स्पाइडर म्यान’ बन्दा
सिर्जना खड्का
यही अगस्टको अन्तिमतिर फेसबुकमा बन्जी जम्प गरेको फोटो र भिडियो अपलोड गरेपछि कमेन्ट बक्समा बधाई दिनेको ओइरो लाग्यो । त्यो फोटो र भिडियो हेरेकाहरूको भेटमा ‘ग्रेट जब’, ‘तिमी निकै आँटिली रैछौ’ जस्ता प्रतिक्रियाले मलाई खुसी बनाउँछ, प्रोत्साहित पनि ।
कक्षा ९ मा पढ्दासम्म मलाई बन्जीको ‘ब’ पनि थाहा थिएन । फिल्म ‘हिम्मत’ मा अभिनेत्री रेखा थापाले खुट्टामा डोरी बाँधेर हाम फालेको दृश्यले मन छोएको थियो । मलाई पनि त्यसरी नै हाम फाल्न मन लाग्यो । बुझ्दै जाँदा यो एउटा साहसिक खेल रहेछ, जसलाई ‘बन्जी’ भन्दा रहेछन् ।
बन्जी जम्प गर्ने हुटहुटी लागिरहन्थ्यो । तर, कहिले हिम्मत जुट्दैनथियो त कहिले पैसा । बन्जी सपना साँचेको १० वर्षपछि अगस्टमा पैसा र हिम्मत दुवै जुटाएँ । बुकिङका लागि काठमाडौं, ठमेलमा रहेको ‘द लास्ट रिसोर्ट’ पुगेँ । ‘कुनै शारीरिक क्षति भएमा त्यसको जिम्मेवार आफैं भइनेछ’ अफिसले मेरा सामु राखेको सर्त दायाँबायाँ केही नसोची बुकिङ कार्डमा हस्ताक्षर गरिदिएँ । तर त्यो रात मलाई निद्रा फिटिक्कै लागेन ।
भोलिपल्ट बिहानै लागियो, सिन्धुपाल्चोक भोटेकोसीतर्फ । द लास्ट रिसोर्टले नै व्यवस्था गरेको गाडीमा काठमाडौंबाट पाँच घन्टाको यात्रापछि बन्जीस्थलमा पुगियो । पुल देख्नेबित्तिकै ‘आबुई’, ‘वाउ’, ‘ओएमजी’, ‘अमेजिङ’ जस्ता शब्द बन्जी जम्परका मुखबाट निस्कन थाले । म भने निःशब्द भएँ । बन्जी क्रूले कसरी गर्ने, डोरीको तालमेल कसरी मिलाउने भन्नेबारे सबैलाई सम्झाएँ । त्यहाँ भएका सबै जम्परको तौल लिए । रातो मार्करले हातमा वजन लेखिदिए । तौलअनुसार समूह बनाएर बन्जी गराउने चलन रहेछ । मेरो साथी रीना पनि बन्जीका लागि गएकी थिइन् । ४० केजीभन्दा कम वजन भएकालाई बन्जी नगराउने नियम रहेछ । उनको जोख्ने पालो आयो । ठ्याक्कै ४० केजी रहेछिन् ।
आफ्नो पालो आउँदासम्म अरू हाम फालेको हेरिरहेँ । कोही हातलाई चराको पखेटाझं फैलाउँदै फुत्त फाल हान्थे । पुलबाट करिब एक सय ६० मिटर तल डोरीमा झुलिरहन्थेँ । आनन्द मान्थे । कसैलाई चाहिँ बन्जी क्रूका सदस्यले नजानिँदो पाराले धकेलिदिन्थे ।
मेरो पालो आयो । ‘क्रूले मलाई धकेल्नु पर्दैन’ भन्नेमा विश्वस्त थिएँ । मेरो कम्मर र खुट्टामा विशेष किसिमको बेल्ट बाँधियो । यति बेलासम्म मनमा डर कम, उत्साह बढी थियो । मेरो उत्साह देखेर क्रू मेम्बरले सोधे– ‘तपाईंको अन्तिम इच्छा के हो ? ’ ‘बन्जी’ मैले जवाफ फर्काएँ । त्यहाँ भएका सबै बेस्सरी हाँसे । त्यत्तिकैमा फिल्म क्रूको सदस्यले मेरो अन्तर्वार्ता लिन थाल्यो ।
मेरो खुट्टाको बेल्टलाई लामो तन्किने डोरीमा जोडियो । मलाई लामो सास फेर्न भनियो । मैले दुवै हात फैलाएँ, आँखा चिम्लिएँ । पछाडिबाट ‘थ्री, टू, वान बन्जी’ भनेको सुनियो । हातखुट्टा, जीउ सबै छाडिदिए, त्यही एउटा डोरीको भरमा ।
तल झरेपछि ज्यानको माया लाग्यो । उत्साह डरमा बदलियो । जीवनमा सबैभन्दा धेरै डर त्यहीबेला महसुस भयो । मनमनै बन्जीलाई ‘बकवास’ भन्न पनि भ्याएँ । एकछिनपछि हरिया पहाडतिर आँखा नचाएँ । रमाइलो लाग्न थाल्यो । डर बिस्तारै हराउँदै गयो । तीन पटकसम्म डोरीमा यताउति झुलेपछि खुट्टानेर भएको रातो डोरी खिच्नु भनिएको थियो । त्यति गरेपछि उल्टो मान्छे सुल्टो हुन्थ्यो । झुल्न पुगेपछि डोरी खिचेर आफूलाई सुल्टो बनाएँ । हात फैलाएर रमाउन थालेँ । माथिबाट अर्को डोरी आयो । त्यसलाई आफ्नो जीउमा फिट गरेर हात फैलाउँदै ‘माथि आउन तयार छु’ भनेर इसारा गरेँ । डोरीसँग म माथि तानिएँ । ‘स्पाइडर म्यान’वाला अनुभूति आयो । एकछिनअघि ‘बकवास’ लागेको बन्जी एकै मिनेटमा संसारको सबैभन्दा ‘बबाल’ र ‘ब्युटिफुल’ लाग्न थाल्यो ।