स्थानीय तहका कार्यालय अझै भाडामा संचालन
धनकुटा : स्थानीय तह गठन भएको डेढ वर्ष बितिसक्यो। तर, धनकुटाका सात स्थानीय तहमध्ये दुईले अझै भाडाको घरबाट कार्यसम्पादन गरिरहेका छन्। जिल्लाका सहिदभूमि र छथरजोरपाटी गाउँपालिका भाडाकै घरबाट कार्यसम्पादन भइरहेका हुन्।
भाडामा लिएका घरको कोठा साँघुरा र कार्यालयमैत्री नभएका कारण स्थानीय तहको सेवा प्रवाहमा समस्या भएकोछ। काम गर्न निकै कठिनाइ हुने गरेको जनप्रतिनिधिहरू बताउँछन्। स्थानीय तहअन्तर्गतका स्वास्थ्य, शिक्षा, पशुसेवा, कृषि, राजस्व, पूर्वाधार विकासजस्ता आधा दर्जन विषयगत कार्यालय पनि गाउँपालिकाको आफ्नो भवन नहुँदा भाडाकै घरमा छन्। छथरजोरपाटी गाउँपालिकाले पनि कार्यालय स्थापना भएदेखि नै भाडाको घरबाट कार्यसम्पादन गरिरहेको छ।
गाउँपालिका केन्द्र जोरपाटी बजारस्थित भाडाको दुई घरबाट विगत डेढ वर्षदेखि कार्यसम्पादन भइरहेको सूचना अधिकारी उपेन्द्रबहादुर श्रेष्ठले जनाए। दुई घर प्रयोग गरेबापत गाउँपालिकाले मासिक २५ हजार रुपैयाँँ भाडा तिर्दै आइरहेको छ। गाउँपालिका अन्तर्गतका विषयगत कार्यालय पनि सोही घरमा रहेको छ। भाडाको घरबाट कार्यसम्पादन गर्दा सेवाग्राहीलाई सहज सेवा दिन असहज उनले बताए। उनले भने ,‘ती घर घरायसी प्रयोजनका लागि बनाइएको हुँदा अधिकांश कोठा साँघुरा छन्।’
गाउँपालिकाले जोरपाटी बजारमा स्थानीयबासीबाट निःशुल्क जग्गा पाइसकेको छ। उक्त जग्गामा भवन निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाइसकेको उनले बताए। ‘भवन बन्ने स्थानसम्म सडक निर्माण गर्ने काम गत आर्थिक वर्षमा सम्पन्न भइसकेको छ,’ उनले भने, ‘भवनको डीपीआर तयार भइसकेको हुँदा प्रदेश मन्त्रालयबाट बजेट विनियोजन हुने वित्तिकै निर्माणको काम अघि बढ्न छ।’
यता सहिदभूमि गाउँपालिकाको कार्यालय पनि विगत डेढ वर्षदेखि भाडाको घरमा सञ्चालित छ। गाउँपालिकाको केन्द्र पिप्लेमा छ। पिप्लेमा रहेको दुई घरलाई भाडामा लिएर कार्यालय सञ्चालन भइरहेको गाउँपालिका अध्यक्ष मनोज राईले बताए। गाउँपालिकाको कार्यालय रहेको घरमध्ये एउटा घर स्थानीय एक जनाले निःशुल्क उपलब्ध गराएका हुन्।
एउटा घरको भाडा बापत गाउँपालिकाले मासिक १८ हजार रुपैयाँ तिर्दै आइरहेको छ। तर स्थानीयबाट पिप्ले बजारमै ६ रोपनी जग्गा प्राप्त भइसकेको कारण गाउँपालिकाको आफ्नै भवन निर्माणको काम अघिवढ्ने अध्यक्ष राईले बताए। उनले भने, ‘सरकारले कार्यविधि तयार पारिरहेको कारण गाउँपालिकाको आफ्नै भवन निर्माण गर्ने प्रक्रिया अघि बढेको छैन।’ भवन अभावकै कारण यहाँका विषयगत कार्यालय भाडाकै घरमा छन्।
कोठा अभावको कारण कतिपय अवस्थामा गाउँ कार्यपालिकाको बैठक सञ्चालन गर्न पनि समस्या रहेको प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले बताए। उनका अनुसार गाउँपालिकाअन्तर्गत सबै विषयगत कार्यालय एकै ठाउँमा हुनुपर्ने हो। तर, भवन अभावकै कारण २÷३ सय मिटर परसम्म रहेका घरमा छन्। भवन अभावकै कारण शिक्षा कार्यालय स्रोत कक्षाको भवनमा सञ्चालित छ।
जिल्लाको अन्य स्थानीय तहमध्ये धनकुटा, पाख्रिबास र साँगुरी गाउँपालिकाको भवन आफ्नै रहेको छ। स्थापनाकालमा महालक्ष्मी नगरपालिकाको कार्यालय जीतपुर बजारस्थित जीतपुर क्याम्पसको भवन रहेको थियो। तर निर्वाचित जनप्रतिनिधि आइसकेपछि उक्त भवन नगरपालिकाको स्वामित्वमा आएको थियो।
त्यस्तै चौबिसे गाउँपालिका रहेको भवन पनि सुरुवातीमा कृषि विकास कार्यालयको स्वामित्वमा थियो। तर केही महिना अघिमात्रै उक्त भवन गाउँपालिकाको स्वामित्वमा आएको योजना फाँटका प्रमुख लिलाबहादुर कार्कीले बताए।