वाइड बडी छानबिन लेखा समितिमा
काठमाडौं : नेपाल वायुसेवा निगमले भिञ्याएका दुईवटा वाइड बडी जहाज खरिदमा भएको अनियमितता संसद्को सार्वजनिक लेखा समितिले छानबिन गर्ने भएको छ। समितिको एक साताअघि बसेको बैठकले वाइड बडी जहाज खरिदसम्बन्धी कागजात मगाउने निर्णय गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र पठाएको थियो।
सोही पत्रका आधारमा पर्यटनले पठाएको कागजात यसअघिको बैठकमा समिति सदस्यलाई बाँडिएको समितिका सभापति भरतकुमार शाहले जानकारी दिए।शाहका अनुसार सोही कागजात अध्ययन गरेपछि वायुसेवा निगमको वाइड बडी जहाज खरिदमा अनियमितता भएको आशंका गरिएकाले थप छानबिन गर्नुपर्ने आवश्यकता सांसदले बिहीबारको बैठकमा उठाएका छन्।
यो विषय महालेखा परीक्षकको प्रतिवेदनमा पनि उल्लेख छ। महालेखाले उठाएको विषयमा थप बुझ्नुपर्ने आवश्यकता देखिएकाले शुक्रबार बस्ने समितिको बैठकमा महालेखा परीक्षकलाई आमन्त्रण गरिएको छ। महालेखाले निगमको उक्त वाइड बडी जहाज खरिदमा औंल्याएको बेरूजुलाई स्पष्ट पार्नेछ।
यो जहाज खरिद गर्दा भएको कमजोरीमा थप छानबिन गर्न र निष्कर्षमा पुर्याउनकै लागि लेखा समितिले थप कागजात पनि पर्यटन मन्त्रालयमार्फत वायुसेवा निगमबाट मागेको शाहले जानकारी दिए।
‘महालेखाले प्रतिवेदनमा उल्लेख गरेकाले सोही विषयमा केन्द्रित भएर लेखा समितिले अध्ययन गर्ने भएको छ’, शाहले भने। पहिले आवश्यक प्रक्रिया र के भएको रहेछ भन्ने विषयमा छलफल गर्ने र आवश्यकताअनुसार वायुसेवा निगम पदाधिकारीलाई पनि छलफलमा बोलाइने शाहले बताए।
महालेखाले बेरुजु सार्वजनिक गर्दा स्पष्ट उल्लेख गरेकाले वाइड बडीको छानबिन हुनुपर्ने माग आफूहरूले गरेको समितिका सदस्य तथा सांसद राजेन्द्रकुमार केसीको भनाइ छ। मन्त्रालयले समितिलाई वाइड बडी जहाजको टेन्डर डकुमेन्ट, न्यारो बडीदेखि वाइड बडी खरिदसम्मको इतिहास पठाएको छ। ‘यो विषयमाथि समितिका सदस्यले अध्ययन गरेका र थप डकुमेन्ट आवश्यक भएको निष्कर्षसहित वाइड बडी छानबिन गर्नुपर्ने माग गरिएको हो’, केसीले भने।
वायुसेवा निगमले बाइड बडी खरिदमा कुन जहाज किनेको, कतिमा किनेको, निर्माता कम्पनीमार्फत नकिनेर किन एजेन्ट खडा गरेको, एजेन्टमा पनि नक्कली खडा गरिएको भन्ने विषय उठेको छ। सोही विषयमा थप स्पष्ट पार्दै जाने र पहिले महालेखाको प्रतिवेदनमाथि छलफल गरेपछि थप छलफल गर्दै जाने विषय उठेको छ।
समितिले वाइड बडी खरिद प्रकरणमा भएको अनियमिततामा थप अध्ययन गर्न माग गरिएका कागजातसँगै समितिले थप विवरण पनि मागिसकेको समितिका सचिव डा. रोजनाथ पाण्डेले जानकारी दिए। ‘समिति सदस्य सांसदले उठाएको विषय र माग गरेको डकुमेन्ट समितिमा पठाइदिन यसअघि पत्र पठाइएको थियो’, उनले भने।
मन्त्रालयले पहिलो चरणमा पठाएको डकुमेन्ट अपुरो भएको निष्कर्षसहित थप विवरण पनि माग भएको जानकारी पाण्डेले दिए। समितिको बिहीबारको बैठकमा सांसदहरूले वाइड बडी खरिदमा भएको अनियमितता विषयमा सम्बन्धित निकायका अधिकारीसँग नै आवश्यक छलफल गर्नुपर्ने मागसमेत गरेका छन्। समितिको बैठकमा बोल्ने अन्य सदस्य सांसद हृदयेश त्रिपाठी, विरोध खतिवडा, प्रेमबहादुर आले, पुष्पाकुमारी कर्ण, धर्मशीला चापागाईंलगायतले वाइड बडी विमान खरिद अनियमितता, बेरुजु फछ्र्योटलगायत विषयमा गम्भीर छानबिन हुनुपर्ने माग गरेका छन्।
वायुसेवा निगमले एयरबस कम्पनीबाट सीधै दुईवटा वाइड बडी विमान नकिनेर बीचमा दलाल खडा गर्नु, सेकेन्डह्यान्ड जहाज भनेर नयाँ खरिद गर्न कागजात मिलाउनु र तोकिएको समयभन्दा ढिलो गरेर एजेन्टमार्फत जहाज किन्नु नै अनियमितता भएकाले छानबिनको घेरामा परेको छ।
निगमले टेन्डर पार्ने एउटा, सम्झौता गर्ने अर्को, जहाज बेच्ने अर्कै गरेर फरकफरक कम्पनी देखाएको छ। निगमले जहाज किनेको कम्पनी नै नक्कली सावित भइसकेको छ। निगमले २४ अर्ब रुपैयाँ किनेको दुईवटा वाइड बडीमा भएको अनियमिततालाई छर्लंग पार्ने गरी अनुसन्धान हुनुपर्ने तर्क पनि सांसदले उठाएका छन्।