नो टाइम फर लभ
‘कम्मरमाथि पटुकी पटुकीमाथि घैला
घैलामा कुवाको पानी
पानी खाने निहुँ पारी धाउँछन् कति बेइमानी
मै प्यारी हुँ कि रेशम मेरो जवानी’
एकनारायण भण्डारीको शब्द र वसन्त सापकोटाको संगीतमा मेलिना राईले गाएको यो गीत श्रोतामाझ निकै चर्चित छ । दार्जिलिङमा जन्मिएकी मेलिना १० वर्षको उमेरमा आफ्ना बुवा संगीतकार जिवेस राईसँग काठमाडौं आएकी हुन् । रेडियो नेपालले २०६५ सालमा आयोजना गरेको राष्ट्रिय आधुनिक गीत प्रतियोगिताकी विजेतासमेत रहेकी मेलिनाको ६ सयभन्दा बढी गीत बजारमा आइसकेका छन् । उनका दर्जनौं गीत सुपर हिटको सूचीमा समेत परेका छन् । मेलिनाको रिमेक गीत ‘लाइछौ बेसन’ हाल युट्युब ट्रेन्डिङमै छ । उनै लोकप्रिय गायिकासँग रामकला खड्काले गरेको कुराकानी :
घरमा बस्दा गीतहरू कत्तिको गुनगुनाउने बानी छ ?
घरमा बस्दा रियाज गरिन्छ, गीत पनि गुनगुनाइरहेकै हुन्छु । गीत गाउन मन लाग्छ ।
निकै व्यस्त देखिनुहुन्छ ? नयाँ गीत आउँदै छ कि क्या हो ?
दिनमा चारपाँचवटा गीत रेकर्डिङ भइरहेका हुन्छन् । मेरो पेसा गायन भएपछि गीत त सधैं हुन्छन् । मेरो आफ्नै एउटा गीत दसैंअगाडि बजारमा ल्याउने विचार गरेको छु ।
चलचित्रका लागि पनि गाउँदै हुनुहुन्छ र ?
चलचित्रका लागि पनि गाउँछु । त्यस्ता गीत धेरै छन् । म जात्रा र वीरविक्रम-२ का लागि गीत रेकर्डिङमा व्यस्त भइरहेको छु ।
यति राम्री हुनुहुन्छ । नायिका बन्न मन लागेन ?
नायिका हुने गुण मसँग छ जस्तो लाग्दैन । अभिनयको ज्ञान छैन । मानिसको आ-आफ्नो रुचि हुन्छ, मलाई पनि अभिनयमा नभएर गायनमा सोख लाग्यो ।
गायनमा कसरी लाग्नुभयो ? रेकर्डिङ भएको पहिलो गीत याद छ ?
मेरा बुवा जिवेश राई संगीतका प्रशिक्षक हुनुहुन्छ । उहाँकै प्रेरणाले म यो क्षेत्रमा लागेकी हुँ । मैले आफ्नो पहिलो गीत १२ वर्षको उमेरमा गाएको थिएँ । गीतको बोल ‘हिमालको काखमा छ यति सुन्दर देश’ थियो ।
सामाजिक सञ्जालमा कत्तिको व्यस्त भइन्छ ?
एकदमै धेरै । मलाई इन्स्टाग्राम मन पर्छ । फेसबुक पनि धेरै चलाउँछु ।
ग्याजेटमा कत्तिको सोखिन हुनुहुन्छ । अहिले बोकिरहेको मोबाइल कुन हो ?
म ग्याजेटमा त्यति धेरै सोखिन छैन । मलाई चाहिने मात्र म बोक्छु । अहिले बोकिरहेको मोबाइल ग्यालेक्सी नोट फाइभ हो ।
ब्यागमा छुटाउँदै नछुटाउने सामान के के हुन् ?
मेरो वालेट, डायरी, मोबाइल, स्कुटरको साँचो, पानी र लिपस्टिकलगायत अलिअलि टच अपका सामानहरू बोक्छु ।
स्कुटर कुन चढ्नुहुन्छ ?
मैले हिरो होन्डाको डियो चढ्ने गरेकी छु ।
कुन पहिरनमा आफूलाई सहज महसुस गर्नुहुन्छ ?
मलाई खुला टिसर्टहरू र खुला पाइन्टहरू नै मन पर्छ । टाइट फिटिङ टाइपका लुगा मलाई मन पर्दैन । अलि केटाले लगाउने खालका ड्रेसहरू लगाएर हिँड्छु म ।
मेकअपको कत्तिको सोखिन हुनुहुन्छ र यसमा कति खर्च हुन्छ ?
कन्सर्ट र अन्य कार्यक्रममा हिँड्दा अलि मेकअप गरिन्छ । यत्तिकै नियमित रूपमा हिँड्दा मलाई धेरै मेकअप गर्न मन लाग्दैन । त्यसैले खर्च पनि त्यति धेरै हुँदैन ।
पार्लर कहाँ जाने गर्नुभएको छ ?
पार्लर त म कहिल्यै जाँदै जाँदिनँ । मेरो आन्टी नै ब्युटिसियन भएकाले उहाँले नै घरमा अलिअलि गरिदिनुहुन्छ । त्यति भए मलाई पुग्छ ।
अरूले प्रशंसा गर्दा स्वर राम्रो भन्छन् कि मान्छे राम्री ?
धेरैले मेरो भोकलकै तारिफ गर्नुहुन्छ । राम्रो भन्ने त हेराइमा भर पर्ने कुरा हो । कसैले तिमी राम्री भनिरहेकै हुन्छन् । तर मलाई त्यो त्यति ठूलो कम्प्लिमेन्ट जस्तो लाग्दैन । कसैले तिम्रो स्वर राम्रो भन्यो भने मलाई खुसी लाग्छ ।
मायाप्रेम वा अन्य कुनै सम्बन्धमा हुनुहुन्छ कि ?
अहिले ‘नो टाइम फर लभ’ । आफ्नो करिअरमै ध्यान दिइरहेको छु ।