कालीगण्डकी ए मर्मत सुरु
स्याङ्जा : कालीगण्डकी ए जलविद्युत केन्द्रको विद्युत उत्पादन टर्बाइन मर्मत सुरु भएको छ । गत आइतबारदेखि सुरु भएको मर्मतका लागि विद्युत गृहका ३ वटै टबाईन बन्द गरीएका छन् । मर्मतका लागि टबाईन बन्द भएपछि १ सय ४४ मेगावाट उत्पादन क्षमताको कालीगण्डकी एबाट बिजुली उत्पादन भएको छैन ।
केन्द्रले ३ चरणमा मर्मत गर्ने जनाएको छ । पहिलो चरणमा असोज ७ देखि १२ गतेसम्म सबै उत्पादन बन्द गरी मर्मत गर्ने भएको छ । १३ देखि कात्तिक ५ गतेसम्म २ वटा टबाईन सञ्चालनमा ल्याउने र कात्तिक ५ देखि १२ गतेसम्म सबै टर्बाइन फेरि बन्द गरी सबै मर्मत पुरा गरिने भएको छ । दुई टर्बाइन सञ्चालन हुँदा केन्द्रले ७० देखि ९० मेघावाट विद्युत उत्पादन हुने केन्द्रले जनाएको छ । आइतवारदेखि सुरु भएको मर्मत कात्तिक १२ सम्ममा सक्ने लक्ष्य छ ।
कालीगण्डकी ए उत्पादन गृहमा रहेका टर्बाइनमा समस्या देखिएपछि मर्मत सुरु गरिएको हो । केन्द्रले वर्षेनी टर्बाइन मर्मत गर्दै आएको छ । विद्युत केन्द्रमा रहेका ४८/४८ मेगावाटका ३ वटा टर्बाइनमध्ये हरेक वर्ष एउटा टर्बाइनलाई विशेष मर्मत गर्नु पर्ने स्याङ्जाका प्रशासकीय अधिकृत यादवराज शर्माले जानकारी दिए । यसवर्ष टर्बाइन २ को मर्मत सुरु भएको हो । विशेष मर्मतपछि टर्बाइन ३ वर्ष राम्ररी चल्ने शर्माले बताए ।
पानीसँगै आउने बालुवाका कणले विद्युत उत्पादन गृहका उपकरणसहित टर्बाइनमा क्षति पुग्ने हुँदा वर्षेनी मर्मत गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताए । मर्मतका लागि जापानी कम्पनी तोसिबाले जिम्मेवारी पाएको छ । मुलुकै ठूलो जलविद्युत उत्पादन गृह बन्द हुँदा दैनिक ठुलो घाटा पुग्ने कालीगण्डकी ए उत्पादन केन्द्रका प्रमुख राजेशकुमार पाण्डेले बताए । ‘जापानी प्राविधिकसँगै नेपाली प्राविधिक पनि मर्मतमा जुटेका छन्’, प्रमुख पाण्डेले भने, ‘तोकेको समयभन्दा अगाबै मर्मत पुरा गर्ने छौं ।’