दिगो विकास लक्ष्य प्राप्त गर्न वार्षिक २० खर्ब खर्चिनुपर्ने
काठमाडौं : नेपालले दिगो विकास लक्ष्य (एसडीजी) प्राप्त गर्न वार्षिक २० खर्ब रुपैयाँ खर्च गर्नुपर्ने भएको छ। यस अघि तयार पारिएको नेपालको दिगो विकाससम्बन्धी प्रारम्भिक खाकामा लक्ष्य प्राप्त गर्न वार्षिक १८ खर्ब खर्चिनुपर्ने अनुमान गरिएको थियो। विश्व विकासको साझा प्रतिबद्धता स्वरुप तयार पारिएको दिगो विकास लक्ष्य प्राप्त गर्न देशमा वार्षिक करिब २० खर्ब खर्च गर्नु देखिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले जानकारी दिए ।
पृथ्वी, मानिस, समृिद्ध, शान्ति र समझदारीका लागि तयार गरिएको कार्ययोजना नै दिगो विकास लक्ष्य हो। ‘हामीले दिगो विकास लक्ष्यको विस्तृत विवरणसहितको खाका तयार पारिसकेका छौं’, उनले भने, ‘प्रधानमन्त्री केपी ओली स्वदेश फर्किएपछि बुझाउनेछौं ।’ ‘दिगो लक्ष्य प्राप्त गर्न गरिने यो खर्च सरकारीमात्रै नभइ निजी क्षेत्र, विकास साझेदारबाट पनि गरिने कँडेलले बताए ।
प्रतिवेदनअनुसार सन् २०३० सम्म गरिबीको रेखामुनि रहेका २१.६ प्रतिशत गरिबीलाई ५ प्रतिशतमा झार्ने, प्रतिव्यक्ति कुल राष्ट्रिय आय २५ सय अमेरिकी डलर पुर्याउने, आर्थिक जोखिम सूचकांक २४.६ बाट १८.९ मा झार्ने, भू–उत्पादकत्व ६ मेट्रिक टन प्रतिहेक्टर पुर्याउने लक्ष्य निर्धारण गरिएको छ ।
दिगो विकास लक्ष्यले विद्युत् र स्वच्छ खानेपानीमा पहुँच पुगेको जनसंख्या ९९ प्रतिशत पुर्याउने, प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन वृद्धि ७ प्रतिशत पुर्याउने लक्ष्य तय गरको छ। बेरोजगारी १० प्रतिशतभन्दा तल झार्ने, सडकको घनत्व ५ किमि पुर्याउने, आय असमानता ०.४६ बाट ०.२३ मा झार्ने, सुरक्षित घरमा बस्ने जनसंख्या २९.८ बाट ६० प्रतिशतमा पुर्याउने, वन विनाश शून्यमा झार्ने, सार्वजनिक प्रशासनको गुणस्तर अंक ३.१ बाट ५ पुर्याउनेलगायत लक्ष्य निर्धारण गरिएका छन् ।
सन् २०१२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न रियो २० सम्मेलनमा विश्वव्यापी विकास एजेन्डाको खोज स्वरूप दिगो विकासको अवधारणाका जन्मिएको हो। सन् २०१३ मा संयुक्त राष्ट्र संघद्वारा गठित ३० सदस्यीय कार्य समूहले १५ वर्षे दिगो विकास लक्ष्यको प्रस्ताव तयार पारेको थियो ।
एक सय ९३ वटा राष्ट्र सहभागी संयुक्त राष्ट्र संघको ७०औं महासभाले २५ सेप्टेम्बर २०१५ मा दिगो विकास लक्ष्य स्वीकृत गरेको थियो। सन् २०१६ देखि कार्यान्वयनमा आएको दिगो विकास लक्ष्यमा १७ वटा लक्ष्य, एक सय ६९ वटा सूचक र दुई सय ३९ वटा सहायक सूचक छन् ।