श्रीलंकाविरुद्ध नेपालको कठिन जित
आगरा : भारतको आगरामा जारी एसियन स्कुल यू- १८ फुटबल च्याम्पियनसिपअन्तर्गत बिहीबार भएको खेलमा नेपालले श्रीलंकाविरुद्ध १-० गोलको कठिन जित हात पारेको छ । जितसँगै नेपालले प्रतियोगिताको पाँचौं स्थानका लागि भारतसँग फाइनल खेल खेल्ने तय गरेको छ ।
समूहगत चरणको सुरुआती दुई खेलमा थाइल्यान्ड र इन्डोनेसियासँग लगातार पराजित हुँदा सेमिफाइनल सम्भावना गुमाएको नेपालले बिहीबार पाँचौं स्थानको सेमिफाइनल खेलमा श्रीलंकाविरुद्ध प्रतिस्पर्धा गरेको थियो । खेलमा टोलीलाई विजयी बनाउन जय गुरुङले निर्णायक गोल गरेका थिए ।
जयले खेलको ३८औं मिनेटमा दिनेश हेन्जनले मिलाइदिएको पासमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाएका थिए । त्यसपछिको समयमा दुवै टोलीले गोल गर्न नसक्दा जयको त्यही गोल नेपाललाई महत्वपूर्ण जित दिलाउन निर्णायक बनेको हो । नेपालले अब पाँचौं स्थानका लागि शुक्रबार भारतसँग प्रतिस्पर्धा गर्ने छ । भारतले बिहीबार नै भएको खेलमा चीनलाई १-० गोलले पराजित गर्दै पाँचांै स्थानका लागि नेपालसँगको खेल तय गरेको हो ।
नेपाली टोलीका प्रशिक्षक चेतनारायण श्रेष्ठले खेलाडीले निरन्तर खेल खेल्नु परेका कारण नतिजा सोचेको जस्तो नआएको प्रतिक्रिया दिए । ‘हामीले प्रतियोगितामा चौथो खेल खेलेको १५ घन्टा पनि नबित्दै अर्काे खेल खेल्नु पर्दा खेलाडीले आफ्नो स्वाभाविक खेल पस्कन सकेन’, प्रशिक्षक श्रेष्ठले भने, ‘त्यसैले पनि श्रीलंकाविरुद्धको खेलमा जित मुस्किल भयो ।’