झुक्याएर जागिर खाने कर्मचारीबाट ७० लाख असुली
काठमाडौं : झुक्याएर सेवा अवधिभन्दा बढी जागिर खाएका दुई दर्जन कर्मचारीबाट सरकारले ७४ लाख ४२ हजार ८ सय ३० असुल गरेको छ । पहुँच र शक्तिको भरमा जागिर खानेलाई कारबाहीस्वरूप जरिवाना गर्दै पेन्सनपट्टा रोक्का गरिएको हो । निजामती किताबखानाले उनीहरूमाथि थप छानबिन थालिएको जानकारी दिएको छ । पछिल्लो ६ महिनायता अवधि सकिएपछि पनि जागिर गरिरहेका कर्मचारी कारबाहीमा परेका हुन् ।
किताबखानाले जागिर अवधि सकिएपछि उनीहरूले लिएको थप तलब, सुविधा तथा भत्ताबापतको सबै रकम जफत गर्ने निर्णय गरेको हो । एकै कर्मचारीबाट १० लाख रुपैयाँसम्म जफत गएिको किताबखानाले जानकारी दिएको छ । सेवा निवृत्त भइसकेपछि पनि जागिर गरिरहेका कर्मचारीले गैरकानुनी रूपमा राज्यकोषबाट १ लाख देखि १० लाख रुपैया बुझेका छन् । कारबाहीमा पर्नेमा कार्यालय सहयोगीदेखि सहसचिवसम्मका कर्मचारी छन् ।
सरकारी कार्यालयमा सेवानिवृत्त उमेरभन्दा सात वर्ष बढी समयसम्म पनि जागिर गरिरहेका कर्मचारी भेटिन थालेपछि कारबाही थालिएको किताबखानाका प्रवक्ता राजेन्द्र पराजुलीले जानकारी दिए । मुस्ताङका जिल्ला समन्वय समितिका नासु तेजबहादुर नेपालीबाट १० लाख ४६ हजार, अधिकृत श्याम मोहनलाल दासबाट ८ लाख ९५ हजार र सहसचिव होमनाथ थपलियाबाट ५ लाख ८९ हजार असुल गरिएको छ ।
भिजिलेन्स (गम्भीरतापुर्वक फाइल केलाउने ) अभियानका क्रममा कर्मचारीले गैरकानुनी रूपमा जागिर गरिरहेको पाइएको किताबखानाले जानकारी दिएको छ । ‘सरकारलाई झुक्याएर बढी सेवा अवधि जागिर खाने कर्मचारीलाई खोजी गरी कारबाही प्रक्रियामा ल्याइनेछ’, विभागका प्रवक्ता पराजुलीले भने । विगतमा किताबखानाकै कर्मचारीको मिलिमतोमा र विभिन्न राजनीतिक पहुँचका आधारमा सेवानिवृत्त भइसकेका कर्मचारीले सरकारलाई झुक्याएर बढी समय जागिर खाने प्रवृत्ति बढी थियो ।
किताबखानाले जागिर अवधि सकिने कर्मचारीलाई जागिर सक्ने अवधिअगावै पत्राचारमार्फत यसको जानकारी गराउने गरेको छ । तर आकर्षक र राम्रा निकायमा रहेका कर्मचारीले किताबखानाले पठाएको पत्रलाई गायब बनाएर बढी सेवा अवधिसम्म जागिर गर्दै आएको पाइएको प्रवक्ता पराजुलीको भनाइ छ ।
कुन कर्मचारीबाट कति असुली ?
–रामदत्त पन्त, नासु – ५ लाख १८ हजार
–इन्द्रदेव यादव, अधिकृत छैटाैँ) – ४ लाख ३८ हजार
–ज्ञानुप्रसाद ओझा, अधिकृत, सातौं – १ लाख १४ हजार
–हरिकृष्ण थापा, कार्यालय सहयोगी – ६ लाख २६ हजार
–श्याम मोहनलाल दास, जिल्ला वन अधिकृत – ८ लाख ९५ हजार
–रामतपेश्वर राय, नासु – ५ लाख ७२ हजार
–इयमार मिया तेली, कास – १ लाख १५ हजार
–बालकृष्ण सिग्देल, हल्कारा – ६ लाख ३९ हजार
–कुलबहादुर लामिछाने, खरिदार – ३४ हजार ४ सय
–मनसरा थापा, अधिकृत, छैटौं – ३ लाख २१ हजार
–महेशराज न्यौपाने, नासु – १ लाख ३४ हजार
–श्यामसुन्दर सिंह, नासु – १ लख १९ हजार
–रामनविना यादव, नासु – २ लाख ३४ हजार
–किरणकुमार बस्नेत, नासु – ६ लाख ९९ हजार
–ननुलाल चौधरी, नासु – ७ लाख ५१ हजार
–नरबहादुर चोखाल, कास – २ लाख ४३ हजार
–पञ्चकुमार नापित, कास – ३ लाख ४९ हजार
–देवदत्त बोहोरा, खरिदार – १ लाख ६३ हजार
–मोहम्मद इस्लाम, नासु –१ लाख ४५ हजार
–पुष्प महर्जन, कास – १ लाख ४८ हजार
–तेजबहादुर नेपाली, नासु – १० लाख ४६ हजार
–बलबहादुर थापा, नासु – ४ लाख ५० हजार
–होमनाथ थपलिया, सहसचिव – ५ लाख ८९ हजार