सदरमुकामसम्म सडक जोडिएपछि किसान उत्साही
मुगु : सोरु गाउँपालिका–८ तारापानी गाउँ सदरमुकामसँग सडक जोडिएपछि स्थानीय उत्साही भएका छन् । नियमित तरकारी उत्पादन गर्दैआएका स्थानीय किसान बजारको पहुँच हुने भएपछि खुसी भएका हुन् ।
ग्रामीण पहुँच कार्यक्रम ¥यापथ्री अन्र्तगत गमगढीदेखि धैन धुलाचौर सडकखण्डको सोरु गाउँपालिकाको–८ तारापानीसम्म गाडी गुड्न थालेपछि कच्चे, गिलाह, रुमा, आँसिधारा र साही, सिप, बुम्च, ख्याल्च गाउँका किसान लाभान्वित भएका छन् ।
सडक संजालसँगै उनीहरु अब तरकारीको व्यवसायीक खेतीमा आकर्षित भएका छन् ।
यसअघि यहाँका किसान सिपदेखि गमगढी पैदल पाँच घण्टा लाग्ने बाटो तरकारी बोकेर पैदल हिँड्दैआएका थिए । स्थानीय बजार सदरमुकाममा तरकारी खपत हुने भएपछि उनीहरु घण्टौँसम्म तरकारी बोकेरै आउजाउ गर्थे ।
सडक संजाल जोडिएपछि भने उनीहरु एक डेढ घण्टामै गमगढी पुगेर तरकारी बेचेर घर फर्किन सकिने स्थानीय किसान देवी विष्टले बताइन् । यहाँका अधिकांश किसान वर्षौंदेखि ठूलो मात्रामा बन्दा, तितेकरेला, खुर्सानी, स्कुस, चिप्ले भिण्डी, भेन्टा, गोलभेडा, बदाम, केरा, खेतीगर्दै आएका छन्।