प्रधानमन्त्री ओली साइडलाइन भेटवार्ता गर्दै
न्युयोर्क : प्रधानमन्त्री केपी ओलीले नेपाल-भारत सम्बन्ध अझ सुदृढ पार्न र सहकार्य गर्न दुवै देश प्रयासरत रहेको बताएका छन् । भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँगको भेटेलगत्तै सञ्चारकर्मीसँग उनले नेपाल-भारत सम्बन्ध कसरी अझ सुदृढ बनाउने र तत्काल निर्माणाधीन परियोजना निष्कर्षमा पुर्याउन छलफल भइरहेको बताए । विदेशमन्त्री स्वराज भारतीय टोलीको नेतृत्व गर्दै महासभामा आएकी थिइन् ।
स्वराजले बिम्स्टेक बैठकका बेला भएका दुईपक्षीय छलफलको निरन्तरताकै रूपमा वार्ता गरेकी थिइन् । गत महिना काठमाडौंमा सम्पन्न बिम्स्टेक शिखर सम्मेलनमा उनी सहभागी भएकी थिइनन् । नेपाल-भारत सम्बन्ध पछिल्लो समय निकै सुधारोन्मुख देखिएको अवस्थामा दुई देशबीच परियोजना अघि बढाउनेदेखि सहकार्यमा जोड दिन छलफल भएको संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।
नेपाल-भारत सम्बन्ध केही समययता सुमधुरतातर्फ उन्मुख छ । बिम्स्टेक सम्मेलनपछि भारतमा भएको बिम्स्टेक संयुक्त सैन्य अभ्यासमा नेपालले सेना नपठाएपछि दुवै देशबीच यो पहिलो उच्चस्तरीय कूटनीतिक भेटघाट हो । बिम्स्टेकको सैन्य अभ्यासमा सहभागिताबारे चर्को आलोचना भएपछि ओली सरकारले सम्मेलनमा यसको निर्णय नभएको भन्दै अभ्यासमा सेना पठाएन ।
प्रधानमन्त्री ओली-स्वराज भेटघाटमा नेपाल-भारत सम्बन्धबाहेक दक्षिण एसियामा शान्ति र सहकार्यबारे छलफल भएको परराष्ट्रका अधिकारीले जानकारी दिए । स्वराजले अघिल्लो दिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गरेकी थिइन् । प्रधानमन्त्री ओली बसेको होटल ग्रान्ड हायातमा भारतीय विदेशमन्त्री स्वराज भेट्न आएकी थिइन् । दुवैबीच आधा घण्टाभन्दा बढी समय वार्ता भएको थियो ।
प्रधानमन्त्री ओलीले बेलायती प्रधानमन्त्री थेरेसा मेसँग पनि भेट गरे । नेपाल-बेलायतको शताब्दीयौं पुरानो मित्रता तथा द्विपक्षीय सम्बन्ध स्मरण गरिएको भेटमा दुई देशबीचको सम्बन्ध कसरी अझै बलियो र क्रियाशील बनाउने वार्ता भएको थियो । दुवै देशका प्रधानमन्त्रीले एकअर्कालाई भ्रमणको निमन्त्रणा समेत दिए ।
राष्ट्र संघका लागि नेपाली स्थायी नियोगका कार्यवाहक प्रमुख निर्मलराज काफ्लेका अनुसार बेलायती प्रधानमन्त्रीसँग दुईपक्षीय सम्बन्ध विस्तार, भ्रमण, व्यापार, लगानी र सहयोगबारे छलफल भएको थियो । बेलायती प्रधानमन्त्री मेले प्रधानमन्त्री ओलीसँग भेट गर्न अभिरुची देखाएकी थिइन् । उनले बेलायतको सुुरक्षामा नेपालीको भूमिका, दुवै देशको पुरानो सम्बन्ध र नेपालको राजनीतिक अवस्थाबारे छलफल गरेकी थिइन् ।
नेपाली सेनाका कर्णेल कुमार लामा बेलायतमा पक्राउ परेपछि नेपाल-बेलायत सम्बन्ध खासै सुमधुर थिएन । भूकम्पका बेला बेलायतको अनुरोधलाई समेत तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले बेवास्ता गर्दा उद्धारका लागि आएको चिनुक हेलिकप्टरसहितको बेलायती टोली भारतको पुणेबाट फर्कनु परेको भेटमा उठ्ने गरेको थियो । नेपाल-बेलायत कूटनीतिक सम्बन्धको २ सय वर्ष पुगेको अवसरमा वर्षगाँठसमेत मनाइसकेको छ ।
प्रधानमन्त्री ओलीले राष्ट्र संघ मुख्यालयमा स्विट्जरल्यान्डका राष्ट्रपति एलँ बेर्सेटसँग पनि भेटवार्ता गरे । देशको पछिल्लो राजनीतिक अवस्था र विकास कार्यबारे नै छलफल भएको भेटका एक सहभागीले बताए । स्विट्जरल्यान्डले नेपालको ग्रामीण विकासमा र संघीयतालगायत विषयमा गरेको सहयोगको सराहना प्रधानमन्त्रीले गरे । यसअघि पनि साइडलाइनमा प्रधानमन्त्री ओलीसँग कोलम्बिया, बुल्गेरिया, क्यानडालगायत राष्ट्र एवं सरकार प्रमुखले भेटेर नेपालसँग सम्बन्ध विस्तारसँगै नेपालले शान्ति प्रक्रियामा हासिल गरेको उपलब्धि र सरकारको कार्यशैलीमा चासो देखाएका थिए । वाम सरकार भनिए पनि प्रधानमन्त्रीले लोकतन्त्रको जगमा गठन भएको र त्यसमा कुनै तलमाथि नहुने विश्वका नेताहरूलाई आश्वस्त पारिरहेका छन् ।
१ सय ६२ औं देशसँग कूटनीतिक सम्बन्ध
नेपाल र मडागास्करबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा मडागास्करका विदेशमन्त्री एलोइ अलफोन्स म्याक्सिम दोभोले दुईपक्षीय कूटनीतिक सम्बन्ध स्थापनाको समझदारीपत्रमा हस्ताक्षर गरे । मडागास्कारसँग सम्बन्ध विस्तारपछि नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएका देशको संख्या १ सय ६२ पुगेको नियोगले जनाएको छ । हिन्द महासागरस्थित टापु राष्ट्र गणतान्त्रिक मडागास्कर विश्वकै चौथो ठूलो टापु देश हो ।
राष्ट्र संघ मुख्यालयमा अति कम विकसित राष्ट्रहरूको मन्त्रीस्तरीय बैठकमा सहभागी मन्त्री ज्ञवालीले शान्ति र विकास अभियानका सदस्यहरूले आपसमा सहकार्य गर्दै शान्त विश्व निर्माणमा योगदान गर्नुपर्ने बताए । उनले गरिबी, असमानता, बेरोजगारी, जलवायु परिवर्तन, प्राकृतिक प्रकोप र आन्तरिक द्वन्द्व अति कम विकसित राष्ट्रको प्रगतिमा बाधक रहेको बताए । (बक्स) महासभामा प्रधानमन्त्रीको सम्बोधन बिहीबार
प्रधानमन्त्री ओलीले स्थानीय समयअनुसार बिहीबार साँझ ५ः१५ बजे (नेपाली समयअनुसार शुक्रबार बिहान) महासभालाई सम्बोधन गर्नेछन् । उनको सम्बोधन नेपालको पछिल्लो राजनीतिक अवस्था, विश्व सम्बन्ध र विश्व राजनीतिमाथि केन्द्रित हुने बताइएको छ ।