म रातो क्यापको फ्यान
गायक निर्णय श्रेष्ठ र रातो क्याप पर्यायजस्तै लाग्छ । उनलाई सम्झिनासाथ रातो क्याप मस्तिष्कमा आइहाल्छ । साथै उनी सेतो स्कार्फ र कालो चस्मा पनि छुटाउँदैनन् । उनका पहिरनसँगको उनको सम्बन्ध, प्रभाव आदिबारे उनीसँग समीरबाबु कट्टेलले गरेको कुराकानी :
रातो क्यापसँग तपाईंको मितेरी गाँसिएको ठ्याक्कै कहिलेदेखि हो ?
मैले सन् १९९९ देखि नियमित रूपमा रातो क्याप लगाउँदै आएको छु । त्यस बेला मैले इमेज एफएममा काम सुरु गरेको थिएँ । मेरो गीतसमेत रिलिज भइसकेकाले मिडियामा छाउन थालेको थिएँ । सँगसँगै र्याप पनि सुरु गरेको थिएँ । यसै बेला केही नयाँ सन्देश दिन मन लाग्यो । अनि रातो क्याप लगाउन थालेँ । बाल्यकालका फोटोहरू हेर्दा त्यति बेला पनि रातो टोपी लगाउँदो रहेछु भन्ने थाहा भयो ।
कस्तो सन्देश हो ? प्रष्ट पारिदिनुस् न ।
त्यस बेला समाजमा सामाजिक विकृति, विसंगति व्याप्त थियो । जात, धर्म, लिंग, वर्णजस्ता कुरामा विभेद थियो । हामी सबैको शरीरमा रातो रगत बहन्छ । मान्छे सबै एकै हुन् भन्ने लाग्यो । त्यसपछि सबैमा समानताको सन्देश दिन खोजेको हुँ ।
क्यापको ब्रान्ड कसरी छान्नुहुन्छ ?
निश्चित यही ब्रान्डको लगाउँछु भन्ने छैन । केही नलेखेको सादा भए पुग्छ । तर, यस्तो भेट्टाउन गाह्रो हुन्छ । जहाँ देख्छु, एकपटक हेर्न पसिहाल्छु । मन पर्यो भने किनी पनि हाल्छु । क्याप नेपालमा बन्दैन । हामी हरेक कुरामा परनिर्भर छौं । आशा गरौं, यस्तो रहिनरहोस्् । हाम्रा उत्पादन विदेशी बजारमा बेच्ने दिन आओस् ।
क्याप कत्तिको फेरिरहनुहुन्छ ?
मसँग २५÷३० वटा क्याप होलान् । मन पर्दा एउटै लगाइरहन्छु । मुडअनुसार फरक पर्छ । कहिलेकाहीँ धेरै वटाबाट छान्न पनि गाह्रो पर्छ । बिहे, भोज तथा अन्य औपचारिक कार्यक्रममा ढाका टोपी पनि लगाउँछु । मसँग ढाका टोपी नै ३०÷४० वटा छन् ।
अनि यो सेतो स्कार्फबारे बताइदिनुस् न ।
सेतो रङ शान्तिको प्रतीक भनेर लगाएको हुँ । जति बेला देशमा द्वन्द्व चलिरहेको थियो, त्यति बेलादेखि लगाउन सुरु गरेको हुँ । अहिले सशस्त्र द्वन्द्व सकिए पनि हामी मनमस्तिष्कबाटै शान्त छैनौं । सबैजना मानसिक रूपले शान्त बनून् भन्ने मेरो चाहना हो ।
यो स्कार्फ कहाँ किन्नुहुन्छ नि ?
यहाँ पाउन अलि कठिन छ । अस्ति त्रिपुरेश्वरको वल्र्ड टे«ड सेन्टरमा पाएर एकैपटक ५० वटा किनेँ । पहिले स्कार्फ लगाउँथेँ । योचाहिँ डुर्याग हो । स्कार्फ चारकुने हुन्छ भने यो तुने टोपीजस्तै हुन्छ ।
तपाईंका क्याप र स्कार्फ आफैं धुनुहुन्छ ?
यी दुई चीज म आफैं धुन्छु । नत्र त क्यापको सेप बिग्रिहाल्छ नि ।
चस्मा पनि सधैं लगाउनुहुन्छ ? यो कुन ब्रान्ड हो ?
हो चस्मा पनि सधैं लगाउँछु । पहिले किलरलुप लगाउँथेँ । अहिले लगाएको फास्ट ट्र्याक हो । यसलाई चार हजार माथि पर्छ । ओरिजनल सामान पाउनै गाह्रो छ ।
सपिङमा कति खर्च हुन्छ ?
यति नै भन्ने छैन । मन पर्नासाथ किन्ने बानी छ । महँगो सामानका पछि लाग्दिनँ ।
तपाईंको क्याप मोहचाहिँ कोबाट प्रभावित छ नि ?
म नजानीकनै चिकागो बुल्सका बास्केट बल खेलाडी माइकल जोर्डनको फ्यान भएछु । अमेरिका बस्दा त झन् बढी । अहिले लगाएको क्यापमा पनि चिकागो बुल्स छ नि । तर, अहिले केही सन्देश प्रवाह गरौं भन्ने नै हो ।
बास्केट बल पनि खेल्नुहुन्छ ?
बास्केटबल खेल्छु । फुटबल खेल्न भने आउँदैन ।
आजकल केमा व्यस्त हुनुहुन्छ ?
मेरो अर्को एल्बम आउँदै छ । धेरै काम भइसकेको छ । सायद तिहारपछि लगत्तै आउँछ । राजधानीको विद्यालयका कार्यक्रमहरूमा गइरहन्छु । हरेक भाइबहिनीबाट एकएकवटा कापी, पेन्सिल, पेन आदि जम्मा गर्ने गरेको छु । यसरी जम्मा गरेपछि गाउँका विपन्न समुदायका बालबालिकासम्म पुर्याउँछु ।