निरंकुशोन्मुख सत्ता, बेहोस प्रतिपक्ष
पंक्तिकारले संविधान घोषणा भएलगत्तै एउटा आलेख भनेको थियो, ‘यो संविधान आइसकेपछि कांग्रेसले चुनाव हार्दै जाला, एकसिंगे गैंडाको संख्या झैं आकारमा पनि खुम्चिन सक्ला, चल्न नजाने प्रजा परिषद्को नियति पनि भोग्ला तर यो संविधान रहेसम्म सदाका लागि राजनीति भने कांग्रेसले नै जित्यो। संसदीय गणतन्त्र रहेसम्म कांग्रेसको राजनीतिक एजेन्डा स्थापित भयो।’
केपी ओलीको पहिलो प्रधानमन्त्रीत्वकाललाई धेरैले राम्रो मानेका थिए। संविधानविरुद्ध भारतले गरेको नाकाबन्दी र भूकम्पले देश ध्वस्त भएको अवस्थामा दृढ भएर उनले जुन समृद्धिका सपना बाँडे, त्यसले देशविदेशमा रहेका नेपालीको मन उज्यालिएको थियो। पटकपटकको भारतीय नाकाबन्दीबाट आक्रान्त नेपाली मानसिकतामा एउटा दह्रो अडान उभिएका थिए ओली। उनको नेतृत्वको सरकारमाथि आम जनताको आस्था राजनीतिभन्दा धेरै माथि उठेको थियो। अधिकांश मानिस ओलीको अडानका प्रशंसक भए।
जब उनी सत्ताबाट बाहिरिए झन् बढी लोकप्रिय भए। गैरकम्युनिस्ट मतदातालाई पनि ओलीले केही गर्थे कि भन्ने लाग्न थाल्यो। उनको वैयक्तिक लोकप्रियता सिंगो एमाले पार्टीप्रति नै आकर्षित हुँदै गयो। जीवनभरि रुखमा भोट हालेका मानिसले पनि एकपटक ओलीलाई शक्तिशाली प्रधानमन्त्री भएको देख्न चाहे।
स्थानीय चुनावमा कांग्रेस नेता शेरबहादुर देउवाले आम चुनावपछि प्रचण्डको समर्थनमा फेरि पनि प्रधानमन्त्री बन्न देखेको सपना र प्रचण्डपुत्रीलाई विनासर्त मेयरमा सहयोग गर्न पार्टी कार्यकर्तामाथि दिएको दबाबपछि जीवनभरि रुखमा भोट हालेका मतदाताले हात कमाउँदै हँसिया-हथौडामा भोट हाले। त्यसपछि कांग्रेस मतदातालाई पार्टीप्रतिको निष्ठा र दबाबबाट मुक्ति मिलेको थियो। चितवनको त्यो सन्देश देशभरि फैलियो र कांग्रेसी मतदाताले गोप्य मतदानमा विद्रोह गरे, जसको परिणाम देशैभरि स्थानीय चुनावमा कांग्रेस पत्तासाफ भयो।
कांग्रेससँगको गठबन्धनले पार्टी पत्तासाफ हुने जोखाना देखिसकेपछि प्रचण्ड एकाएक एमालेसँगको पार्टी एकीकरण अभियानमा जुटे। प्रचण्डको यो ‘युटर्न’ ले शेरबहादुरका ज्योतिषीले देखेको सातपल्ट प्रधानमन्त्री बन्ने सपना स्वतः ध्वस्त भयो।
एमालेमा माओवादी विलयपछि बनेको नेकपा दुईतिहाइ बहुमतसाथ संसद् भवनमा प्रवेश गर्यो। कांग्रेस बीस वर्षपछि संसद् भवनामा जल्याङ मल्याङ छरिएका आफ्ना सांसद खोज्न बाध्य भयो। आफ्नै पार्टीका इमानदार कार्यकर्तालाई पाखा लगाएर पार्टीमा कुनै योगदान नै नभएका व्यापारी र ठेकेदारलाई टिकट दिएकाले शेरबहादुर अहिले आफ्नै खुट्टाको धुलो टकटक्याइरहेका छन्। सत्तरी वर्ष पुरानो बलिदानी इतिहास बोकेको कांग्रेस आज चैतको हावामा सर्लक्कै सुकेको सालको रूख झैं भएको छ।
कांग्रेसको वर्तमान नेतृत्व मात्र होइन, निकै परैसम्मको भावी नेतृत्वको पनि अनुहार स्पष्ट छैन। शेरबहादुर, रामचन्द्र पौडेल र कृष्ण सिटौलाहरू गौरवशाली इतिहास बोकेका तर पार्टी हाँक्न चाहिने नयाँ जोस नभएका पुराना खिइएका चक्का मात्र हुन्। कोइराला परिवार हिङ बाँधेको टालो हो। नयाँ पुस्ताका नाममा रोजिएका, देवकोटाका सुन्दर निबन्ध झैं भाषण गर्न सक्ने चालीस प्लसका केही नेता देशभन्दा विदेशतिरै बढी लोकप्रिय हुने रहर गर्छन्। चुनाव हारेको तोडमा पार्टी शुद्धीकरणका लागि कडाकडा नारा र भाषण गर्नेहरू आज खरी झरेको मादल झंै भएका छन्।
पाँच वर्ष लोकप्रिय भई देशलाई समृद्धिको सुन्दर बरन्डामा पुर्याउलान् भनी मुक्तकण्ठले प्रशंसा गर्दै आएका मतदाता प्रधानमन्त्रीले आफ्नो ऊर्जा अरूलाई गाली गर्नतिर नै खर्च गरिरहेकोमा छक्क परेका छन्।
चारतारे झन्डा र रुखको मायाले नथाकेका जनता पार्टीका नेताको लीला देखेर ग्लानिले झुकेको शिर निहुरिरहेका छन्। कृष्णको देहावसानपछि अर्जुनले उचाल्न नसकेको गाण्डीव भएको छ गिरिजाप्रसाद बितेपछिको कांगे्रस। फुटेर टुक्राटुक्रा भएका कम्युनिस्टअघि पटकपटक प्राप्त बहुमतलाई लात्तीले हानेर पनि जितिरहेका कांग्रेसीलाई बल्ल बोध हुँदै होला सत्ता गुम्नुको पीडा। निजीकरणका नाममा ध्वस्त बनाइएका राष्ट्रिय उद्योगहरू, विकासका नाममा भत्काइएका बाटा र नबनाइएका पुल, अड्काइएको बजेट र ढिकुटीकरण गरिएको पुँजी आज कांग्रेसलाई दाँतमा ढुंगो भएको छ। प्रजातन्त्र भनेको कांग्रेस पार्टी होइन भन्ने कांग्रेसले कहिल्यै बुझेन। बहुदलमा प्रजातन्त्र भनेको कम्युनिस्ट पनि हो भन्ने बरु जनताले बुझेछन्।
अघिल्लो प्रधानमन्त्रीकालमा प्राप्त भएको लोकप्रियताका कारण केपी ओली आपूmमात्र होइन, सिंगो पार्टीलाई नै अत्यधिक बहुमत प्राप्त गराउन सफल भए। त्यही बहुमतले उनलाई फेरि सजिलै प्रधानमन्त्री बनायो। तर फेरि पनि उनले उस्तै उखानटुक्का र सपना बाँड्न थाले। सधैं एकैखाले कुरा सुन्दासुन्दा दिक्क भएका जनताका अगाडि दिनदिनै हास्यास्पद हुँदै जान थाले उनी। दुईतिहाइ बहुमतको सरकारका प्रधानमन्त्रीले देखाएको सपनाअनुसार दिनुपर्ने सामान्य राहतको सट्टा झन्-झन् मूल्यवृद्धि, करवृद्धि, भ्रष्टाचार, कालोबजारी, हत्या, बलात्कारको उत्तरोत्तर प्रगति भइरहेको छ।
चुनावताका बूढाबूढीलाई घर-घरमै पाँच-पाँच हजार वृद्धभत्ता हातहातमा पुर्याइदिने भनी गरिएका भाषणका फुटेजहरू सामाजिक सञ्जालभरि छन्। धनी हुन मन हुनेले काम गर्नु, काम नगर्नेलाई सुतीसुती ओछ्यानमै सरकारले खाना पुर्याउँछ भनी गरेका भाषण पनि दोहोर्याइदोहोर्याई हेर्नु परिरहेको छ।
प्रधानमन्त्री हुन राजनीतिकै बाटो हिँडेर आउनुपर्छ। दलको नेता नभई प्रधानमन्त्री होइँदैन तर प्रधानमन्त्री भइसकेपछि ऊ दलको नेता होइन, देशको अभिभावक बन्छ। संसदीय लोकतन्त्रमा प्रधानमन्त्री नै देशको सबैभन्दा शक्तिशाली पद हुन्छ। अब उसले राष्ट्रको प्रतिनिधित्व गर्नुपर्छ। प्रधानमन्त्रीका नजरमा पक्ष-प्रतिपक्ष सबै समान हुन्छन्, तर प्रधानमन्त्री ओली देशको प्रधानमन्त्रीभन्दा पूर्व एमालेकै अध्यक्ष धेरै भइरहेका देखिन्छन्। प्रतिपक्षको काम सत्ताको आलोचना गर्ने नै हो। सबैभन्दा लानो समय प्रतिपक्षको भूमिका निर्वाह गरेको पार्टी अध्यक्षको हैसियतले उनलाई थाहै होला आफ्नो पार्टी प्रतिपक्षमा रहँदा केके गरिएको थियो।
सबैभन्दा पछिल्लोपटक त्यो कुराले मानिसलाई नराम्ररी झस्कायो जब उनले प्रधानमन्त्री क्वार्टर बालुवाटारमा ओलीवंशको भेला गर्दै अभिनन्दन थापे। कुनै समय जुन बेला नेपालमा राजतन्त्र थियो, त्यसबेला पनि जब राजाले रानी, युवराज र अन्य राजपरिवारका सदस्यलाई सबैभन्दा ठूलाठूला पट्टाहरू दिन्थे मलाई अनौठो लाग्थ्यो। आज ओली प्रधानमन्त्री भएको ६ महिनामै नेपालमा ओली थर नै हास्य र आलोचनाको सिकार हुन पुग्यो।
केही दिनअघि फेरि उनले आफ्ना पार्टी कार्यकर्तालाई आफ्नो सरकारको विरोध गर्नेहरूविरुद्ध अरिंगालको गोलो झैं झम्टिनु भन्ने आदेश दिए, जसको हातमा राज्यको सम्पूर्ण सेना, प्रहरी, गुप्तचर, राज्यको ढिकुटी सबैथोक छ। जसले चाहेमा जसलाई जतिबेला पनि छानबिन वा अनुसन्धानका लागि भनी कब्जामा लिन सक्छ, त्यो हैसियतको राज्यको सर्वेसर्वा पदासीन व्यक्तिले आफ्नो पार्टीका कार्यकर्तालाई विपक्षीमाथि अरिंगाल झैं झम्टिनु भन्नुको अर्थ के हुन्छ ? आफ्नो बारेमा कुनै विरोध नै सुन्न नसक्ने मान्छे प्रधानमन्त्री हुनु र उनका कार्यकर्ता उस्तै आदेशपालक हुनु हो भने यो देशको राजनीतिक भविष्य कस्तो होला ?
गेस्टापो उपन्यास लेख्ने क्रममा जब म हिटलरको जीवनी पढ्दै थिएँ, त्यहाँ ऊ प्रारम्भमा प्रजातान्त्रिक व्यक्तिका रूपमा राजनीतिमा उदाएको थियो। खुबै लोकतान्त्रिक र राष्ट्रवादी स्वर बोकेको ऊ थोरै समयमै जर्मनीको एक शक्तिशाली पार्टी नेतामा दरिन पुग्यो। जब उसले लोकप्रिय मतका आधारमा चुनाव जित्दै गयो र सत्तामा पुग्यो अनि एकाएक निरंकुश शासकमा परिणत भयो। उसले आफ्ना गेस्टापोहरूलाई आफ्ना विपक्षीहरू समाप्त गर्ने आदेश दियो। त्यो आदेश पालन गर्ने क्रममा गेस्टापोहरूले त्यसबेलाका जर्मनीका कम्युनिस्ट, क्याथोलिक र यहुदीहरूलाई निर्मम आक्रमण गर्दै गए। देश गृहयुद्धमा हैन सरकारी महाआतंकको सिकार बन्यो।
जस्तोसुकै प्रजातान्त्रिक व्यक्ति पनि सत्तामा पुगिसकेपछि त्यहाँबाट बाहिर निस्कनु नपरोस् भन्ने चाहन्छ र त्यहीं टिकिरहनका लागि विस्तारै अलिअलि गर्दै अधिनायकवादी हुँदै जान्छ तर उनीहरूको निरंकुश सोच कहिल्यै सफल हुँदैन। जस्तो कि संसारकै सबैभन्दा बढी तानाशाहका रूपमा चिनिएको हिटलरको शक्ति केवल १२ वर्षसम्म मात्र टिक्यो।
के हाम्रा प्रधानमन्त्रीलाई आपूmले त्यसो भन्दै गर्दा म दिनदिनै निरंकुश बन्ने सपना देख्दै पो छु कि भन्ने लागेन होला ? उनी निरंकुश नै बने भने पनि कति दिन वा वर्ष बन्लान् ? उनले त्यत्रो मेहनत गरी बनाएको नेपालको इतिहासमै यति ठूलो कम्युनिस्ट पार्टी यस्तै ठूलो भएर टिकिरहन सक्ला त्यसबेलासम्म ?
पाँच वर्ष लोकप्रिय भई यो देशलाई समृद्धिको सुन्दर बरन्डामा पुर्याउलान् भनी मुक्तकण्ठले प्रशंसा गर्दै आएका उनका मतदाता उनले आफ्नो ऊर्जा अरूलाई गाली गर्नतिर खर्च गरिरहेको देख्दा छक्क पर्न थालेका छन्। उनलाई खुबै जोसिएर भोट हाल्ने भिन्न मतबाल मतदाता त पश्चात्तापको सास फेर्न लागेको सुन्छु। ६ महिनामै यो गति छ, अरू साढे चार वर्ष कसरी बित्ला ? सोच्न थालिएको छ।
तथापि उनले भारतको एकाधिकार बजारलाई अन्त्य गर्दै चीनसँगको पारवहन सन्धिको जस पाएका छन्। बिम्स्टेक संयुक्त सेना अभ्यासमा आफ्नो सार्वभौम अडान राखेर पुरानो राष्ट्रवादी घुँडा दरै उभ्याएका छन्। तर ठूलाठूला कुरा ससाना मतदाताले बुझ्दैनन्।
पहिलापहिला पटकपटक सुनिन्थ्यो, हरेक प्रधानमन्त्रीले भन्थे- यो सरकारलाई कसैले ढाल्न सक्दैन। त्यसो भन्दै गरेका गिरिजाप्रसाद कोइराला, माधव नेपाल, झलनाथ खनाल, कृष्णप्रसाद भट्टराई, प्रचण्ड, बाबुराम सबै पुल्टुङपुल्टुङ ढल्दै गए। केपीलाई लाग्दो हो यो दुईतिहाइ बहुमतको सरकारलाई कसैले ढाल्न सक्दैन। तर सबैले विस्तारै देख्न थालिसकेका छन्। उनलाई ढाल्न प्रचण्ड शक्ति सञ्चय गरिरहेका छन्। पुष्पकमल दाहाल, जो दसबर्से जनयुद्धकालमा निरन्तर भनिरहन्थे- ढाडमा टेकेर टाउकोमा हान्ने। नभन्दै उनी दिल्लीबाट फर्केको केही दिनमै बेइजिङ पुगेर पनि फर्किसकेका छन्।
प्रधानमन्त्री केपी ओलीको दोस्रो कार्यकाल लोकप्रिय र आवेशरहित रहोस् भन्ने कामनाबाहेक अरू के गर्न सकिन्छ र ? जस्तो कि शेरबहादुरको कांग्रेस विस्तारै चार पाउ टेक्दै उठोस् भन्न सकिन्छ।