकै कारण आइडल यति लोकप्रिय छ। संगीतलाई हामीले पुरानो चश्मा लगाएर मात्र हेर्नु हुँदैन। मैले वीरगञ्जमा जन्नत खानलाई भेटेँ। उनलाई नेपाली नै राम्रो बोल्न आउँदैन तर यही देशको नागरिक हुन्। उनलाई गाउन मन छ। उनले आफ्नै तरिकामा गाउन त पाउनुपर्छ नि। उनले कसरी म्युजिकलाई इन्जोय गर्छिन्, त्यो महत्वपूर्ण कुरा हो।
नेपाल आइडलको जजका रूपमा तपाईंहरू प्रतियोगीमा के खोज्नुहुन्छ। केमा ध्यान दिनुहुन्छ ?
हामी गायनमा यसको कति अगाडिसम्म सम्भावना छ भन्नेमा ध्यान दिन्छौँ। कतिको सुनेपछि त हामीलाई पहिल्यै थाहा हुन्छ, यो मान्छे यो लेभलसम्म मात्र जान सक्छ भन्ने। तर, उनीहरूलाई हामी किन ल्याउँछौँ भने हामीले त्यतिसम्म पनि ल्याएनौँ भने उनीहरूमा भएको प्रतिभा त्यहीँ हराउँछ। उनीहरूलाई फलो गर्ने मान्छे नै हुँदैनन्। उनीहरूलाई यहाँ ल्याउनु भनेकै उनीहरूले यहाँको माहौल थाहा पाएर अझै सिकून् भन्ने पनि हो। यहाँ आएपछि उनीहरूले अरू साथी भेट्छन्, कसले कसरी गाउँछ भन्ने बुझ्छन्। एकापसमा सिक्छन्। उनीहरूलाई गाइड गर्ने उनीहरूकै लेभलको साथी पाउँछन्।
कतिलाई हाँसोको पात्रका रूपमा मात्र पनि ल्याइयो भन्ने चर्चा पनि छ नि ?
नेपाल आइडलले सबै किसिमका प्रतिभालाई वेलकम गर्छ। हाम्रो वातावरणमा जस्ता किसिमका सिंगर छन्, उनीहरूलाई पनि त म यस्तो छु भनेर आफ्नो प्रतिभा देखाउने अवसर दिनुपर्यो नि।
कस्ता प्रतिभा आइडल हुन सक्छन् ?
आइडल भनेको गीत मात्र गाउन जानेर हुँदैन। गीत गाउन चाहिँ जान्नैपर्छ, अनि पब्लिकको अगाडि प्रभाव जमाउन सक्ने, छाप छाड्न सक्ने हुनुपर्छ।
अघिल्लो र अहिलेको आइडलका प्रतिस्पर्धीहरूको मूल्यांकन कसरी गर्नुहुन्छ ?
पहिलाको आइडलमा ठाउँ-ठाउँ जाँदा हामीले सिंगरहरू छानेर ल्यायौँ। त्यसपछि सेकेन्ड सिजनमा पनि जाने कुरा गर्दा सबै आइसके, सिंगरहरू नै सकिइसके कि जस्तो फिल हुन्थ्यो। अब कहाँ खोज्ने होला जस्तो लाग्थ्यो। अघिल्लो आइडलको लेभलबाट हेरिरहँदा सुरुमा त चिन्ता पनि लाग्यो। बिस्तारै छान्दै गयौँ, राम्रा-राम्रा गायक भेट्दै गयौँ। त्यसपछि लाग्यो, यो पहिलाको सिजनभन्दा कम शानदार हुँदैन।
काउली बूढी (सन्ध्या बुढा) अडिसनमा आउँदा निर्णायकहरू अल्मलिए जस्तो देखियो। थाहा थियो कि थिएन ?
काउली बूढी ८० वर्षको भनेर आउँदा जिस्काउन, प्य्रांक गर्न आएजस्तो लागेको थियो। त्यो बेला हामी झुक्किएकै हो। हामीलाई जानकारी नै थिएन। काउली बूढी आउट हुँदा धेरै दर्शक निराश भएको पनि पाइयो। उनी एकदम राम्रो सिंगर हुन्। उनी आउट होऊन् भन्ने हामी कसैको पनि सोच थिएन। उनले राम्रो गाऊन् भनेर प्रार्थना गरिरहेका थियौँ। तर, त्यो बेला उनको प्रस्तुति कमजोर भयो। हामीलाई थाहा थियो, उनी भएपछि हाम्रो प्रोग्राम पनि धेरैले हेर्छन् भन्ने। तर, त्यो बेलामा उनलाई राख्नु भनेको एउटा राम्रो गाउनेलाई अन्याय गर्नु हुन्थ्यो। उनलाई मुटुमा ढुंगा राखेर आउट गर्नुपर्यो। उता उनी रुँदा, यता हाम्रो मन पनि रोइरहेको थियो। हामीले उनलाई धेरै मिस गरेका थियौँ।
कुनै राम्रो गाउँछ भन्ने लागेको प्रतिस्पर्धी आउट हुँदा कस्तो लाग्छ ?
एकदम दुःख लाग्छ। सुरुमा धेरै प्रतिस्पर्धी हुन्छन्, हामीले अलि कडा पनि हुनुपर्छ। तर, पछि छानिँदै आएपछि उनीहरू हाम्रा छोराछोरीजस्तै हुन्छन्।
झक्कड थापालाई फेरि ल्याउनुको कारण के हो ?
पहिलकै सिजनमा पनि अडिसनमा प्रसारण भएपछि झक्कडलाई धेरै दर्शकले फेरि ल्याउन आग्रह गरे। हामीले पहिला पनि उनलाई धेरै खोजेका हौँ तर त्यतिबेला उनी अडिसन दिएर काम गर्न इन्डियातिर गइसकेका रहेछन्। उनलाई नेपालमा आफ्नो यति चर्चा भइरहेको छ भन्ने थाहा पनि रहेनछ। आउनेहरू पनि आफैँ रमाइलो गर्छु भनेर आउँछन्, कति त हामीलाई जोक गर्छु भनेर पनि आउँछन्। यो आइडलको इन्टरनेसनल प्य्राक्टिस पनि हो। उनीहरूले एउटा छाप छाडेर गए।
गायन हो नि प्राथमिकता त। यस्तो गर्नु राम्रो हो कि होइन ?
सिंगिङ भनेको कोभन्दा को राम्रो भन्ने हो। गाउन त सबैले आ-आफ्नै शैलीमा गाउन सक्छन्।
प्रतियोगीका दुःख सुनेर, अनुहार हेरेर पनि छान्छन् भन्ने आरोप पनि छ नि ?
त्यस्तो होइन। हेर्ने क्षमता नै हो। प्रतियोगी कति दौडिन सक्छ भन्ने नै हो।
तपाईंको पालामा त आफ्नो प्रतिभा देखाउन पनि निकै गाह्रो थियो, है ?
आइडल जस्तो प्रोग्राम आएर अहिलेको पुस्ता भाग्यमानी भएको छ। यस्तो प्लेटफर्म पाउनु ठूलो कुरा हो। म २०४४÷२०४५ सालतिर रेडियो नेपालको महोत्सवमा भाग लिन गएको थिएँ। त्यसमा भाग लिन दार्जिलिङतिरबाट पनि आउँथे। त्यो साल म कम्पोजिसनमा फस्ट भएँ। मलाई नातिकाजी दाइले त्यो बेलामा बधाई दिनुभयो अनि मैले मेरो जज को थियो भनेर सोधेँ। मेरो जज नारायणगोपाल हुनुहुँदो रहेछ।
संगीतमा अहिलेका पुस्ताको अवस्था कस्तो देख्नु हुन्छ ?
पहिला हेरेर अहिले आउने युवाहरू हाम्रो पालामा भन्दा धेरै जानेर आएका छन् जस्तो लाग्छ। कति त गिफ्टेडहरू नै छन्। हामी संगीत सिक्दा क्यासेट प्लेयर सुनेर अभ्यास गथ्र्याैं। आजकल युट्युबहरू छन्, संसारकै ढोका खुलेको छ। अहिलेको पुस्तालाई संसारको संगीतको जानकारी छ। उनीहरू एकदमै स्मार्ट छन्।
\अहिले सम्पादन गरेर स्वर मिलाउन सकिन्छ, त्यसैले अहिलेको पुस्ता कम मेहनत गर्छ भन्नेहरू पनि छन् नि ?
मेहनत नगरी त कहाँ हुन्छ र ? कोही अल्छी पनि होलान्। प्रविधिले उनीहरूलाई सहज बनाइदिएको हुन सक्छ। तर, संगीत भनेको सुर र ताल मात्र होइन। कलाकार त्यो हो, जसले एक्स्प्रेस गर्छ, जसले फिल गर्छ। आफ्नो भाव व्यक्त गर्न जानेन भने भावलाई कम्प्युटरले पनि मिलाउन सकिँदैन। आफूलाई अभिव्यक्त गर्न सक्ने नै कलाकार हो।
पहिला त वान टेकको जमाना थियो। त्यसका लागि धेरै मेहनत गरिन्थ्यो नि ?
त्यो बेलाको अवस्था अर्कै थियो। अहिले पनि स्टेजमा गाउँदा त वान टेक नै हो नि। टेक्नोलोजीले साथ मात्र दिएको हो। पहिलाको रेकर्डिङ मोनोमा हुन्थ्यो, रेकर्डिङ राम्रो थिएन। पहिलेका गीतमा वान टेक भएकै कारण अलिअलि बिग्रियो भने 'ल-ल भइहाल्छु भनेर सम्झौता गर्ने चलन पनि थियो। त्यसले पुराना धेरै गीत बिग्रिएका पनि छन्। पुरानो सबै राम्रो, नयाँ केही भएन भन्नु गलत हो।
अहिले पनि धेरैले पुरानै गायकका गीत मन पराउँछन्।
अहिलेका गीतको आयु एकदम छोटो हुन्छ। किन होला ?
मेरो पुस्ता नारायणगोपाल, गोपाल योञ्जन, नातिकाजीका गीत सुनेर हुर्कियो। एउटा नोस्टाल्जिया हुन्छ नि। मलाई ती गीत आउँदा अहिले पनि मन पर्छ, किनभने त्यहाँ गीत मात्र हुँदैन, त्योसँगै मेरो युवाकालको माहौल नै आउँछ। अहिले बनिरहेका गीतहरू अबको ३० वर्षपछि अहिलेको पुस्तालाई पनि त्यस्तै लाग्छ। अहिले पनि सबैले गोपाल योञ्जन, नातिकाजीजस्तै ट्युन गरिराख्ने हो भने संगीत कति निरस हुन्छ होला।
तपाईंले धेरै गायकगायिकासँग काम गर्नुभयो। पहिलेका पुस्ता र अहिलेका पुस्तासँग काम गर्दाका अनुभव कस्ता छन् ?
मैले सुरुमा अरुणा लामा, प्रेमध्वज प्रधान, फत्तेमान, बच्चु कैलाश, योगेश वैद्यसँग काम गरेँ। त्यो बेलामा अहिलेजस्तो ह्वारह्वार रेकर्डिङ गर्ने प्रविधि थिएन। जहिले पनि सँगै बसेर प्य्राक्टिस गर्ने, गायकसँग बसेर गीत तयार गर्ने चलन थियो। त्यसपछि रविन शर्मा, प्रकाश श्रेष्ठ, दीपक खरेल, सुक्मित गुरुङ, तारा थापालगायतसँग गरेँ। उहाँहरूसँग अलि बढी निकट थिएँ। साथी, दाइदिदीहरूको जस्तो सम्बन्ध भयो। त्यसपछि रामकृष्ण ढकाल, निमा रुम्बा, योगेश्वर अमात्य, लोचन भट्टराई, पवित्रा सुब्बा, सुगम पोखरेल, उदय सोताङ, मनिला सोताङ, सिने गुरुङहरूसँग झन् नजिकका साथीजसरी काम गरियो। त्यसमध्ये योगेश्वर अमात्य त मेरा बेस्ट फ्रेन्ड नै भए। उनले गाएकामध्ये सबैभन्दा बेसी मेरै कम्पोजिसन होला। रामकृष्ण त मेरो भाइजस्तै हुन्। त्यस्तै, आनी छोइङसँग काम गरेँ। रिमा गुरुङ, हेमन्त शर्मा, सनुप पौडेललगायत धेरैसँग काम गरियो। पछिल्लो पटक डिकी उक्याब, मार्सिया अधिकारी, श्रेया सोताङजस्ता नयाँ पुस्ताका गायकसँग गरिरहेको छु।
'सय थरी बाजा, 'फूलको आँखामा जस्ता सुन्दर गीत कसरी बनाउनुहुन्छ ?
मलाई अरू केही पनि गर्न नआएकाले मेरो ध्यान संगीतमा मात्र भयो। संगीत मेरा लागि कहिल्यै कामजस्तो भएन। संगीत त सधैं हामीले राम्रै बनाऔँ भनेर बनाउँछौँ। कुनै पनि संगीतकारले आज एउटा नराम्रो गीत बनाऔँ भनेर बनाउँदैन। मीठै बनाउँछु भनेर बनाउँछ। कुनै गीत नोटिस हुन्छ, कुनै ओझेलमा पर्छ।
फुल टाइम संगीतमै लाग्छु भन्ने योजना कहिलेबाट बन्यो ?
म फुल टाइम लाग्छु भनेर आएकै होइन। त्यतिबेला संगीतलाई व्यवसाय बनाउने वातावरणै थिएन। मेरो परिवार संगीत त मन पराउँथ्यो तर त्यो बेलामा संगीतमा लाग्नेहरू बिग्रिन्छन् भन्ने थियो। मेरो परिवार पनि चिन्तित थियो। म्युजिकबाट टाढा रहेर पढाइमा ध्यान देओस् भनेर मेरा अभिभावकले फर्पिङको त्रिभुवन आदर्श स्कुलमा होस्टेलमा भर्ना गरिदिए। तर, त्यहँ एक जना शिक्षक गिटार बजाउँदा रहेछन्। कक्षा ६ देखि मलाई उनैले गिटार बजाउन सिकाए। त्यसपछि झन् संगीतमा लागियो।
क्यासेटको चलन हुँदा कत्तिको रोयल्टी पाउनुहुन्थ्यो ?
त्यो बेला मैले सुरुमै पारिश्रमिक लिएर क्यासेट दिने भएकाले रोयल्टी पाइनँ। अहिले पनि रोयल्टीमा त्यति ध्यान दिएको छैन। त्यो बेला रामकृष्ण ढकालको 'आशा' एल्बम धेरै बिक्यो भन्ने थियो तर त्यतिबेला रोयल्टी भन्ने चलन पनि थिएन। सीडीको जमाना आएपछि 'फूलको आँखामा'बाट चाहिँ राम्रै रोयल्टी पाएको थिएँ। सीआरबीटी÷पीआरबीटीमा के-के छ भनेर मैले ध्यान दिएको छैन। अहिलेसम्म पाएको पनि छैन।
अहिले कभर सङ गर्ने चलन छ। यसलाई कसरी लिनुहुन्छ ?
जहिले पनि नयाँ पुस्ताले पुरानो पुस्ताका गीतहरू सुनेर सिक्छ। हामी पनि नारायणगोपालका गीत गाउँथ्यौँ। त्यतिबेला युट्युब थिएन र पो त। सिक्ने भनेको त्यसरी त हो नि। पहिला रेडियो नेपाल मात्र थियो गीत रेकर्ड गर्ने तर गाउने मान्छे धेरै थिए। पालो पाउन एक डेढ वर्ष कुर्नुपथ्र्यो। अहिले कसैले गाउने इच्छा भएको मान्छेले गाउँछन् तर शब्द जथाभावी बिगारेर गाउनु हुँदैन। कतिले क्रेडिटै दिँदैनन्। यो चाहिँ एकदम नराम्रो पक्ष हो। यस्तै गरेर कतिपय कुरा बिग्रिएर जान्छन्। नत्र कभर सङ गाउने चलनका कारण धेरैले गाउने इच्छा पूरा गर्न पाएका छन्। सीप भएका मान्छे कभर गाएकै भरमा पनि कलाकार भएर निस्किएका छन्।
र्याप गीत मन पराउने दर्शकको हिस्सा पनि ठूलो हुँदै छ। कति अग्रजले यसलाई विकृति पनि मान्छन्। तपाईंलाई कस्तो लाग्छ ?
सुरु-सुरुमा संगीत सायद लोकगीतबाट सुरु भयो। नेपालकै सन्दर्भमा कुरा गर्दा पहिला-पहिला मान्छेहरू भजन मण्डलीमा गएर गाउँथे। समयसँगै संगीत परिवर्तन हुँदै आउँछ। र्याप पनि एउटा शैली हो। पहिला काठमाडौँबाट टाढा जाने चलनै थिएन। अहिले घरमै बसेर संसार हेर्न पाइने टाइममा यो सामान्य हो। रक आउँछ, ब्लुज आउँछ। मान्छेले मन लागेको गर्न पाउनुपर्यो नि।
जनवादी गीत कस्तो लाग्छ ?
राम्रो लाग्छ। जनवादी गायकहरूले त्यस्ता गीत गाएर परिवर्तन पनि ल्याएका हुन्। जनतालाई चेतनामूलक गीत सुनाएर, एउटा लक्ष्य लिएर सचेत गराएका हुन्। 'बलिदान फिल्ममा 'रक्त क्रान्तिको' र 'गाउँ गाउँबाट गीतमा मैले पनि गाएको छु। त्यसमा म पनि गायकका रूपमा छु। २०३७ सालतिर नेवार भाषाको मंका खलमा प्रोग्राम गर्न जाँदा रामेश दाइहरू पनि सँगै हुनुहुन्थ्यो। उहाँहरूका गीत धेरै सुन्थेँ।
अहिलेको पुस्ताले यस्ता गीत त्यति गाएको सुनिँदैन। किन होला ?
अहिलेका पुस्ताले पनि गाउँछ। हाम्रो मिडियाले कति प्राथमिकता दिन्छ भन्ने पनि हो। जस्तो, 'कुटुम्बु ब्यान्डले परम्परागत बाजा बजाइरहेको छ। मौलिक संगीतमा रिसर्च गर्नेहरू पनि त्यत्तिकै छन्। सारंगी बजाएर गाउने युवा पनि उत्तिकै छन्। पहिला केटीहरूले धिमे बाजा बजाएको कहीँ देखिँदैनथ्यो। अहिले देखिन्छ।