विकृतिउन्मुख राजनीति
पहिले राजनीतिलाई त्याग, आदर्श, नैतिकता, इमानदारी, सादगी जीवनशैली र जनताको भलाइ गर्ने नीतिका रूपमा लिइन्थ्यो। त्यसैले नेता र कार्यकर्ता सादगी हुन्थे, कामचलाउ किसिमको लगाउने र भोक मार्न जस्तो पनि खाने गर्दथे। उनीहरूलाई बास बस्न जस्तो ओछ्यान भए पनि हुन्थ्यो।
जनता र कार्यकर्ता भनेपछि नेता हुरुक्कै हुन्थे र कार्यकर्ता पनि नेता भनेपछि औधि माया र सम्मान गर्दथे। नेता-कार्यकर्ता दुवै अनुशासित हुन्थे। उनीहरूमा बडप्पन र अहंकार भन्ने कुराको नामोनिसान हुँदैनथ्यो। अर्को जिल्ला जाँदा नेताहरू कार्यकर्ताकै घरमा बस्दथे र जेजस्तो उपलब्ध हुन्थ्यो, मीठो मानेर खान्थे। किनभने त्यतिखेर एकातिर भोक हुन्थ्यो र साथमा पैसा हुँदैनथ्यो भने अर्कोतिर कार्यकर्ताको घरको स्नेह हुन्थ्यो।
त्यसैले नेताहरूले कार्यकर्ता र जनताका मन जितेका थिए। उनीहरूबीच आपसमा घनिष्टता र सम्मान भाव हुन्थ्यो। त्यसैले जनताले मौका पाए यी नेताले विकास गर्दछन् भन्ने विश्वास गर्दथे। त्यतिखेर नेताकार्यकर्तामा ठूलो आत्मविश्वास र आत्मसम्मान हुन्थ्यो। क्रान्ति र शोषण, दमन तथा उत्पीडनबाट जनताको मुक्ति एकमात्र लक्ष भएकाले त्यसैमा उनीहरूको ध्यान केन्द्रित थियो। आफ्नो र परिवारका लागि धनार्जन र सुखसुविधाप्रति उनीहरूको मन जाँदैनथ्यो।
उनीहरू ठूलो उद्देश्य लिएर सबै किसिमका निजी इच्छा तथा चाहना जागृत हुन नदिई त्यही उद्देश्य प्राप्तिका लागि प्रशासनबाट बच्दै जोगी झैं भएर हिँडे। महिनौंसम्म परिवारलाई आफ्ना अभिभावक कहाँ छन् भन्ने थाह हँुदैनथ्यो। कति केटाकेटीले वर्षौंसम्म बाबुको मुख देख्न पाउँदैनथे। त्यो काल निश्चित रूपमा त्याग र कुर्वानीको काल थियो। निरंकुशता फाल्न र लोकतन्त्र ल्याउन बलिदानीपूर्ण संघर्षको काल थियो।
त्यही कालमा कति मारिए, कतिलाई जेलमा सडाइयो, त्यही क्रममा कतिलाई गम्भीर प्रकृतिको रोग लाग्यो, कति अपांग भए। किशोरावस्थामा संघर्षमा लागेका प्रायः सबैको जवानी उजाडियो। उनीहरूले परिवार बसाउनै पाएनन्। देशमा यस्ता त्यागी र इमानदार नेताकार्यकर्ता हजारौंको संख्यामा थिए। तीमध्ये अहिले केही सधैंका लागि गए, केही निष्क्रिय भए, केहीलाई पाखा लगाइयो र केही अझै पालो आइहाल्छ कि भनेर कुरेर बसेका छन्।
अहिले जमाना बदलिएको छ, राजनीति बदलिएको छ। उनीहरूले चाहेको राजनीतिक क्रान्ति सम्पन्न भएको छ। निरंकुश राजतन्त्रको उन्मूलन भई गणतन्त्र आएको छ, लोकतन्त्र छँदैछ, त्यसमा सँगसँगै संघीयता पनि आएको छ। संविधानसभाले संविधान निर्माण गरी राज्यको पुनर्संरचनासमेत भएको छ। देशमा पैंतीस-चालीस हजार जननिर्वाचित प्रतिनिधि भत्ता खाँदै काम गर्ने ठाउँमा पुगेका छन्। यसरी परिवर्तन संस्थागत भएको छ। अब देशमा राजनीतिक व्यवस्था फेर्ने संघर्ष र आन्दोलनको युग समाप्त भई आर्थिक विकास गर्ने युग सुरु भएको छ।
देशमा यति मात्र परिवर्तन भएको छैन, यसको सँगसँगै गम्भीर राजनीतिक विचलन पनि आएको छ। राजनीतिमा आदर्श, इमानदारी, नैतिकता, जनता र देशप्रतिको संवेदनशीलतामा ठूलो ह्रास आएको छ। त्यस्तो ह्रास तीव्रताका साथ अगाडि बढ्दैछ। सबैभन्दा घातक कुरा राजनीतिमा पैसा हाबी हुँदै गएको छ। अधिकांश राजनीतिकर्मीहरूमा सुखसुविधा, धनार्जन, बंगला, गाडी, मोजमस्तीको नसा चढेको छ। केही वर्षअगाडिसम्म पैदल हिँडेर पुगिने ठाउँमा पैदलै र नपुगिने ठाउँमा सार्वजनिक बस चढ्ने धेरै नेताकार्यकर्ता अहिले निजी गाडी नचढी घर बाहिर ननिस्कने भएका छन्। देशभरिका विमानस्थलका प्रस्थान कक्षहरूमा नेता-कार्यकर्ता बाक्लै देखिन थालेका छन्। नेताकार्यकर्ता हाकाहाकी जोगी हुन राजनीति गरेको होइन भन्न थालेका छन्।
धेरैजसो नेताहरू जिल्ला जाँदा पहिले झैं कार्यकर्ताका घरमा नबसी त्यस ठाउँको सबैभन्दा राम्रो र सुविधासम्पन्न होटलमा बस्न थालेका छन्। होटलमा पनि वातानुकूलित कोठा नभए रातभरि निदाउनै नसक्ने भएका छन्। कार्यकर्ताको घरको खाना घाँटीमा नछिर्ने भएको छ। यसले नेता र कार्यकर्ता तथा जनताबीचको दूरी बढाएको छ, नेताकार्यकर्ताप्रतिको विश्वास र सम्मान स्वात्तै घटाएको छ। अधिकांश नेताको मन देश र जनताबाट उठेर आफू र आफ्नो परिवारमा केन्द्रित भएको छ।
त्यससँगसँगै आम जनताको आर्थिक तथा सामाजिक अवस्थामा पनि त्यस्तै किसिमको सुधार आएको भए सायद नेताकार्यकर्ताको यो जीवनशैली त्यति आपत्तिको विषय बन्दैनथ्यो होला। तर जनताको जीवनस्तर ज्यूँका त्यूँ छ वा अझ बिग्रेको छ। पचासौं लाख युवा रोजगार खोज्दै दुनियाँका कुनाकुनामा पुगेका छन्। किसान, मजदुर, सुकुम्बासी, दलित, साना व्यवसायीहरूको दयनीय अवस्थाप्रति कोही संवेदनशील देखिँदैनन्।
जनताको आर्थिक तथा सामाजिक अवस्थामा थोरै सुधार आएको भए सायद नेताकार्यकर्ताको विलासी जीवनशैली आपत्तिको विषय बन्ने थिएन। जनताको अवस्थामा परिवर्तन नहुने र नेताहरूको जीवन मात्र कायापलट हुँदा सबैको मन कुँडिएको छ।
संघर्षको युग अन्त्य भएपछि नेताकार्यकर्ताले पहिलेकै जस्तो जीवनशैलीलाई निरन्तरता दिनु व्यावहारिक होइन भन्ने नेताहरूको दृष्टिकोण छ। जे प्राप्त गर्न त्यस्तो संघर्ष र त्यागको जिन्दगी बिताउनुपरेको थियो, त्यो प्राप्त भएपछि जीवनशैली पनि त्यहीबमोजिम परिवर्तन गर्नुपर्दछ भन्ने उनीहरूको दृष्टिकोण रहेको पाइन्छ र यस्तो दृष्टिकोणलाई अस्वाभाविक पनि मान्न सकिँदैन।
तर त्यस्तो जीवनशैलीलाई तब स्वाभाविक मान्न सकिन्थ्यो यदि त्यस्तो जीवनशैली शुद्ध वैधानिक आयबाट अपनाइएको भए। तर जीवनशैली र स्तर हेर्दा त्यो वैधानिक आयबाट नै बनेको हो भन्ने पत्यार लाग्दैन। यसमा आपत्ति हो। कतिपय नेताको जीवनशैली एड्ढयासी र विलासितापूर्ण रहेको पाइन्छ। त्यसले गर्दा जनस्तरबाट नेताकार्यकर्ताको आलोचना हुने गरेको छ। हिजो चप्पल पट्काएर थोत्रो झोला भिरेर सिंहदरबारवरिपरि घुम्ने नेताहरू आज भुँडीवाल भएर प्राडो, पजेरो चढेर हिँड्ने भएका छन् भनेर जनता टिप्पणी गर्ने गर्दछन्।
केही वर्ष अघिसम्म काठमाडौंमा छिँडीको एउटा अँध्यारो कोठामा गुजारा चलाउनेहरू आज आफ्नो छुट्टै कम्पाउन्डसहितको बगलमा ग्यारेज भएको आलिशान बंगलामा विराजमान हुने भएका छन् भनेर आलोचना गर्दछन्। यसले गर्दा लोकतान्त्रिक राजनीति नै बदनाम हुन थालेको छ। तर यी विकृतिमा कसैको पनि ध्यान गएको देखिँदैन। प्रायः सबै उपभोक्तावादको सिकार भएका छन्। प्रायः सबै त्यही हावाको पछि दौडिरहेका छन्। चिन्ताको विषय यो भएको छ। जनताको अवस्थामा परिवर्तन नहुने र नेताहरूको जीवन मात्र कायापलट हुने कुराले सबैको मन कुँडिएको छ।
योभन्दा गम्भीर कुरा अर्को छ। हिजो पैसा कमाउनका लागि सबै किसिमका अनैतिक र निकृष्ट काम गरेर जनताका नजरमा गिरेका मानिसहरू आज पैसाको बलमा सांसद भएर संसदमा पुगेका छन्, पैसैको बलमा कोही मन्त्रीसमेत भइसकेका छन्। लोकतन्त्र प्राप्तिका लागि मृत्युसँग लडेर आएका जोदाहाहरूसँग तिनै द्रव्यपिचासहरू आज संसद्मा कुम जोडेर बसेका छन्। त्यस्ता कति त्याग र संघर्षका प्रतिमूर्तिहरूले त चुनावमा टिकटसम्म नपाएर त्यसै थन्किएर बसेका छन्। तिनैका सामुन्ने ती पैसावाल सांसदहरू माननीय बनेर हिँडेका छन्। अर्थात् त्याग र आदर्शको राजनीतिलाई धनले उछिनेको छ, धनले किनारा लगाइदिएको छ, ‘काम गर्ने कालु मकै खाने भालु’ जस्तो भएको छ, ‘बाघको छालामा स्यालको दाइँ’ भनेजस्तो भएको छ।
कतिपय समानुपातिक बाटोबाट र कतिपय चुनावबाटै निजी बैंकका मालिकहरू सांसद भएर बैंकिङ ऐन बनाउने संसदीय समितिमा पुगेका छन्। निजी स्कुल र कलेज चलाउनेहरू सांसद भएर सम्बन्धित समितिमा बसी शिक्षा ऐन बनाउने भएका छन्। ठेकेदारहरू सांसद भएर सार्वजनिक निर्माणसँग सम्बन्धित संसदीय समितिमा बसेर ठेक्कासम्बन्धी नियमकानुन बनाउने भएका छन्।
त्यसैगरी म्यानपावर कम्पनी चलाउने, एनजीओ चलाउने, ठूलाठूला उद्योगधन्दा, व्यापार, व्यवसाय चलाउनेहरू पनि सांसद भएर करसम्बन्धी कानुन बनाउने भएका छन्। यसरी पवित्र उद्देश्य राखेर ल्याइएको समानुपातिक प्रतिनिधित्वको व्यवस्थाको पनि यसैगरी हदैसम्म दुरुपयोग भइरहेको छ। हाकाहाकी सांसदको सिट वा टिकट पैसामा बिक्री गर्ने गरिएको देखियो। यो क्रम बढ्दै जाँदा सबैले कानुनद्वारा आआफ्ना पेसा, व्यवसायको रक्षा गर्ने भए भने देश र जनताको स्वार्थको रक्षा कसले गर्ने ? केन्द्रमा मात्र होइन, प्रदेश र स्थानीय तहमा समेत सुरुबाटै यो रोगको संक्रमण भएको छ।
यसमा नेताहरूको जवाफ हुन्छ— पार्टी चलाउन र चुनाव लड्नका लागि पैसा चाहियो नि, पार्टीहरूले यसका लागि पैसा कहाँबाट ल्याउने ? हरेक चुनावमा चुनाव खर्च बढ्दै गएको छ। कुरा ठीक हो, तर यो क्रम यसरी बढ्दै जाँदा अवस्था कहाँ पुग्ला भनेर कसले सोच्ने ? के त्यस्तो राजनीति देश, जनता र लोकतन्त्रका लागि होला भनेर कसले सोच्ने ? त्यसबेला राजनीति कति विकृत र जनविरोधी होला ? त्यसैले राजनीतिलाई विकृतिबाट जोगाई यसलाई देश, जनता र लोकतन्त्रप्रति समर्पित गर्न गम्भीर ढंगले बहस र छलफल गरिनुपर्दछ, पैसाको वा पैसाको स्रोतको विकल्प खोज्नुपर्दछ।