'२४ लाख रुख मासेर विमानस्थल बनाउन दिँदैनौं'
वीरगन्ज : प्रदेश- २ मा वन जङगलको संरक्षण गर्ने उदेश्यले प्रदेश सरकारले शुक्रबारदेखि हरित प्रदेश अभियान सुरु गरेको छ। प्रदेश- २ मा पर्ने पर्सादेखि सप्तरीसम्मका आठवटै जिल्लामा शुक्रबार एकै दिन ५० हजार भन्दा बढी बिरुवा रोपेर प्रदेश सरकारले अभियानको थालनी गरेको हो।
अभियानको प्रदेश नम्बर- २ का मुख्यमन्त्री लालबाबु राउतले गृह जिल्ला पर्सामा बिरुवा रोपेर उद्घाटन गरेका हुन्। पर्साको पर्सागढी नगरपालिका- ३ को सबैया साझेदारी वनको पर्ति जग्जामा शुक्रबार बिहान मुख्यमन्त्री राउतले सपेता प्रजातिको बिरुवा रोपेर अभियानको उद्घाटन गरे। त्यस अवसरमा प्रदेश २ की भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झाको पनि उपस्थिती थियो।
सबैया साझेदारी वनको १.५ हेक्टर खाली पर्तिमा शुक्रबार मसाला, कदम, टिक,सपेता, सिसौं, अमला प्रजातिका दुई हजार चार सय बिरुवा रोपिएको छ। अभियानको पहिलो दिन शुक्रबार नै पर्सामा वृक्षारोपणका लागि विभिन्न प्रजातिका आठ हजार बिरुवा सर्वसाधरणलाई निशुल्क वितरण गरिएको डिभिजन वन कार्यालय पर्साका प्रमुख वन अधिकृत राजेश्वरमान श्रेष्ठले जानकारी दिए।
बढ्निहारमा शुक्रबार अभियानको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेश २ मा विकासका नाममा संघीय सरकारले जङगलको विनाश गर्न खोजिरहेको आरोप लगाए। प्रदेश २ मा सबैभन्दा कम वन जङगल रहेको र भएका वन जङगल पनि विकासका नाममा संघीय सरकारले विनास गर्न खोजेको उनले बताए।
बाराको निजगढमा प्रस्तावित दोश्रो अन्र्तराष्ट्रिय विमानस्थल निर्माणका क्रममा आठ हजार हेक्टर वनको करिब २४ लाख रुख काट्ने चर्चा चलिरहेको प्रसंगमा बोल्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारको अनुमति बेगर संघीय सरकारले एउटा पनि रुख काट्न नपाउने बताए।
हामी विकासका विरोधी होइनौं, निजगढमा अन्र्तराष्ट्रिय विमानस्थल बन्नुपर्छ, उनले भने, 'तर विकासको नाममा जंगलको विनाश गर्न पाइँदैन, यहाँका वन प्रदेश सरकारको मातहतमा छ, त्यसैले प्रदेश सरकारको अनुमति बेगर संघीय सरकारले एउटा पनि रुख काट्न पाउँदैन र हामी काट्न पनि दिन्नौं।'
प्रस्तावित निजगढ विमानस्थलको डीपीआर नै तयार नगरी हचुवाका भरमा २४ लाख रुख काटेर जंगल मास्ने मनसायमा संघीय सरकार लागेको भन्दै मुख्यमन्त्री राउतले भने, 'आठ हजार हेक्टरको वन मासेर बनाइने दुनियाँकै ठूलो विमानस्थल हामीलाई आवश्यक छ कि छैन पहिला यसको औचित्य पुष्टि संघीय सरकारले गर्नुपर्छ, वन फडानीभन्दा पहिले कति क्षेत्रफलमा विमानस्थल बनाउने , कति रुख काट्ने भनेर डीपीआर बनाउनुपर्छ अनि मात्र अरु प्रकृया अगाडि बढाउनुपर्छ।'
पर्साको पर्सागढी नगरपालिका- ३ बढ्निहारमा आयोजित हरित प्रदेश अभियानको उद्घाटन समारोहमा सम्बोधन गर्दै मुख्यमन्त्री लालबाबु राउत। तस्बिर : क्रान्ति साह
आठ हजार हेक्टर क्षेत्रफलको वन मासेर विमानस्थल बनाउनुभन्दा त्यसको विकल्पमा निजगढ आसपास मधेसकै अरु स्थान खोज्नुपर्ने भन्दै उनले भने, ' हामीसँग सिमरा विमानस्थल पनि छ , त्यसैलाइ स्तरोन्नत्ति गरेर अन्र्तराष्ट्रिय विमानस्थल बनाउन सकिन्छ वा नजिकका अरु स्थान पनि खोज्न सकिन्छ तर, २४ लाख रुख मासेर विमानस्थल बनाउने पक्षमा प्रदेश सरकार छैन। प्रदेशमा रहेका वनजङगल प्रदेश सरकारको मातहतमा रहेकाले रुख कटानीको अनुमति प्रदेश सरकारले नदिने पनि उनले स्पष्ट पारे।
उनले भने, 'यदि संघीय सरकारले २४ लाख रुख काटेर विमानस्थल बनाउने मनसाय बनाएको छ भने प्रदेश सरकारले त्यो मनसाय पूरा हुन दिँदैन, विकास हुनुपर्छ तर विनास गरेर गरिने विकास प्रदेश सरकारलाइ चाहिँदैन।
शुक्रबारदेखि थालिएको 'हरित प्रदेश अभिया' लाई औपचारिकतामा मात्र सीमित नराख्न उनले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव र मातहतका कर्मचारीलाई निर्देशन पनि दिए।
अभियानअन्तर्गत रोपिएका बिरुवाको संरक्षणमा ध्यान दिन आग्रह गर्दै उनले भने, ' म दुई महिना पछि फेरि यहाँ आएर अहिले रोपिएका बिरुवाको स्थलगत अनुगमन गर्छु, अन्य जिल्लामा पनि प्रदेश सरकारका मन्त्री ज्यु नियमितरुपमा स्थलगत अनुगमनमा जानुहुन्छ, यदि अहिले रोपिएका बिरुवाको संरक्षण गरिएको पाइएन भने समबन्धित कर्मचारी कारबाहीको भागीदार हुन्छन्।'
कार्यक्रममा बोल्दै प्रदेश २ को उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव मेघनाथ काफलेले प्रदेश सरकारले थालेको अभियान अन्तर्गत चालू आर्थिक वर्षमा प्रदेशका आठवटै जिल्लामा एक करोड भन्दा बढी बिरुवा रोप्ने लक्ष्य रहेको जानकारी गराए।
उनले प्रदेश २ मा वृक्षा रोपण र रहेका वनजङगलको व्यवस्थापन र संरक्षणका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षमा एक अर्ब तीन करोड रुपैयाँ बजेट विनियोजन गरिएको पनि बताए । सचिव काफलेका अनुसार, प्रदेश २ अन्तर्गत दुई लाख ६३ हजार हेक्टर अर्थात् देशको जम्मा ४.३६ प्रतिशत वन क्षेत्र रहेको छ।
अभियानको पहिलो दिन शुक्रबार बाराको फेटा गाउँपालिकामा रहेको खैरातीमाई सामुदायिक वनमा भौतिक पूर्वाधार विकासमन्त्री मन्त्री जितेन्द्र सोनल र रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको दाबरी रंगपुर साझेदारी वनमा कृषि राज्यमन्त्री योगेन्द्र राय यादवले बिरुवा रोपेर अभियानको थालनी गरेका छन्।
यस्तै सर्लाहीको लालबन्दी नगरपालिकामा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय, महोत्तरीको मटीयानी नगरपालिकामा राज्यमन्त्री अभिराम शर्मा, धनुषाको धनुषाधाम नगरपालिकामा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव र राज्यमन्त्री सरोज सिंह, सिरहाको बलानखोला सन्यासी साझेदारी वनमा गृहमन्त्री विजय यादव र राज्यमन्त्री सुरेश कुमार मण्डल तथा सप्तरीको सुरुङ्गा नगरपालिकामा राज्यमन्त्री उषा यादवको उपस्थितिमा शुक्रबार वृक्षारोपण गरिएको छ।