स्थानीयलाई जागिर नदिएको भन्दै स्वास्थ्यचौकीमा तालाबन्दी
बैतडी : पुरचौंडी नगरपालिका–९ स्थित तल्लादेही स्वास्थ्यचौकीमा स्थानीयले तालाबन्दी गरेका छन् । स्वास्थ्यचौकीमा ल्याब असिष्टेन्ट नियुक्त गर्दा स्थानीयलाई नराखेको भन्दै स्थानीयले आन्दोलन गरेका हुन् ।
ल्याब असिष्टेन्ट पदमा आवेदन दिएका लोकेश भण्डारी सहितको टोलीले स्वास्थ्यचौकीमा तालाबन्दी गरेको हो । यसअघि असोज ४ गते ताला बन्दी गरेका स्थानीयले ८ गते दिउसो भने खोप कार्यक्रम संचालन गर्न दिएका थिए ।
खोप कार्यक्रम सकिएपछि उनीहरुले आफ्नो आन्दोलनलाई जारी राखेको बताएका छन् । तालाबन्दीका कारण अहिले स्वास्थ्य चौकीका नियमित सेवा अवरुद्ध भएका छन् । स्वास्थ्य चौकीका ईन्चार्ज हेमन्तसिंह साउँदका अनुसार आन्दोलनका कारण प्रसूती सेवा तथा अन्य नियमित स्वास्थ्य सेवाबाट स्थानीय प्रभावित छन् ।
पुरचौंडी नगरपालिकाका स्वास्थ्य संयोजक विनोदकुमार कुँवरले भने ल्याब असिष्टेन्ट पदमा आवेदन दिएका लोकेशको कागजात अपूरो भएकाले ल्याब असिष्टेन्टमा नियुक्त गर्न नसकिएको बताएका छन् । ताला लगाउने पक्षले भने ल्याब असिष्टेन्टमा स्थानीयलाई नियुक्त नगर्दा सम्म तालाबन्दी नखोल्ने चेतावनी दिँदैआएका छन्।