भारतीय मन्त्री धर्मेन्द्रले भेटे गृहमन्त्री बादललाई
काठमाडौँ : नेपाल भ्रमणमा रहेका भारतीय सरकारका पेट्रोलियम तथा प्राकृतिक ग्यास सम्बन्धी मन्त्री धमेन्द्र प्रधानले गृहमन्त्री रामबहादुर थापा बादलसँग शिष्टाचार भेट गरेका छन् ।
शुक्रबार सिंहदरबरस्थित गृह मन्त्रालयमा उनीहरुबीच शिष्टाचार भेट भएको हो । भेटमा नेपाल–भारत द्धिपक्षीय सम्बन्ध, आपसी हीत र सहकार्यको विषयमा छलफल भएको थियो ।
गृहमन्त्री थापाले नेपालको हरेक क्षेत्रमा भारतले गर्दै आएको सहयोग सराहनीय रहेको भन्दै आगामी दिनमा समेत सहयोगको निरन्तरताका लागि आग्रह गरेका थिए । गृहमन्त्री बादलले नेपाल–भारतको पेट्रोलियम पदार्थ सम्बन्धी निर्माणाधिन परियोजना छिट्टै सम्पन्न गर्न मन्त्री प्रधानको भ्रमणले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
भारतीय मन्त्री प्रधानले नेपाल र भारतबीच सामाजिक, आर्थिक, सांस्कृतिक सम्बन्ध झनै मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए । दुई देशको सहकार्यमा निर्माण भइरहेको पेट्रोलियम पदार्थ सम्बन्धी परियोजना दुबै देशका लागि फाईदाजनक रहेको पनि उनीहरुको निष्कर्ष थियो। भेटको क्रममा नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पूरी पनि सहभागी थिए।