फेसबुकमा भाँडभैलो
२४ सेप्टेम्बरमा न्युयोर्क टाइम्सले लेख्यो, ‘इन्स्टाग्रामका दुई संस्थापक कम्पनीबाट बाहिरिने भएका छन् ।’ चिफ एक्जुकेटिभ केभिन सिस्ट्रोम र मुख्य प्राविधिक अधिकृत मिक क्रिगरले इन्स्टाग्राम कम्पनी छाड्ने अखबारले बताएको छ ।
सन् २०१० मा उनीहरूले इन्स्टाग्राम सुरुआत गरेका थिए । उनीहरूले प्रकाशकलाई दिएको नोटमा भनिएको थियो, ‘पिपुल विथ डाइरेक्स नलेज अफ द म्याटर’ । उनीहरूले आउँदो केही हप्तामै कम्पनी छोड्ने चर्चा छ । आफ्नो मुख्य टिम फेसबुकलाई उनीहरूले गत सोमबार यो कुरा जानकारी गराएका थिए ।
फेसबुकले सन् २०१२ मा इन्स्टाग्राम किनेको थियो । त्यति बेला क्यास र स्टक गरी फेसबुकले एक बिलियन डलरमा इन्स्टाग्राम किनेको थियो ।
सिस्ट्रोम र क्रिगरले आफूले कम्पनी छोड्नुपर्ने कारण खुलाएका छैनन् । मुख्य मान्छेले नै कम्पनी छाड्नुपर्ने अर्थमा त्यहाँ केही गडबडी भएको अनुमान लगाइन्छ । गत मार्चमा मात्र फेसबुकका मुख्य सुरक्षा अधिकृत एलेक्स स्टामोसले आफू कम्पनीबाट बाहिरिएको घोषणा गरे । फेसबुककै मातहतमा रहेको अर्काे कम्पनी ‘ह्वाट्सएप’का तत्कालीन सीईओ तथा एक संस्थापक जेन कुमले गत ‘मे’ महिनामा कम्पनी छाडे । त्यसको ६ महिना पनि नबित्दै कम्पनीबाट अरू दुईजना पनि बहिरिने तरखरमा छन् ।
उनीहरूको बहिर्गमनबारे फेसबुकले आधिकारिक वक्तव्य केही दिएको छैन ।
अब उनीहरूको बिदाइपछि इन्स्टाग्रामको भविष्य के हुने हो भन्नेबारे विभिन्न शंका गर्न थालिएको छ । न्युयोर्क टाइम्स भन्छ, ‘फेसबुकले आफ्नो १४ वर्षे इतिहासमा सबैभन्दा धेरै संकट महसुस गरेको समय हो यो । विगत दुई वर्षदेखि टिप्पणीकारहरूले फेसबुकको आलोचना गरिरहेका छन् । प्रयोगकर्ताहरूको डाटालाई बेवास्ता गरेको आरोप लगाइनुका साथै कम्पनीले विदेशी हस्तक्षेप रोक्न पनि प्रयास नगरेको बताइन्छ ।’