तीन सातापछि मत्थर भयो पखाला प्रकोप
महोत्तरी : तीन सातादेखि जलेश्वरको नैन्हीमा फैलिएको झाडापखाला प्रकोप बल्ल मत्थर भएको छ । साथै प्रकोप फैलिनुको कारण पनि पुष्टि भएको छ ।
यहाँ खटिएको स्वास्थ्य टोलीको सहायतामा झाडापखाला लाग्नुको कारण गाउँकै खानेपानीको मुहान भएको पत्ता लागेको हो । गाउँलेले दैनिक पिउने पानीमा दिसामा पाइने ब्याक्टेरिया इकोलाई र कोलिफम नामक ब्याकेटेरिया भेटिएपछि सतर्कता अपनाइएको छ ।
स्वास्थ्य टोलीले पठाएको नमुना पानी परिक्षण गरेपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौंले ल्याब रिपोर्ट सार्वजनिक गरेको हो । खानेपानीको श्रोत नजिकै जम्ने पानीमा दिसा मिसिएर खानेपानीको मुल श्रोतमा पुग्दा पानीमा मलमुत्र मिसिएको स्वास्थ्य टोलीले बताएको छ ।
रिपोर्ट सार्वजनिक भएपछि तत्कालका लागि गाउँका सबै खानेपानी श्रोतबाट पानी पिउन बन्द गराइएको छ । स्वास्थ्य टोलीका अनुसार नैन्हीका गाउँलेले चपाक (हेन्डपाइप)को पानी पिउने गर्छन् । जुन १ सय २५ फिट गहिराबाट निस्किन्छ । स्वास्थ्यका हिसावले यति कम गहिराको पानी पिउन उपयुक्त नहुने स्वास्थ्य टोलीको भनाइ छ ।
यससँगै जलेश्वरको नैन्ही गाउँमा तीन सातादेखि फैलिएको झाडापखाला मत्थर भएको हो । गाउँले अहिले नयाँ मुहान निर्माणको तयारीमा छन् । पखालाका कारण हरेक दिन बिरामीको संख्या बढेपछि गाउँले आतंकित थिए । यतिसम्म कि, गाउँको स्कुल नै बन्द गराएर शिविर संचालन गर्नुपर्यो ।
जिल्ला स्वास्थ्य कार्यालय जलेश्वरका जनस्वास्थ्य निरीक्षक सन्तोष ठाकुरको नेतृत्वमा गएको टोलीले समेत केही दिनसम्म कसरी प्रकोप फैलियो पत्ता लगाउन सकेको थिएन।